२०८१ असोज ४ गते शुक्रवार / Sep 20 , 2024 , Friday
२०८१ असोज ४ गते शुक्रवार

बचतसँगै व्यवसायमा जोडिँदै महिला

ADV
मध्यान्ह
२०८१ जेठ २६ गते ११:१४
बचतसँगै व्यवसायमा जोडिँदै महिला

कैलाली : कैलालीको टीकापुर नगरपालिका- ७ की विपना गुरुङ पुन मगरका श्रीमान् वैदेशिक रोजगारीमा थिए । श्रीमान्ले विदेशमा कमाउने तथा सपनाले घर व्यवस्थापन गर्ने कार्य निरन्तर चलिरह्यो । सपनालाई बचत गर्नुपर्छ, आफूले पनि केही काम गर्नुपर्छ भन्ने कहिल्यै लागेन । श्रीमान्ले कमाउने, सपनाले खर्च गर्ने चलिरह्यो । 

केही महिनाअघि सुरक्षित आप्रवासन (सामी) कार्यक्रमले चलाएको वित्तीय साक्षरता कक्षामा सहभागी भएपछि बिपनाको दैनिकी भने फेरियो । उनले श्रीमान्को कमाइ बचत गर्न थालिन्। तरकारी खेती र बाख्रा पालन थालिन् । उनले कमाइको केही अंश बचतसमेत थालिन् । 

‘साक्षरता कक्षाबाट धेरै सिकाइ भयो, बचत गर्ने, फजुल खर्च नगर्ने तथा परिवारमा मेलमिलाप कसरी गर्ने भन्नेबारे ज्ञान पाए’, विपना भन्छिन्, ‘हरेक खर्च र आम्दानीको हिसाब राख्न थाले । दैनिक हिसाबकिताब लेखेर राख्दा घरमा मेलमिलाप र शान्ति भयो ।’

बिपनाका श्रीमान् अहिले विदेशबाट घर फर्केका छन् । विगतमा सीप नसिकेर रोजगारीमा गएका श्रीमान्लाई सीप सिकेर विदेश पठाउने तयारीमा उनी छिन् । ‘सीप सिकेर, सम्बन्धित काममा जाने सल्लाह भएको छ’, बिपनाले भनिन्, ‘अहिले मैले पनि तरकारी खेती, कपडा सिलाउने काम र बाख्रा पालन थालेकी छु । अब घर खर्चका लागि तनाव छैन ।’

टीकापुर–७ बैदीकै जमुना साउँद पनि साक्षरता कक्षामा सहभागी भएपछि पैसाको महत्त्व बुझेको बताउछिन् । घरमा मेलमिलापका लागि बचत गर्नुपर्ने रहेछ भन्ने सिकाइ भएको उनको बुझाइ छ । “महिलाले वित्तीय हिसाबकिताब राख्न र फजुल खर्च घटाएपछि घरमा पनि शान्ति हुन्छ”, उनी भन्छिन्, “हरेक दिन बेलुका दिनभरिका काम र खर्चबारे छलफल हुने गरेको छ । अहिले मैले पनि बाख्रा पालन व्यवसाय पनि सुरु गरेकी  छु ।”

टीकापुर–४ की सविता चौधरी पनि हिसाबकिताब राख्न र श्रीमान्को विदेशको कमाइ कसरी बचत गर्ने भन्नेबारेमा सिकाइ भएको बताउछिन् । “जति रकम पठाए पनि हिसाब राख्ने गरेकी थिइन, कुन महिना कति खर्च भयो थाहै हुँदैन थियो”, उनले भनिन्, “अहिले सबै हिसाब राख्दा सहज भएको छ । मैले तरकारी खेती पनि गरिरहेकी छु ।”

वैदेशिक रोजगारीमा गएका व्यक्तिको विदेशमा कति वर्ष बसाइ हुन्छ ? कति कमाइ हुन्छ ? विदेशमा केही वर्ष कमाएको रकम बचत गरेर, सदुपयोग गरेर सम्पत्ति थपेमा भविष्यमा आइपर्ने समस्या समाधान गर्न सकिनेमा महिलाहरू सचेत बन्न थालेका छन् । अझ विदेशको कमाइलाई सदुपयोग गरी वैदेशिक रोजगारीमा रहेका परिवारका सदस्यसमेत कामकाजी भएमा घर खर्च यही कमाइ गरी चलाउन सकिन्छ र केही बचतसमेत गर्न सकिन्छ भनी महिला व्यवसायसँग जोडिन खोज्दैछन् ।

साक्षरता कक्षामा सहभागी महिलाले विदेश जाँदा चाहिने कागजातबारे ज्ञान भएको, श्रम स्वीकृति र कानुनी प्रावधानबारे सिकाइ भएको बताएका छन् । यसका साथै परिवार व्यवस्थापन, कामको बाँडफाँट, आम्दानी र खर्चबारे सिकाइ भएको उनीहरू बताउँछन् । टीकापुरकी मिनाकुमारी विष्ट बालबालिकाको शिक्षा आर्जन र परिवारको आम्दानी बढाउन, सम्पत्ति जोड्न वित्तीय लक्ष्य हुनुपर्नेमा सचेत बनेको बताउछिन्

“हरेक परिवारको वित्तीय लक्ष्य हुनुपर्छ । हाम्रो समाजमा घरका एक पुरुष विदेशमा कमाउने, अरु सबै बसेर खाने चलन छ”, उनले भनिन्, “त्यसो गर्न हुँदैन । घरका सबैले आर्थिक आयआर्जन हुने काम गर्नुपर्छ ।”

सामी कार्यक्रमले कैलालीको टीकापुर, घोडाघोडी नगरपालिका, जानकी गाउँपालिका र धनगढी उपमहानगरपालिकामा काम गरिरहेको छ । आप्रवासन परियोजना नेपालमा सन् २०११ देखि सञ्चालनमा छ । कार्यक्रमले वैदेशिक रोजगारमा जाने सम्भावित कामदार, वैदेशिक रोजगारमा रहेका कामदार, वैदेशिक रोजगारबाट फर्केका कामदार र वैदेशिक रोजगारमा रहेका कामदारका परिवारका सदस्यलाई सेवा दिने गरी काम गर्दै आएको  छ । कार्यक्रमले सूचनामा पहुँच, सीपमा पहुँच, न्यायमा पहुँच, वित्तीय साक्षरता र मनोसामाजिक परामर्श दिने काम गर्दै आएको छ ।

ADVADV

ताजा खबर

सम्बन्धित खबर

Advertise