
काठमाडौं : २००३ साल माघ १९ गते सरस्वती पूजाका दिन न्युरोडको एक निजी घरमा स्थापना भएको विश्व निकेतन विद्यालय अहिले नेपालको उत्कृष्ट विद्यालयमध्येको एक हो । कक्षा १ देखि १२ सम्म पढाइ हुने विद्यालयमा चार हजार चार सय ३५ विद्यार्थीसहित शिक्षक र कर्मचारी गरेर १६० जना कार्यरत छन् । शनिबारबाहेकका धेरैजसो सार्वजनिक बिदाका दिनमा पनि विद्यालय पढाइ हुन्छ ।
प्रधानाध्यापक हेरम्बराज कँडेलका अनुसार गायिका तारादेवी, गायक प्रेमध्वज प्रधान, शिक्षाविद् केदारभक्त माथेमा, मुटुरोग विशेषज्ञ अरुण सायमीलगायत यसै विद्यालयका पूर्वविद्यार्थी हुन् ।
‘नतिजामा एकपछि अर्को रेकर्ड ‘ब्रेक’ गर्दै विद्यालयले सरकारबाट पदक र पुरस्कार हात पार्दै आएको छ,’ उनी भन्छन्,’ ‘२०७४, २०७५ र २०८१मा गरी विद्यालयले तीनपटक राष्ट्रिय शिक्षा पुरस्कार प्राप्त गरिसकेको छ । अब यो साख जोगाउनु पनि ठुलो जिम्मेवारी हो ।’
विद्यालयले खेलकुद, सांस्कृतिक कार्यक्रम, तथा विभिन्न प्रतिस्पर्धात्मक गतिविधिमार्फत विद्यार्थीको समग्र विकासमा जोड दिँदै आएको उनी बताउँछन् । साथै, विद्यालयले प्रविधिमैत्री शिक्षण विधि अपनाउँदै कम्प्युटर तथा डिजिटल सिकाइलाई प्राथमिकतासमेत दिएको छ ।
विद्यार्थीको चाप धेरै हुने काठमाडौंको विद्यालयमा भौतिक संरचनामा भने कमी रहेको प्रअ कँडेलले बताए । २००३ सालमा न्युरोडमा स्थापित र २००९मा त्रिपुरेश्वर जुद्धघाटमा स्थानान्तरण भएको विश्व निकेतन मावि अहिले देशकै नमुना विद्यालय हो ।