२०८३ कार्तिक १४ गते शनिवार / Oct 31 , 2026 , Saturday
२०८३ कार्तिक १४ गते शनिवार

आइएसओप्राप्त पहिलो सामुदायिक विद्यालय कान्ति मावि

Nada
भावना पाठक
२०८३ वैशाख ४ गते ०६:१०
Shares
आइएसओप्राप्त पहिलो सामुदायिक विद्यालय कान्ति मावि

काठमाडौं : रुपन्देहीस्थित बुटवल उपमहानगरपालिकामा रहेको कान्ति मावि आइएसओप्राप्त नेपालको पहिलो सामुदायिक विद्यालय हो । पाँच हजार एक सय ७३ विद्यार्थी अध्ययन गराइरहेको यो विद्यालय विद्यार्थी संख्याका आधारमा पाँचांै ठुलो हो । शैक्षिक क्षेत्रमा निरन्तर प्रगति गर्दै उत्कृष्ट सामुदायिक विद्यालयका रूपमा आफ्नो पहिचान बनाएको छ ।

विद्यालयमा कम्प्युटर ल्याब, पुस्तकालय, खेलमैदान, छात्रावास तथा यातायात सुविधा उपलब्ध रहेको छ । २०६५ सालदेखि खुला विद्यालयतर्फ कक्षा ८ र १० समेत सञ्चालनमा छन् । जसबाट विभिन्न कारणले नियमित विद्यालयको पहुँच बाहिर रहेका सयौं विद्यार्थी लाभान्वित भएका छन् ।

नर्सरीदेखि कक्षा ७ सम्म पूर्णतः अंग्रेजी माध्यममा र कक्षा ८ देखि अंग्रेजी र नेपाली भाषा दुवै माध्यममा पढाइ हुन्छ । 

विसं २०१० सालमा स्थापना भएको विद्यालयमा हाल नर्सरीदेखि कक्षा १२ सम्म पढाइ हुँदै आएको विद्यालय प्रधानाध्यापक गोविन्द ज्ञवाली बताउँछन् । ‘बुटवलको गणेश विद्या भवन प्राइमरी स्कुल र खस्यौलीमा भएको जनता विद्या भवन प्राइमरी स्कुलको एकीकरण गरी २ पुस २०१० देखि गणेश जनता विद्या भवन प्राथमिक विद्यालयको नामबाट हालको कान्ति माविको सुरुआत भएको हो,’ उनी भन्छन्, ‘सरकारी विद्यालयमा राम्रो पढाइ हुँदैन भन्ने भ्रम चिर्न सफल कान्ति मावि ३५ कोठे शैक्षिक भवन र ४८ कोठे छात्रावास भवनमा सञ्चालित छ ।’

शैक्षिक नतिजासँगै खेलकुद र अतिरिक्त बौद्धिक प्रतिस्पर्धामा पनि कान्ति माविले राम्रा बोर्डिङ स्कुललाई उछिनेको छ । स्थानीय अभिभावक तथा सरोकारवालाहरूले पनि विद्यालयको शैक्षिक स्तर र व्यवस्थापनप्रति सन्तुष्टि व्यक्त गरेका छन् । आगामी दिनमा अझ गुणस्तरीय शिक्षा प्रदान गर्ने लक्ष्यका साथ विद्यालय अगाडि बढिरहेको विद्यालय प्रशासनले जनाएको छ ।

ताजा खबर

सम्बन्धित खबर