२०८३ मंसिर ८ गते मङ्गलवार / Nov 24 , 2026 , Tuesday
२०८३ मंसिर ८ गते मङ्गलवार

ऋषिकेशमा ओशो ध्यान शिविर र आध्यात्मिक यात्रा

Nada
ई. नवराज पौडेल 'ध्यान आशिष'
२०८३ मंसिर ८ गते १८:४६
Shares
ऋषिकेशमा ओशो ध्यान शिविर र आध्यात्मिक यात्रा

योग नगरी ऋषिकेशमा २०औं शताब्दीका महान रहस्यदर्शी ओशोको देशनामा आधारित ओशो ध्यान शिविरमा सहभागी हुन म नेपालको पश्चिमी शहर धनगढी हुँदै भारतको बनबासा नाकाबाट २९ अक्टोबर २०२६ मा भारतको आध्यात्मिक राजधानी उत्तराखण्डको ऋषिकेश पुगेँ । विश्वका उत्कृष्ट ओशो आश्रम मध्ये एक ओशो तपोबन नेपालका संस्थापक स्वामी आनन्द अरुणज्यूले सञ्चालन गर्नुहुने ध्यान शिविर पवित्र गङ्गा नदीको किनारमा रहेको ऋषिकेशको सबैभन्दा ठूलो योग आश्रम परमार्थ निकेतनमा हुँदै थियो । स्वामी आनन्द अरुणज्यू एक महिना अघिदेखि ऋषिकेशमा नै हुनुहुन्थ्यो । उहाँले सेप्टेम्बर १, २०२६ मा ऋषिकेशको एम्स रोडमा भर्खरै स्थापना भएको श्री रजनिश आश्रमको शुभारम्भ गरिसक्नु भई उहाँ गङ्गा किनारमा रहेको उक्त आश्रममा बसिरहनु भएको थियो । म पनि २९ अक्टोबरमा उक्त सुन्दर श्री रजनिश आश्रममा बसें । आश्रम भवनको मेडिटेशन हलबाट पवित्र गंगा नदीको दृश्य हेर्दा आफै ध्यान लाग्दथ्यो । आश्रमबाट प्रकृतिको मनोरम दृश्य देखिन्थ्यो । आश्रम पनि बहुत सुन्दर थियो । 

भोलिपल्ट अक्टोबर ३०, २०२६ देखि नोभेम्बर २, २०२६ सम्म हुन गइरहेको बृहत् ओशो ध्यान शिविरमा सहभागी हुन म परमार्थ निकेतन पुगेँ । पवित्र गङ्गा किनारमा रहेको विशाल मेडिटेशन हलमा स्वामी आनन्द अरुणज्यूले ध्यान शिविरको शुभारम्भ गर्नुभयो । परमार्थ निकेतन आश्रमबाट प्रतिदिन साँझमा गङ्गा आरती हुने प्रचलन अनुरूप अक्टोबर ३० साँझ भएको विशाल गङ्गा आरतीमा स्वामी आनन्द अरुणज्यू समेत हामी शिविरार्थीहरू सहभागी भयौँ । गङ्गाको कञ्चन पानीको पवित्र जलप्रवाह, हरिया जङ्गलको पृष्ठभूमि अनि सुन्दर पहाडको समीपमा बहुत सुन्दर ढङ्गले आरती भइरहेको थियो । उक्त भव्य गङ्गा आरती कार्यक्रममा परमार्थ निकेतन आश्रमका प्रमुख स्वामी चिदानन्द सरस्वती र परमार्थ निकेतन ऋषिकेशकी अन्तर्राष्ट्रिय निर्देशक साध्वी भगवती सरस्वतीजीले मिठो छोटो प्रवचन पनि बीच-बीचमा दिनुहुँदा आरती कार्यक्रम अझै सुन्दर भएको थियो।

अक्टोबर ३१ बिहानीमा ७:०० बजे ओशोको शक्तिशाली सक्रिय ध्यानबाट शिविरको दोस्रो दिन प्रारम्भ भयो। गङ्गा किनारमा विश्वभरबाट ८६४ जना साधकहरू ध्यानका लागि उपस्थित भएका थिए । सक्रिय ध्यान लगत्तै प्राणायाम र योगाको अभ्यास भयो । त्यसपछि बिहानको भोजन ग्रहण गर्न हामी सबै लाग्यौँ । ध्यान हलको बाहिर ओशोका अमृत साहित्यहरू बिक्री वितरण भइरहेका थिए। ओशो उपवन पोखराका स्वामी योगानन्दले ओशो साहित्य बिक्रीको संयोजन गरिरहेका देखिन्थे।

