२०८२ फागुन २५ गते सोमवार / Mar 09 , 2026 , Monday
२०८२ फागुन २५ गते सोमवार
Ads

कविता : तिरस्कारदेखि जय जयकारसम्म

shivam cement
नरेन्द्र नारायण साहु
२०८२ फागुन १६ गते ०६:००
Shares
कविता : तिरस्कारदेखि जय जयकारसम्म

शंका, अन्ध तिरस्कार त्यागौं, आज विश्वास पात्र गगनमै आटौं
देश र युवा पुकारिरहेछन्, अब ज्ञान–विज्ञानको उज्यालोनै बाँटौं ।
शिक्षा, विज्ञान, विवेक बोल्दा बिरूद्धमा उठ्छ अन्धो भीड,
कसैले गति रोकिन्न, एक ज्ञानी व्यक्तिलाई मात्रै लाग्छ पीड ।

सत्यको बाटोमा काँडै–काँडा, मार्न मुखमा ताजा विष,
बाँचुन्जेल दण्ड समाजको, मृत्युपछि उ प्रतिष्ठित ईश ।
आगो, कारागार, विष–पान सत्यवादीमा पुरानै शूल,
देह त ढाल्यौ तत्कालै, विचार बने ब्रुनोकै अमर मूल ।

टंक, गणेशमान, कृष्ण, शुशील, थिए जन–जनका साथी,
माटोमै जीवन अर्पण गरे, देशमा योगदान सबैभन्दा माथी ।
शंका, अन्ध तिरस्कार त्यागौं, आज विश्वास पात्र गगनमै आटौं
देश र युवा पुकारिरहेछन्, अब ज्ञान–विज्ञानको उज्यालोनै बाँटौं ।

हिजो खतरा ठानिएकै, आज बीपी बने अजर–अमर नाम,
समयले ढिलो न्याय गर्छ, तर मर्दैन धर्तीमा सत्य–काम ।
ढुङ्गा चपाउने मात्रै अमर, बाटो छेक्ने सवै पश्चातापको धुलो,
सत्य रहोस् अटल सधैं, यही हो युगौयुगका विधान उज्यालो ।
कोपरनिकसले घुमाए भू र ग्रहहरूलाई अचल–सू्र्यकै वरीपरी,
सुकरात, नरेन्द्र, योगमायाले सत्य लेखे आगोकै राँप भरी ।

सत्य बलिदान अटल रहोस्, सधैँ यही अमरतालाई अङगालौं ।
नीति, कुल, मुल, सगठन बिहिनसँग, भावनामै न बगिहालौं ।
शंका, अन्ध तिरस्कार त्यागौं, आज विश्वास पात्र गगनमै आटौं
देश र युवा पुकारिरहेछन्, अब ज्ञान–विज्ञानको उज्यालोनै बाँटौं ।

सम्बन्धित खबर