
दोहा कतार : गैरआवासीय नेपाली संघ (एनआरएनए एनसिसी) कतारका पूर्व कार्यसमिति सदस्य तथा सांस्कृतिक संयोजक सामुयल सुनुवार ‘साम’लाई आर्थिक सहयोग गरिएको छ । कतारमा उच्च रक्तचापका कारण काम गर्दा गर्दै बेहोस भएपछि प्रारम्भिक उपचारपश्चात् बाँकी उपचारका लागि नेपाल पठाइएसँगै आर्थिक अभाव देखिएका कारण एनसिसीका द्वितीय उपाध्यक्ष तथा श्रमिक विभाग संयोजक सन्तोष पौडेलको संयोजकत्वमा संकलित २ लाख रुपैंयाँ सहयोग स्वरूप पठाइएको हो ।
हाल काठमाडौंको नयाँ बानेश्वरस्थित होलिस्टिक हेल्थमा चेकजाँच गराउँदै घरमा आराम गरिरहेका सुनुवार कतारबाट नेपाल फिर्ता पठाउँदा बोल्न सक्ने अवस्थामा थिएनन्, तर अहिले कुराकानी गर्ने र स्वास्थ्य सुधारोन्मुख रहेको जानकारी आफूले पाएको उपाध्यक्ष पौडेलले बताए । एनसिसीमा आबद्ध रहेका बेला विशेषगरी कतारमा रहेका कलाकारहरू माझ रहेर उनले काम गरेका थिए । उनी नव कलाकारका प्रिय थिए ।
रामेछाप जिल्ला उमाकुण्ड गाउँपालिका प्रीति-४ मा जन्मिएका सुनुवार वैदेशिक रोजगारीको सिलसिलामा सन् २०१४ जुलाईदेखि कतारमा कार्यरत थिए । सुनुवार सेवा समाज शाखा कतारका (पूर्व अध्यक्ष), नेपाल आदिवासी जनजाति महासंघ कतारका सल्लाहकार, रामेछाप सेवा समाज कतारका विशेष सल्लाहकार लगायतका विभिन्न संघ संस्थामा आबद्ध रहेका थिए ।