बिहानीको भोजनपछि शिविरमा सहभागी साधकहरू गङ्गा स्नान गर्न लागिरहेको दृश्य देखिन्थ्यो । केहीबेरमा शिविरमा ध्यानको दोस्रो सेसन सुरु भयो । त्यसपछि फेरि दिउँसोको लन्चको समय भयो । विशाल भोजन कक्षमा शाकाहारी खाना खाइरहेका थिए साधकहरूले । दिउँसोको लन्चपछि फेरि तेस्रो सेसन सुरु भयो ध्यानको । अनि फेरि साँझ ५:०० बजे ओशोको प्रख्यात सक्रिय ध्यान 'कुण्डलिनी ध्यान' भयो । सुन्दर सङ्गीतमा साधकहरू शरीर हल्लाइरहेका, नाचिरहेका, ध्यानमा मग्न भएर सङ्गीत सुनिरहेका अनि शवासनमा शान्त भएर साक्षी भावमा आफु भित्र डुबिरहेका थिए उनीहरु । अनि बेलुकीको खाना खाइ बेलुकी ८:०० बजे ध्यान हलमा सेतो पहिरनमा साधकहरु उपस्थित भए । सांझ गरिने ध्यानलाई 'ह्वाइट रोब उत्सव' (ब्रदरहुड) भन्ने गरिन्छ । सेतो पहिरनमा साधकरु आरति अनि 'ह्वाइट रोब उत्सव' मा सहभागी भए । स्वामी आनन्द अरुणज्यूले ओशोको प्रवचन बजाउनु भयो। ओशोको आग्नेय प्रवचनले साधकहरू ध्यानको गहिराइमा डुबेका थिए । स्वामीज्यूले ओशोको भिडियो लगाएर एनर्जी दर्शन गराउनु भयो । अनि तीन मिनेट विश्व शान्तिका लागि मौन प्रार्थना गरेपछि राति करिब १०:३० तिर दोस्रो दिनको ध्यान शिविर सकियो ।

तेस्रो दिन दिउँसो साधकहरूका जिज्ञासाहरूको उत्तर दिनुभयो स्वामी आनन्द अरुणज्यूले । विश्वभरबाट आएका साधकहरूका आध्यात्मिक जिज्ञासाहरूको रोचक ढङ्गले स्वामीज्यूले उत्तर दिनुभयो । साँझपख सन्यास दीक्षा भयो । भोलिपल्ट चौथो दिन बिहान पनि फेरि सन्यास  दीक्षा भयो । दुई दिन गरेर करिब १२४ जना साधकहरू ओशोको सन्यासमा दिक्षित भए । यति ठूलो सङ्ख्यामा साधकहरुले दिक्षा लिएको यो बिरलै घटना हो । चौथो दिनको सन्यास दीक्षासँगै स्वामीज्यूको प्रवचन पछि ओशो ध्यान शिविर समापन भयो ।

ओशो ध्यान शिविर समापन भएपछि हामी फेरि एम्स रोडमा गयौँ । दुई दिनसम्म स्वामी आनन्द अरुणज्यूको नजिकै हामी बस्यौँ, साधना गर्यौँ । स्वामीज्यू नोभेम्बर ५ मा दिल्लीतर्फ लाग्नुभयो । त्यस पछि केही साथीहरू सहित हामी मनिराम रोडमा रहेको स्वामी जगन्नाथ आश्रममा गयौं । मेरा दुई जना साथीहरू गगन र विक्रम नेपाल फर्किएपछि म त्यस दिन देवप्रयाग गएँ । भागीरथी नदी र अलकनन्दाको सङ्गम देवप्रयाग बहुत सुन्दर र पवित्र ठाउँ रहेछ । देवप्रयागमा दुई नदीहरु मिसिएपछि गङ्गा भनिँदो रहेछ । म देवप्रयागको छोटो भ्रमणपछि नीलकण्ठ रोड, रत्तीपानी, ऋषिकेशमा रहेको ओशो झेन मेडिटेशन सेन्टरमा साँझपख पुगेँ । साँझपख ८४ वर्षकी माँ ध्यान तन्मयले सञ्चालन गरेको उक्त सेन्टरमा पुगेर त्यस रात रत्तीखोलाको किनार नीलकण्ठ रोडमा बिताएँ । ८४ वर्षमा हिँडिरहेकी माँ ध्यान तन्मयले १९८६ मा दीक्षा लिएकी थिइन्। उनले १९८७ देखि २००३ सम्म ओशो इन्टरनेसनल कम्युन पुनामा काम गरिन् अनि २००४ देखि ऋषिकेशमा आएर एकान्तमा साधना गर्दै बस्न थालेकी रहिछन् । उक्त रात ध्यान तन्मयको ध्यान केन्द्रमा बिताए पछि भोलिपल्ट म फेरि मनिराम रोड, ऋषिकेशको स्वामी जगन्नाथ आश्रम गएँ र त्यस रात उक्त आश्रममा मस्तसँग निदाएँ ।

