कपिलवस्तु : यशोधरा गाउँपालिका कृषि प्रधान गाउँपालिकाको रुपमा परिचित रहेपनि लगानी भने न्यून रहेको पाइएकाो छ ।
यहाँका अधिकांश नागरिक कृषि पेशामा निर्भर छन् । गाउँपालिकाले किसानलाई आवश्यक कृषि सामग्री उपलब्ध नगराउँदा र कृषि क्षेत्रमा लगानी कम भएपछि कृषकहरुमा नैराश्यता देखिएको छ ।
एकातिर कृषि क्षेत्रमा न्यून लगानी भएको छ भने अर्कोतिर ४० प्रतिशत बढी कृषि बजेट फ्रिज भएको छ । गाउँपालिकाले बजेट विनियोजन भएपनि कृषि शाखाले योजनालाई रणनीतिक ढंगले बनाउन नसक्दा लगानी गर्न सकेको छैन ।
यशोधरा गाउँपालिकाको कृषि शाखामा स–सर्त अनुदानमा १४ लाख ४९ हजार, प्रदेशबाट ५० हजार र गाउँपालिकाको ५९ लाख ५० हजार रुपैया बजेट रहेको थियो ।
कुल बजेट ७४ लाख ४९ हजार मात्र रहे पनि कृषि क्षेत्रमा केही काम अगाडि बढ्न सकेन । कृषि शाखाको लापरबाहीले ४० प्रतिशत कृषिको बजेट फ्रिज भएको हो । वर्षभरि काम नगर्ने र असार मसान्त नजिक आउँदा काम गर्ने परिपाटीले अधिकांश पालिकाको बजेट फ्रिज हुने कारण देखिन्छ । कृषक सूचीकृत एवम् तथ्यांक संकलन कार्यक्रम, माटो परीक्षण, विद्युत मोटर वितरण जस्ता महत्वपूर्ण कार्यक्रम समेत नभएपछि बजेट फ्रिज भएका हुन् ।
यशोधरा गाउँपालिकाका अध्यक्ष शिव दयाल तिवारीले कृषि शाखाले केही बदमासी गरेको बताए । उनले पूर्व प्रमुख प्रशासकीय अधिकृत रामचन्द्र ढकालको लापरवाहीले पालिकाको अधिकांश योजना र फाँटका बजेट फ्रिज भएको आरोप लगाए । अध्यक्ष तिवारी अनुसार ढकालले योजनाहरुको सम्झौता लगायत कामकाज समयमा नगर्दा बजेट फ्रिज भएको बताए ।