
ललितपुर : नेपाल पत्रकार महासंघ ललितपुरले सञ्चार मिडिया सहकार्य कार्यक्रम सम्पन्न गरेको छ ।
ललितपुरको बागमती गाउँपालिकासँगको सहकार्यमा महासंघले बिहीबार आयोजना गरेको कार्यक्रममा मन्तव्य राख्दै बागमती गाउँपालिकाका अध्यक्ष वीरबहादुर लोप्चनले पत्रकारहरुले गल्ती र त्रुटी मात्रै खोज्ने भन्दा पनि सकरात्मक कार्यलाई जोड दिनुपर्ने धारणा राखे ।
‘सताउने भन्दा पनि सकरात्मक कार्यमा सहकार्य गर्ने वातावरण बनाउनुस्, राम्रो कामलाई मिडिया मार्फत उजागर गर्न आग्रह छ, युवाहरूलाई विदेश जानबाट रोक्न शेयर बजार र उद्यमशील बनाउन हामी पनि ध्यान दिन्छौं, पत्रकार महासंघलाई बागमती गाउँपालिकाबाट निरन्तर सहयोग गरिरहेका छौं’ उनले भने ।
गाउँपालिका उपाध्यक्ष भक्तबहादुर दर्लामीले दूरदराजका सन्दर्भ सामग्रीहरु प्रस्तुत गर्न पत्रकारहरुले ध्यान दिनु आवश्यक छ भन्दै जनतालाई सुसूचित गराउन क्रियाशील हुनुपर्ने छ भन्नेमा जोड दिए ।
‘सहकार्य र समन्वयका लागि हामी निरन्तर रुपमा क्रियाशील रहनेछौं, समय सापेक्ष रुपमा क्षमता अभिबृद्धिमा ध्यान दिन्छौं, भूगोल, जनसंख्या, बस्तीको बारेमा सकरात्मक सन्देश दिने समाचार प्रस्तुति गर्न आग्रह छ’ उनले भने ।
उपाध्यक्ष दर्लामीले डिजिटल युगमा समाजलाई सूसुचित गर्न सञ्चार माध्यम र पत्रकारको ठूलो भूमिका रहेको बताए ।
पत्रकार महासंघका केन्द्रीय सदस्य सूर्य सुवेदीले ७७ वटा जिल्लामध्ये सबैभन्दा बढी क्रियाशील ललितपुर जिल्ला शाखा रहेको बताउँदै पत्रकारहरुलाई विभिन्न छलफल तथा गतिविधिहरुमा सहकार्य गरेर स्थानीय तहहरुले सहयोग गर्नुपर्नेमा जोड दिए ।
उनले स्थानीय तह र सञ्चार मिडिया सहकार्यले सकरात्मक प्रभाव पार्छ भन्दै मिलेर काम गर्दा कमजोरीको सुधार हुने र सहकार्यले पारदर्शिता र उत्तरदायित्व वहन गर्ने क्षमतामा अभिबृद्धि गर्न सहज हुने विश्वास व्यक्त गरे ।