थाइल्याण्ड : युएनआईपी युएन ग्लोरी अवार्ड २०२५ तथा ग्लोबल मिट थाइल्याण्डको राजधानी बैंककमा भव्य रूपमा सम्पन्न भएको छ । विश्व शान्ति यात्राअन्तर्गत युनाइटेड नेचर इन्टरनेशनल पिस (युएनआईपी) र ग्लोरी मिडिया नेपालद्वारा संयुक्त रूपमा आयोजित कार्यक्रम सेप्टेम्बर १ मा प्रिन्सटन होटलमा सम्पन्न भएको हो ।
कार्यक्रममा विभिन्न देशका १२ जना व्यक्तित्व र २ वटा संस्थालाई अन्तर्राष्ट्रिय अवार्डद्वारा सम्मान गरिएको थियो । सम्मानित हुनेमा साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेडका सहायक प्रमुख कार्यकारी अधिकृत ब्रजेश कुमार झा, वरिष्ठ पर्यटन व्यवसायी रामप्रसाद सापकोटा, म्यान्मारका एनआरएनए ग्लोबल लिडर कुमार कार्की, कम्बोडियाका लाल सिंह खडका, थाइल्याण्डकी व्यवसायी वासना राई तथा संस्थागततर्फ साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेड (कर्पोरेट) र युएनआईपी थाइल्याण्ड च्याप्टर (सामाजिक) रहेका छन् ।
त्यस्तै, शान्ति तथा वकालत, अन्तर्राष्ट्रिय सम्बन्ध, महिला सशक्तीकरण, वातावरणीय इञ्जिनियरिङ, स्वास्थ्य, खेलकुद व्यवस्थापन र साहित्यका विभिन्न क्षेत्रमा अन्तर्राष्ट्रिय स्तरका व्यक्तित्वलाई अवार्ड प्रदान गरिएको छ । नेपाल विधाअन्तर्गत पनि अनुसन्धान, साहित्य, महिला उद्यमशीलता, सामाजिक सेवा, व्यवसायिक उद्यमशीलता, नेतृत्व, सञ्चार तथा पत्रकारिता, कृषिमा आधारित उद्योग, राजनीति तथा स्थानीय शासन, सार्वजनिक सेवा, बहुक्षेत्रीय योगदान, आयात–निर्यात र रोजगारीतर्फ १३ जना व्यक्तित्व सम्मानित भएका छन् ।
यसैगरी शान्ति र मानवताको क्षेत्रमा निरन्तर योगदान दिने १६ जना व्यक्तित्वलाई एक वर्षको अवधि सहित अन्तर्राष्ट्रिय शान्तिदूत प्रमाणपत्र प्रदान गरिएको थियो । शान्तिदूत घोषणामा भिक्षु डा. राजु लामा पी. कोंन्दन, सरोज ओझा, रवि राज शाही, दिपिका रायमाझी, दिपक चन्द्र गौतम, पवित्रा भण्डारी, हिक्मत दाहाल, विमल कुमार भट्टराई, मञ्जु श्रेष्ठ, हरिशरण मानन्धर, दिपप्रसाद धमला, मोती तामाङ, विष्णुप्रसाद अधिकारी, केशव बस्नेत, निकिता श्रेष्ठ र शिवहरी खनाल रहेका छन् ।
समारोहमा वक्ताहरूले शान्ति, एकता र सहकार्यमा जोड दिएका थिए। सहायक प्रमुख कार्यकारी अधिकृत ब्रजेश कुमार झा, व्यवसायी भावना राई, म्यान्मारका कुमार कार्की, पर्यटन व्यवसायी रामप्रसाद सापकोटा, चार्टर्ड एकाउण्टेन्ट विवेक पौडेल र जनप्रतिनिधि दावा गुम्बो तामाङलगायतले विश्व शान्तिका लागि सबै एकजुट हुनुपर्ने धारणा राखे ।
ग्लोरी मिडियाका अध्यक्ष सरोज ओझाले कला, संस्कृति र मिडियाले सीमाना नाघ्ने शक्ति भएको भन्दै यसले विश्व शान्ति र समृद्धिमा योगदान गर्ने बताए । त्यस्तै, युएनआईपी बंगलादेश च्याप्टर अध्यक्ष राजु शाहले पुरस्कारलाई शान्ति, एकता र अन्तर्राष्ट्रिय सहकार्यको प्रतीक रहेको बताए ।
युएनआईपी नेपाल च्याप्टरका राष्ट्रिय अध्यक्ष भिक्षु डा. राजु लामा पी. कोंन्दनले सामाजिक सेवा र मानवतावादी कार्य सीमा नमान्ने भएकाले शान्ति अभ्यास सबै समुदायमा समान रूपमा हुनुपर्ने धारणा राखे । युएनआईपी थाइल्याण्डकी अध्यक्ष प्रा.डा. श्रीवान किङ्जुनले नेपालले विश्व शान्तिका लागि खेलेको भूमिकाको प्रशंसा गरिन् ।
कार्यक्रममा युएनआईपी नेपालका कार्यकारी अध्यक्ष रवि राज शाहीले स्वागत मन्तव्य राखे भने महासचिव दिपक चन्द्र गौतमले धन्यवाद ज्ञापन गरे । कार्यक्रममा शास्त्रिय नृत्यांगना ईङगारत शिवाममाथेविटले शास्त्रिय नृत्य प्रस्तुत गरिन् भने भगवान बुद्धसम्बन्धी वृत्तचित्र प्रदर्शन गरिएको थियो ।