
काठमाडौं : धनुषाको विदेह नगरपालिकास्थित जनता नमुना प्राविधिक मावि मधेश प्रदेशमै विद्यार्थी संख्याका आधारमा पहिलो देशभरिमा दोस्रो स्थानमा छ । यस विद्यालयमा पाँच हजार सात सय ८९ विद्यार्थी र ८५ जना शिक्षक छन् ।
२००८ सालमा प्राथमिक विद्यालयका रूपमा स्थापना भएको विद्यालय २०२९ सालमा निम्न माध्यमिक विद्यालयमा बढोत्तरी भएको थियो । २०४९ सालमा माध्यमिक तहमा उक्लिएको विद्यालय २०६८ देखि प्लस टुसम्मको कक्षा सञ्चालन हुने तहमा पुग्यो ।
प्रधानाध्यापक पवन मण्डलका अनुसार २०७० सालदेखि पशु विज्ञान विषय पढाइसमेत सुरु गरेको जनता मावि २०७४ सालमा ‘नमुना विद्यालय’ बन्न सफल भएको हो । विद्यालयमा कक्षा १ देखि १२ सम्म निःशुल्क पढाइ हुन्छ । कक्षा ५ सम्मका विद्यार्थीलाई सरकारबाट दिइने दिवा खाजाको रकम नै वितरण गरिन्छ ।
‘कक्षा १ देखि १० सम्म छुट्टाछुट्टै सेक्सनमा पठनपाठन हुँदै आएको छ,’ उनी भन्छन्, ‘कक्षा १ देखि ५ सम्म तीन सेक्सन, कक्षा ६मा पाँच, कक्षा ७मा छ, कक्षा ८मा सात र कक्षा ९मा आठवटा सेक्सन सञ्चालनमा छन् । कक्षा ९ सम्म एउटा सेक्सनमा अंग्रेजी माध्यममै पठनपाठन हुने गरेको छ ।’
उनले पालिकाभरिका अभिभावकलाई यही विद्यालयमा बच्चा पठाउन अभियान नै चलाए । तर, भौतिक संरचनाको अभावले पढ्न आउने जति सबैलाई भर्ना लिन असहज हुने उनी बताउँछन् ।