२०८१ असोज ३ गते बिहिवार / Sep 19 , 2024 , Thursday
२०८१ असोज ३ गते बिहिवार

भूमिकास्थान नगरपालिकामा रोकियो चुनढुंगा उत्खनन्

ADV
सुर्य प्रसाद भुसाल
२०८१ साउन १७ गते २०:२५
भूमिकास्थान नगरपालिकामा रोकियो चुनढुंगा उत्खनन्

अर्घाखाँची : अर्घाखाँचीको भूमिकास्थान नगरपालिकामा चुनढुंगा उत्खनन् रोकिएको छ । नगरप्रमुख झविलाल थापाले भूमिकास्थान ९ सानडेभा  लेखमा रहेको चुनढुंगा उत्खनन् कार्य सधैँका लागि बन्द गरिएको बताए । 

भुनपाका हजारौं जनताले पिउने पानीको स्रोत मेटेर खानी सञ्चालन गर्न नसकिने भन्दै उनले खानी सधैँका लागि बन्द गर्नेतर्फ सबै लाग्नुपर्ने बताए । 

खिल्जी–असुरकोट खानेपानी तथा सरसफाइ योजना उपभोक्ता संस्था भूमिकास्थान नगरपालिका वडा नम्बर ५ को प्रथम वार्षिक उत्सवको समारोहलाई सम्बोधन गर्दै नगरप्रमुख थापाले यस्तो बताएका हुन् ।

भूमिकास्थान ९ सानडेभाको चुनढुंगा उत्खनन् नगर्ने कार्यपालिका बैठकका निर्णयहरु अब पुनर्विचार नहुने बताउँदै नगरप्रमुख थापाले खानी तथा भू–गर्भ विभागमा कम्पनीले दिएको पालिकाको सिफारिस किर्ते हो भन्ने पुष्टी भइसकेको दावी गरे ।

‘यस अगाडि पनि विभिन्न फोरममा मैले भन्दै आएको थिए, हामीले सिफारिस गरेका छैनौं’ नगरप्रमुख थापाले नगरपालिकाको आन्तरिक आम्दानी बलियो बनाउन आफुहरुले उत्पादनलाई पहिलो प्राथमिकतामा राखेको बताए ।

कर्मशिल जनशक्ति परिचालन, व्यवसायिक कृषि, पर्यटन, पढ्दै कमाउँदै विद्यालय कार्यक्रम, उद्योग र व्यापार भूमिकास्थानको समृद्धिका आधार भएको बताउँदै नगरप्रमुख थापाले यी कार्यक्रम सफल पार्न सबैको साथको खाँचो रहेको बताए । पछिल्लो समय सामाजिक कार्य र सेवामा खट्ने प्रचलन हराउँदै गएको बताउँदै उनले  सामाजिक एकताबिना समृद्ध समाज सम्भव नहुने बताए । सामाजिक कार्यमा लगाव बढाउन संस्थाका अग्रजहरुलाई सम्मान गर्न नगरप्रमुख थापाले सुझाव समेत दिए ।

संस्थाका उपाध्यक्ष हिमलाल शर्माको स्वागत मन्तव्य र सचिव कमला वेल्बासेको सञ्चालनमा सम्पन्न कार्यक्रममा भूमिकास्थान–५ का वडाध्यक्ष जयगोपाल श्रेष्ठ, राष्ट्रिय जनमोर्चाका भूमिकास्थान नगर अध्यक्ष हिमलाल बन्जाडे, नेपाल निजामती कर्मचारी संगठन अर्घाखाँचीका अध्यक्ष गणेश भण्डारी, नेपाली कांग्रेस असुरकोट सभापति भेग बहादुर रोका, नेकपा एमाले असुरकोट अध्यक्ष होमवीर राना, माओवादी केन्द्र असुरकोट अध्यक्ष चुरामणी भण्डारी, राजमो असुरकोट प्रतिनिधि रेसम वि.क., उक्त संस्थाका संस्थापक सदस्यद्वय दुर्गा प्रसाद बन्जाडे र बिष्णु प्रसाद श्रेष्ठ लगायतले पनि मन्तव्य राखेका थिए ।

कार्यक्रममा बोल्दै उनीहरुले पानी बिना मानव जीवन सम्भव नभएको बताउँदै पानीको सहि प्रयोग र संरक्षणमा ध्यान दिनुपर्नेमा जोड दिए । साधारणसभामा संस्थाको तर्फबाट अध्यक्ष शिव प्रसाद बन्जाडेले पेश गरेको प्रगति प्रतिवेदन र कोषाध्यक्ष जीवलाल बन्जाडेले पेश गरेको आर्थिक प्रतिवेदन छलफल तथा सुझावसहित पारित भएको छ ।

कार्यक्रममा उठेका प्रश्नको जवाफ दिँदै संस्थाका पदाधिकारीहरुले कतिपय देखिएका कमजोरीलाई आगामी दिनमा सच्याएर जाने प्रतिबद्धता समेत व्यक्त गरे । 

खिल्जी–असुरकोट खानेपानी तथा सरसफाई योजना उपभोक्ता संस्थाले अहिले ४ सय ८० घरधुरीमा एक घर एक धारा सिष्टममार्फत पिउने पानीको सुविधा दिँदै आएको छ । बर्षौदेखि सेङलेङको फेदीबाट निस्किएको मुलको पानी उपयोग गर्दै आएका यी उपभोक्ताहरुलाई अहिले खाकबेसी–थाम्का लिफ्ट खानेपानी योजनामार्फत एक घर एक धारा जडान गरिएको अध्यक्ष शिव प्रसाद बन्जाडेले बताए ।

ADVADV

सम्बन्धित खबर

Advertise