फेरि भोलिपल्ट म मेरा आफ्ना लगेजहरू लिएर उतराखण्डको राजधानी देहरादुन गएँ । देहरादुनमा रहेको 'ओशो ओम बोधिसत्व कम्युन' मा मेरो झोला बिसाएँ । उक्त कम्युन माँ अमृत मुक्ति र माँ दिव्या गन्धाले सञ्चालन गरिरहनु भएको छ। उहाँहरू दुवै जना दिदीबहिनी हुनुहुन्छ । उहाँहरूले ओशो मुभमेन्टको सुरुवाती दिनदेखि ओशोलाई खाना पकाउनुभएको थियो । माँ अमृत मुक्ति र माँ दिव्या गन्धा अत्यन्त आदरणीय ओशो सन्यासी र पवित्र व्यक्तिहरु हुनुहुन्छ । जीवनको उत्तरार्धमा रहेकी माँ मुक्ति ८५ बर्षकी अद्भुत ओशो साधिका हुनुहुन्छ । सेतो वर्णकी बहुत सुन्दर महिला माँ मुक्तिले सन् १९६४ मा अहमदाबादमा ओशोलाई भेटेपछि उहाँले  ओशोलाई अनुशरण गर्दै  सन्  १९७१ मा माउन्ट आबुमा उहाँले सन्यास लिनुभयो । अनि सन् १९७४ जनवरीमा  बम्बैमा उहाँलाई ओशोले बोलाउनु भयो । ओशोको आदेश अनुसार उहाँले सन् १९७४ जनवरीबाट ओशोलाई खाना पकाउन थाल्नु भयो । त्यसपछि पुना, रजनिशपुर, मनाली, विश्व भ्रमण र फेरी पुनामा ओशो संगै साधना गर्दै अनि ओशोको भोजन बनाउँदै जीवन बिताउनु भयो ।

माँ दिव्या गन्धाले सन् १९६६ मा ओशोलाई भेट्दा उहाँ १२ वर्षकी हुनुहुन्थ्यो । उहाँले पनि दिदीसँगै ओशोको खाना बनाउनु भयो र ओशोसँगै साधना गर्नुभयो । ओशोले शरीर छोडेको ठिक ९ महिना पछि स्वामी नरेन्द्र बोधिसत्व, माँ मुक्ति र माँ दिव्याले पुना आश्रम छोडेर देहरादुनमा ओम बोधिसत्व कम्युन संचालन गर्न थाल्नुभयो  । केही वर्षअघि स्वामी नरेन्द्र बोधिसत्वले शरीर छोडेपछि उक्त आश्रम सञ्चालनको प्रमुख जिम्मा माँ मुक्ति र माँ दिव्याको काँधमा आइपुगेको छ । मैले २ रात ३ दिन उक्त आश्रममा बिताएपछि म फेरि ऋषिकेशको एम्स रोडमा रहेको श्री वृन्दावन आश्रममा गए  र मेरो सात दिनको प्रवास बिताएँ । श्री वृन्दावन आश्रम श्री हित किशोरी शरणजी महाप्रभु सुरदासजी तिलपत वालेको आश्रम रहेछ । जन्मदेखि नै अन्धा तर बहुत ठूला आध्यात्मिक सिद्धिहरु भएका सुरदासजी महान सन्त हुनुहुँदो रहेछ । उक्त आश्रमको बसाइ बहुत सुन्दर रह्यो । म बिहान उठेर नजिकै रहेको श्री रजनीश आश्रममा ध्यान गर्दथे अनि गङ्गामा ३ पटक डुबुल्की मार्दथे अनि वृन्दाबन आश्रम नजिकै रहेको बहुत प्यारो भोजनालयमा भोजन गर्दथे । दिउँसो वरिपरि आश्रमहरू अनि तीर्थस्थलहरू घुमफिर गर्दथे। अनि फेरि बेलुका श्री रजनिश आश्रममा ध्यान गर्दथे र ९ बजे वृन्दावन आश्रम फर्किएर मस्तसँग निदाउँथे ।

