२०८१ असोज ५ गते शनिवार / Sep 21 , 2024 , Saturday
२०८१ असोज ५ गते शनिवार

बंगलादेशमा बाँकी विद्यार्थीको सुरक्षाका लागि परराष्ट्रमन्त्रीको निर्देशन

ADV
मध्यान्ह
२०८१ साउन २१ गते १७:१७
बंगलादेशमा बाँकी विद्यार्थीको सुरक्षाका लागि परराष्ट्रमन्त्रीको निर्देशन

काठमाडौं : परराष्ट्रमन्त्री डा आरजु राणा देउवाले बंगलादेशमा जारी आन्दोलनका कारण त्यहाँ बाँकी रहेका नेपाली विद्यार्थीलाई पर्न सक्ने अप्ठ्यारोप्रति जानकार रही उनीहरुको सुरक्षामा सक्रिय रुपमा लाग्न ढाकास्थित नेपाली दूतावासलाई निर्देशन दिएकी छन् ।

मन्त्री डा राणाले ढाकास्थित नेपाली राजदूतसँग टेलिफोनमार्फत त्यहाँको पछिल्लो अवस्थाबारे आज जानकारी लिएपछि त्यहाँ रहेका नेपालीहरुको आवश्यक सुरक्षा तथा सहयोगार्थ लाग्न सो निर्देशन दिएकी हुन् ।

त्यसअवसरमा बंगलादेशमा नेपाली विद्यार्थीलगायत सबै नेपाली नागरिक सुरक्षित रहेका बंगलादेशका लागि नेपाली राजदूत घनश्याम भण्डारीले पनि जानकारी गराएको मन्त्रीको सचिवालयले जनाएको छ ।

मन्त्री डा राणाले धेरै नेपाली विद्यार्थी स्वदेश फर्किसकेको भए पनि त्यहाँ बाँकी रहेकाहरुको सुरक्षाका लागि उनीहरुको सम्पर्कमा रहेर आवश्यक समन्वय गर्न दूतावासलाई निर्देशन दिइन् ।

ढाकास्थित नेपाली दूतावासले बंगलादेशमा अनिश्चितकालीन कर्फ्यू जारी गरिएकाले त्यहाँ रहेका सबै नेपालीलाई आफू रहेका स्थानमै सुरक्षित रहन र अधिकतम सतर्कता अपनाउन आज सूचना जारी गरेको छ ।

सो सूचनामा बंगलादेशबाट अधिकांश विद्यार्थी स्वदेश फर्किसकेका र हाल त्यहाँ करिब चार सय विद्यार्थी रहेका र उनीहरु सुरक्षित रहेका जानकारी पनि दिइएको छ ।

सो सूचनामा नेपाल फर्कन चाहनेहरुले दूतावाससँग समन्वय गरी सुरक्षा प्रबन्ध सुनिश्चित भइसकेपछि मात्र यात्रा गर्न आग्रह गर्दै आवश्यक समन्वयका लागि दूतावासको सम्पर्क ठेगाना पनि दिइएको मन्त्रालयले जनाएको छ ।

ADVADV

सम्बन्धित खबर

Advertise