२०८३ कार्तिक २५ गते बुधवार / Nov 11 , 2026 , Wednesday
२०८३ कार्तिक २५ गते बुधवार

पोखरामा विदेशी पर्यटकलाई भाइटिका, नेपाली संस्कृति र परम्परामा रमाए पाहुना

Nada
२०८३ कार्तिक २५ गते १९:४२
Shares
पोखरामा विदेशी पर्यटकलाई भाइटिका, नेपाली संस्कृति र परम्परामा रमाए पाहुना

काठमाडौँ : पर्यटकीय नगरी पोखरामा आयोजित १९औँ भाइटिका महोत्सवमा विदेशी पर्यटकले नेपाली परम्परा अनुसार टीका लगाएर तिहार मनाएका छन् ।

नेपाली संस्कृति र परम्परालाई नजिकबाट अनुभव गर्ने अवसरका रूपमा आयोजित महोत्सवमा पर्यटकले सप्तरंगी टीका र सयपत्री फूलको माला लगाउँदै भाइटिका मनाएका हुन् ।

होटेल संघ पोखराको आयोजनामा भएको महोत्सवमा सहभागी विदेशी पाहुनाले नेपाली मौलिक परम्पराअनुसार भाइटिका लगाउनुका साथै परम्परागत खानाका परिकारको स्वादसमेत लिएका छन् ।

महोत्सवमा विदेशी पर्यटकलाई नेपाली संस्कृतिअनुसार टीका लगाइदिएर स्वागत गरिएको थियो । उनीहरूले सेलरोटी र नेपाली दालभातलगायतका परिकारको स्वाद लिँदै नेपाली चाडपर्वको अनुभव बटुले ।

नेपाली संस्कृति, परम्परा र चाडपर्वलाई अन्तर्राष्ट्रियस्तरमा परिचित गराउने उद्देश्यले होटेल संघ पोखराले प्रत्येक वर्ष भाइटिका महोत्सव आयोजना गर्दै आएको छ । यस वर्ष महोत्सवको १९औँ संस्करण आयोजना गरिएको हो ।

भाइटिका नेपालीहरूको प्रमुख सांस्कृतिक पर्वमध्ये एक हो । यस दिन दिदीबहिनीले दाजुभाइको दीर्घायु, सुस्वास्थ्य र समृद्धिको कामना गर्दै सप्तरंगी टीका लगाइदिने तथा मखमली र सयपत्री फूलको माला पहिर्‍याइदिने परम्परा छ ।

पोखरामा आयोजना हुने यस्ता सांस्कृतिक महोत्सवले विदेशी पर्यटकलाई प्राकृतिक सौन्दर्यसँगै नेपालको मौलिक संस्कृति र सामाजिक परम्परासँग परिचित हुने अवसर प्रदान गर्दै आएका छन् ।

laxmi recruitement

सम्बन्धित खबर