गङ्गा किनारमा रहेको वृन्दावन आश्रम  बसाइ र साधना बहुत आनन्दपूर्ण रह्यो । म त्यहि ७ दिनको बीचमा ओशो गंगा धाम ब्रह्मपुरी पनि गएँ र त्यहाँ दुई दिन ध्यान पनि गरेँ । एक दिन नीलकण्ठ महादेव र स्वामी रामतीर्थको तपस्थली दर्शन गर्न गएँ । बीचमा स्वर्गाश्रम, स्वामी रामाको आश्रम, मस्तराम बाबा आश्रम, स्वामी शिवानन्द योग आश्रम, बाबा काली कमली आश्रम लगायतका आश्रमहरूको भ्रमण पनि गरेँ । एक दिन बसपार्क नजिकै रहेको ओशो बाटिका ध्यान केन्द्र पनि भ्रमण गरेँ । तिन पटक त्रिवेणी घाट, मायाकुण्डमा रहेको गुजराजी आश्रम पनि भ्रमण गरेँ । गुजराजी आश्रममा ओशोकी प्रथम शिष्य माँ आनन्द मधु लामो समय बसेर मौन साधना गर्नु भएको थियो । माँ आनन्द मधुले अहिले शरीर छोडीसक्नु भएको छ तर उहाँको कोठा अझै पनि साधकहरुको दर्शनको लागि सुरक्षित राखिएको छ ।

१५ नोभेम्बरमा १८ दिनको ऋषिकेश बसाईलाई बिट मार्दै म हरिद्वार हुँदै कैँचीधाम आएँ । १५ नोभेम्बरको रात रहस्यमयी सन्त श्री नीम करौली बाबाको आश्रम रहेको कैँचीधाममा बहुत आनन्दपूर्ण तरिकाले बिताएँ । १६ नोभेम्बरमा नीम करौली बाबा आश्रमको दर्शन गरेँ । श्री नीम करौली बाबा र सिद्धि माताको मन्दिरमा प्रणाम गरी धन्य भएँ । त्यसपछि निकै बेरसम्म आश्रम परिसरमा आनन्दपूर्ण तरिकाले बिताएँ । अनि बाहिर आई केहि प्रसाद र नीम करौली बाबाको तस्बिर लिएर मिठो भोजन गरें । 

भारतका महान सन्त नीम करौली बाबाको जीवन अत्यन्त रहस्यमय छ । उहाँको जीवन र उहाँको जीवनसँग जोडिएका घटना अत्यन्त आश्चर्यजनक छन् । उहाँका सिद्धिका प्रसङ्ग सुन्दा अद्भुत लाग्दछन् । यस्ता महान सन्त श्री नीम करौली बाबाको आश्रमको दर्शन गर्न पाउँदा आफूलाई धन्य महसुस गरेँ । दिनभरि नै एक प्रकारको तृप्ति महसुस भइरह्यो । 

अनि म भारत भ्रमणलाई बिट मार्दै कैँचीधामबाट हल्द्वानी हुँदै १६ नोभेम्बर बेलुकी धनगढी आइपुगेँ । यसरी मेरो ऋषिकेशको गङ्गा किनारमा ओशो ध्यान शिविरमा सहभागिता सहितको पवित्र गंगा नदीको किनारमा रहेको योग नगरी ऋषिकेश सहितको उत्तराखण्ड भारतको १९ दिनको यात्रा बहुत सुन्दर तरिकाले समापन भयो ।

जय ओशो ! जय भगवान ! !

(लेखक ई. पौडेल पूर्वाधार विकास मन्त्रालयका उपसचिव हुन् ।)

laxmi recruitement

ताजा खबर

सम्बन्धित खबर