२०८३ असोज २० गते मङ्गलवार / Oct 06 , 2026 , Tuesday
२०८३ असोज २० गते मङ्गलवार

केवट परिवारको नमुना खेती

Nada
विनोद निगम
२०८३ वैशाख १६ गते १८:२०
Shares
केवट परिवारको नमुना खेती

पश्चिम नवलपरासी : पश्चिम नवलपरासीको सुस्ता गाउँपालिका–३ रैवामा एक साधारण किसान परिवारले बहुआयामिक कृषि अभ्यासमार्फत आत्मनिर्भरतातर्फ उल्लेखनीय प्रगति गरेको छ । अर्जुन केवटको परिवारले आधुनिक प्रविधि अपनाउँदै मेवा, कागती र रातो उखु खेतीलाई व्यावसायिक रूपमा अघि बढाएको हो । गाउँमै बसेर योजनाबद्ध कृषि उत्पादनमार्फत दिगो आम्दानी सम्भव हुने उदाहरण उनीहरूले प्रस्तुत गरेका छन् ।

ncell

परिवारकी ज्येष्ठ सदस्य सिध्यावती केवटका अनुसार अर्जुन लामो समय दक्षिण कोरियामा वैदेशिक रोजगारीमा संलग्न थिए । तर अपेक्षाअनुसार सन्तोषजनक अवस्था नभएपछि उनी स्वदेश फर्किएर कृषिमा लागेका हुन् । ‘विदेशमा दुःख गर्नु भन्दा आफ्नै ठाउँमा केही गर्ने सोचले छोरा फर्कियो,’ सिध्यावतीले भनिन्, ‘अहिले परिवार नै मिलेर खेतीमा जुटेका छौं ।’

हाल केवट परिवारले करिब १६ कट्ठामा मेवा, दुई कट्ठामा कागती र आठ कट्ठामा रातो उखु खेती गर्दै आएको छ । बाली विविधीकरणमार्फत जोखिम न्यूनीकरण र उत्पादन वृद्धि गर्ने रणनीति अपनाइएको छ । परिवारका १६ सदस्य प्रत्यक्ष तथा अप्रत्यक्ष रूपमा कृषिमा संलग्न छन् ।

उत्पादनको बजार व्यवस्थापनमा पनि उनीहरू सक्रिय छन् । केवट परिवारले उत्पादन गरेको मेवा बुटवल, बर्दघाट हुँदै भैरहवासम्म बिक्री हुँदै आएको छ । स्थानीय व्यापारीहरू खेतमै पुगेर खरिद गर्ने गरेका छन् भने केही ग्राहक फार्ममै पुग्ने गरेका छन्। यसले बिचौलियाको भूमिका घटाउँदै किसानलाई उचित मूल्य पाउन सहयोग पुगेको परिवारको भनाइ छ ।

आगामी दिनमा कृषि व्यवसाय अझ विस्तार गर्ने योजना रहेको परिवारले जनाएको छ । मेवा, कागती, उखु र आँप खेतीलाई व्यावसायिक रूपमा विस्तार गर्दै बजार पहुँच बढाउने लक्ष्य राखिएको छ । साथै आधुनिक सिंचाइ, उन्नत बीउबिजन र प्राविधिक ज्ञान प्रयोग गरी उत्पादन र गुणस्तर सुधार गर्ने तयारी भइरहेको छ ।

यद्यपि सुरुवाती चरण चुनौतीपूर्ण रहेको थियो । करिब एक लाख रुपैयाँ लगानीमा सुरु गरिएको मेवा खेतीमा भारतबाट ल्याइएको बीउ गुणस्तरीय नहुँदा उत्पादनमा गिरावट आएको थियो । पछि काठमाडौंबाट ताइवान जातको बीउ ल्याएर पुनः खेती गर्दा उत्पादनमा सुधार आएको परिवारले जनाएको छ ।

केवट परिवारले स्थानीय तह तथा कृषि निकायबाट अपेक्षाअनुसार सहयोग नपाएको गुनासो पनि गरेको छ । प्राविधिक सल्लाह, तालिम, अनुदान र बजार व्यवस्थापनमा सरकारी सहयोग आवश्यक रहेको उनीहरूको भनाइ छ । ‘समयमै प्राविधिक र आर्थिक सहयोग पाए उत्पादन अझ दोब्बर बनाउन सकिन्छ,’ सिध्यावतीले भनिन् ।

रैवामा केवट परिवारले सुरु गरेको यो पहल ग्रामीण कृषिको सम्भावना उजागर गर्ने उदाहरण बनेको छ । यस्ता प्रयासलाई राज्यबाट उचित प्रोत्साहन र बजार सुनिश्चितता मिल्न सके स्थानीय अर्थतन्त्र सुदृढ बनाउन महत्वपूर्ण योगदान पुग्ने देखिन्छ ।

सम्बन्धित खबर