
दोहा कतार : अन्तर्राष्ट्रिय नेपाली मुस्लिम समाज कतारको आयोजनामा बृहत् इफ्तार कार्यक्रम सम्पन्न भएको छ । शुक्रबार मुस्लिम धर्मावलम्बीको पवित्र महिना रमादानको अवसरमा मुन्तजामा रहेको गोरखाली रेस्टुरेन्टको हलमा शुभकामना आदान–प्रदानसहित इफ्तार कार्यक्रम सम्पन्न भएको हो ।
कार्यक्रमको उद्घाटन कुरान तिलावात (मौलाना जनाव)बाट गरिएको थियो । समाजका अध्यक्ष अजमत अलिको सभाध्यक्षता तथा समाजका संस्थापक अध्यक्ष तथा वर्तमान कार्यसमितिका संरक्षक मोहमद मुक्तदा मुसलमानको प्रमुख आतिथ्यतामा इफ्तार कार्यक्रम सम्पन्न भएको हो ।
कार्यक्रममा कतारमा स्थापित नेपाली संघसंस्थाका प्रमुख तथा प्रतिनिधिहरुको उपस्थितिसहित शुभकामना मन्तव्य रहेको थियो । कतारमा स्थापित जिल्ला संस्थाकातर्फबाट पाल्पाली सेवा समाज कतारका अध्यक्ष बिक्कि गरैले, प्रदेश समन्वय परिषद्कातर्फबाट मधेश प्रदेशका अध्यक्ष कलाम हुसेन खानले स्वागत मन्तव्य राखेका थिए, भने विभिन्न व्यक्तित्वहरूले शुभकामना मन्तव्य राख्दै धार्मिक सहिष्णुताले समाजमा सकारात्मक सन्देश दिने बताएका थिए ।
इस्लाम धर्मावलम्बीहरूको सबैभन्दा पवित्र महिना रमजानको महत्वका बारेमा धर्मगुरु इजहाक अलिले विस्तृत रूपमा प्रकाश पारेका थिए ।

उनले रमजानमा कठोर उपवास बस्ने बाहेक रमजान प्रतीक्षाको महिना पनि रहेको बताए । रमजानमा भोकै बस्नु प्यासी बस्नु मात्र रोजा नहुने बताउँदै हरेक गलत कार्यबाट टाढा रहनु पनी रोजा रहेको बताए । समादान सामाजिक, सांस्कृतिक, चालचलनसँग जोडिएको बताउँदै हरेक बालिग, समझदार महिला तथा पुरुषमाथि रोजा अनिवार्य गरिएको बताए । तर, वृद्धवृद्धा, अशक्त वा दीर्घ रोगी, यात्री, गर्भवती, रजस्वला भएकी, सुत्केरी वा स्तनपान गराउने महिलाहरूका लागि रोजा अनिवार्य गरिएको छैन ।
रोजाको वास्तविक उद्देश्य दिनभर खानपिनलाई छोड्नु मात्रै होइन । यसले मानिसमा आत्मशुद्धि, सन्तुष्टि र अल्लाहको भय उत्पन्न गराउँदछ । जसरी यो महिनामा कुविचार र कुकर्मबाट मानिस बच्छ, त्यही निरन्तरता अन्य ११ महिनामा पनि हुनुपर्ने व्यवहारिक प्रशिक्षण रोजाले दिन्छ । रोजाले मानिसलाई भलो र सदाचारी बन्न सहायता गर्छ । रमजान दान, प्रतिदान र क्षमा दानको महिना हो । यसमा गरिने प्रत्येक सुकर्म अन्य दिनको तुलनामा सात सय गुना प्रतिदान मिल्ने विश्वास गरिने गुरुले बताए ।

आफ्नो शुभकामना मन्तव्य राख्दै प्रमुख अतिथि मुक्तदाले कतारमा रहँदा कतारको कानुन तथा नेपालमा समेत धार्मिक सहिष्णुता ख्याल गर्न आग्रह गरे । उनले ईफ्तार कार्यक्रमले सकारात्मक सन्देश दिने बताए । कार्यक्रममा उपस्थितलाई समाजका संरक्षक साकीर अलिले स्वागत मन्तव्यद्वारा स्वागत गरेका थिए ।
का.महासचिव मौलाना नजिर मियाँले सहजीकरण गरेको कार्यक्रमको समापन गर्दै सभाध्यक्ष अलिले इफ्तार कार्यक्रममा जोडिने संघसंस्था प्रमुख तथा प्रतिनिधि, मौलाना तथा गुरुहरूलाई आभार व्यक्त गरेका थिए ।