२०८२ फागुन २५ गते सोमवार / Mar 09 , 2026 , Monday
२०८२ फागुन २५ गते सोमवार
Ads

मध्यपूर्वमा रहेका अमेरिकन बेस क्याम्पमा इरानको आक्रमण, युएईमा एक जनाको मृत्यु, मध्यपूर्वमा त्रास

shivam cement
तिलु शर्मा पौडेल
२०८२ फागुन १६ गते १९:५६
Shares
मध्यपूर्वमा रहेका अमेरिकन बेस क्याम्पमा इरानको आक्रमण, युएईमा एक जनाको मृत्यु, मध्यपूर्वमा त्रास

दोहा कतार : संयुक्त राज्य अमेरिका र इजरायलले इरानमाथि आक्रमण गरेलगत्तै इरानले जवाफ स्वरूप खाडी क्षेत्रका धेरै देशहरूमा मिसाइल तथा ड्रोन आक्रमण गरेको छ । अमेरिकाको मध्यपूर्वका देश कतार, साउदी अरब, बहराइन, कुवेत, संयुक्त अरब इमिरेट्स (युएई), ओमानमा सैन्य बेसक्याम्प छ । ओमानमा भने कुनै आक्रमण गरिएको छैन । यसअघि ओमानले इरान र अमेरिकाबिच वार्ताको पहल गरेको थियो । अमेरिका र इजरायलको यो संयुक्त आक्रमणको मुख्य उद्देश्य इरानको राजनीतिक नेतृत्वको अन्त्य गर्नु रहेको बताइन्छ ।

१९ लाख बढी नेपाली श्रमिक कार्यरत मध्यपूर्वमा इरानको आक्रमणले आप्रवासीहरूमा डर फैलिएको छ । दर्जनौँ मिसाइल आक्रमणले मध्यपूर्वको देश दुबईमा एक जना एसियाली नागरिकको मृत्यु भए बाहेकको अन्य मानवीय हताहत भएको जानकारी आएको छैन । कतारमा विभिन्न चरणमा भएको आक्रमण रोक्न सफल भएको कतार सरकारले जनाएको छ । कतारको रक्षा मन्त्रालयले देशका विभिन्न क्षेत्रलाई लक्षित गर्दै गरिएको आक्रमणको तेस्रो लहरलाई सफलतापूर्वक अवरोध गरी निष्क्रिय पारिएको जनाएको छ ।

मन्त्रालयका अनुसार उच्च तयारी अवस्था, कडा सुरक्षा सतर्कता तथा सम्बन्धित निकायहरूबीचको प्रभावकारी समन्वयका कारण सम्भावित क्षति हुन सकेन । सुरक्षा संयन्त्रहरू पूर्व तयारी अवस्थामा रहेकाले आक्रमणलाई समयमै पहिचान गरी नियन्त्रणमा लिन सफल भएको मन्त्रालयले स्पष्ट पारेको छ । घटनासम्बन्धी विस्तृत विवरण भने सार्वजनिक गरिएको छैन । तर मन्त्रालयले देशको सुरक्षा अवस्था नियन्त्रणमा रहेको र नागरिकलाई सतर्क रहँदै सामान्य गतिविधि जारी राख्न आग्रह गरेको छ । सुरक्षा संवेदनशीलतालाई मध्यनजर गर्दै यी देशहरूले आफ्ना सम्पूर्ण हवाई अड्डाहरू बन्द गरिसकेका छन् ।

दोहास्थित नेपाली दूतावासले इरानमा बसोबास गरिरहेका नेपाली नागरिकलाई सुरक्षा सतर्कता अपनाउन आग्रह गरेको छ ।  मध्यपूर्वमा विकसित हुँदै गएको परिस्थितिलाई नजिकबाट निगरानी गरिरहेको दूतावासले एक सूचना जारी गर्दै आवश्यक सावधानी अपनाउन भनेको छ । इजरायल र इरानले एकअर्काविरूद्ध हवाई आक्रमण गरिरहेका बेला जोर्डनले दुई वटा ब्यालिस्टिक क्षेप्यास्त्रलाई खसालेका बताएको छ ।

त्यस्तै नेपाली दूतावास कतारले कतारमा रहेका नेपालीहरूलाई कतार सरकारले जारी गरेको सूचना हेर्न, विश्वास गर्न आग्रह गर्दै कतारको आन्तरिक मन्त्रालयले जारी गरेको सूचनामा मात्र विश्वास गर्न आग्रह गरेको छ । दूतावासले अफवाह वा अज्ञात स्रोतबाट फैलाइने सन्देशहरूमा ध्यान नदिन र अपुष्ट समाचार तथा भिडियो सामग्री सामाजिक सञ्जालमार्फत नफैलाउन पनि अनुरोध छ । यता कतारमा रहेका नेपाली सङ्घ संस्थाको अभिभावक संस्था गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद्, कतारले प्रेस विज्ञप्ति जारी गर्दै सचेत, संयमित र सुरक्षित रहन कतारवासी नेपालीहरूमा आग्रह गरेको छ । परिषद्का अध्यक्ष कृष्ण  पन्थीद्वारा हस्ताक्षरित प्रेस विज्ञप्तिमा कतार राष्ट्रका नियम, सूचना र निर्देशनहरूलाई सम्मानपूर्वक पालना गर्न अनुरोध गरिएको छ ।

सम्बन्धित खबर