२०८३ असोज २१ गते बुधवार / Oct 07 , 2026 , Wednesday
२०८३ असोज २१ गते बुधवार

सुकुम्वासी डायरी : उज्यालो सहरको अँध्यारो कथा

Nada
सपना बोहरा
२०८३ वैशाख १८ गते ०६:३०
Shares
सुकुम्वासी डायरी : उज्यालो सहरको अँध्यारो कथा

- सुकुम्वासी बस्ती खाली गर्ने सरकारको निर्णयले हजारौं भुइँमान्छेको निद्रा हरायो । दुई दिनभित्रै घर–टहरा खाली गर्न माइकिङ गरियो । त्यति छोटो समयमा घर छाड्न मनोहराका हस्तबहादुर तामाङलाई सजिलो थिएन । तर बस्तीमा डोजर चल्ने नै भयो । अब कहाँ जाने ? त्यही चिन्ताले उनी मात्र होइन, १७ वर्षीय छोरा रविन तामाङलाई पनि नराम्ररी पिरोलेको थियो । बिचल्लीमा पर्ने पीरले सिंगो परिवार अनिदै थियो । रविनले बुवाआमाको दुःख देख्न सकेनन्, सायद । त्यसैले १० वैशाखको बिहानै उनले शौचालयमा झुन्डिएर ज्यान दिए । पुत्रशोकमा रहेका तामाङको अहिले बिचल्ली छ । 

ncell

- चारमहिने छोरी लिएर ३५ वर्षीया सविना नेपाली कीर्तिपुरको होल्डिङ सेन्टरमा एउटा त्रिपालमुनि छिन् । सरकारले घर भत्काएयता काठमाडौंको मौसमी बदली भयो । वर्षाले रातहरू चिसा छन् । सुत्केरी सविनाले न पोसिलो खानेकुरा पाएकी छिन्, न न्यानो ओछ्यान । बच्चालाई लिटोसमेत खुवाउन नपाएको उनी बताउँछिन् । राधास्वामी सत्संग भवनमा होल्डिङ सेन्टर भएकाले उनले मासुमाछासमेत खान पाएकी छैनन् । चिसोले सुत्केरी ज्यान कटकटी खान्छन् । लामखुट्टेले सताउँछ । बच्चा रातभर सुत्दैन । आफ्नो यो हालत सम्झेर उनी रोइरहन्छिन् । तर, उनी जाने अर्को ठाउँ पनि छैन । 

- कक्षा १२को परीक्षा दिइरहेकी गृभानिका थापा मगरलाई अहिले बासभन्दा बढी परीक्षाको चिन्ता छ । बस्तीमा डोजर र उनको परीक्षा सँगसँगै आए । शरणार्थीजस्तो भएर घरबाट सेल्टरमा पुगेकी उनले पढाइमा ध्यान लगाउन सकेकी छैनन् । घर–टहरा भत्काउँदा उनका किताबकापी पनि पुरिए । बटुलेका पनि कता पुगे थाहा छैन । केही किताब पानीले भिजे । पोको पारेका किताब पनि कीर्तिपुरको होल्डिङ सेन्टरमा थन्क्याइएका छन् । कालिमाटीको जनप्रभात माविमा पढ्ने उनले काठमाडौं कलेजबाट परीक्षा दिइरहेकी छिन् । गृभानिकाले होल्डिङ सेन्टर निरीक्षणमा आएकी काठमाडौं महानगरपालिकाकी कार्यवाहक मेयर सुनीता डंगोलसँग पनि आफ्नो पढाइबारे कुरा राखिन् । डंगोलले अरू व्यवस्था त मिलाउन सकिनन्, पढाइमा मद्दत होस् भनेर एक महिनाको मोबाइल डाटा भने दिएकी छिन् । 

- कीर्तिपुरको राधास्वामी सत्संगको ठुलो भवनमा बस्दै आएकी छिन्, शर्मिला तामाङ । उनले त जसोतसो मन बुझाएकी छिन्, तर उनकी सात वर्षीया छोरी त्यहाँ बस्नै मान्दिनन् । अझ साँझ परेपछि ‘घर जाने’ भनेर रातभर रोइदिन्छिन् । ‘छोरी घर (थापाथलीको सुकुम्वासी बस्ती) जाने भनेर जिद्दी गर्छे,’ उनी भन्छिन्, ‘रोएर सताउँछे । डोजरले भत्काएको घर देखाएर ल्याएपछि मान्ली भनेको झन् रुन थाली ।’ 

यो साताभर मैले सुकुम्वासी बस्ती, रंगशाला र कीर्तिपुरको होल्डिङ सेन्टर पुगेर रिपोर्टिङ गरेँ । बस्ती खाली गराउँदाका केही दृश्य मानसपटलमा अझै पनि ताजा छन् । सयौंका संख्यामा सशस्त्र र नेपाल प्रहरीसँगै नगर प्रहरी परिचालन गरिएको थियो । केही स्थानमा नेपाली सेना पनि बाहिरी घेरामा तैनाथ थिए । २४ घण्टे म्याद सकिएको बिहानै ६ बजे थापाथली पुग्दा दर्दनाक दृश्यहरू देखिन्थ्यो । टहराबाट लत्ताकपडा, भाँडाकुँडा आँगनमा राखेर बसिरहेका भूमिहीनहरू रोइरहेका थिए । आँगनमा प्रहरी यताउता गरिरहेका थिए । केहीले सामान निकाल्न सहयोग पनि गरिरहेका थिए । प्रहरीलाई पुलुक्क हेरेका पाकचा तारिमले आँसु रोक्न सकेनन् । उनी धेरैबेर रोए । डोजरभन्दा अलि पर सारिएपछि लत्ताकपडामा अडेस लागेर उनले लामो सुस्केरा हाले । उनको नजर त्यही टहरामा पुग्यो, जहाँ उनले झन्डै दुई दशक बिताएका थिए । दुःख–सुखका धेरै क्षणहरूको सायद उनलाई सम्झना आइरहेको थियो । उनी लामो सुस्केरा हाल्दै आँसु पुछिरहेका थिए ।  

उताबाट प्रहरीले माइकिङ गर्‍यो, ‘अब केही बेरमा डोजर चल्छ, सबै सुरक्षित रहनुहोला ।’ 

प्रहरी घेराभित्र सुकुम्वासी बस्ती थियो । केहीले विरोधमा मुर्दावादको नारा पनि लगाए । तर, दुईवटा डोजर बस्तीभित्र छिरिसकेका थिए । डोजरले बस्तीको मुख्यद्वारबाटै टहरा भत्काउन थाले । तारिमको नजर हटेन । डोजर उनकै टहरासम्म पुग्यो । अब उनको ढुकढुकी बढ्यो । उनी थचक्कै बसे र घोप्टो परेर रुन थाले । बाँस र टिनले जोडेको उनको टहरा भत्काउन डोजरलाई कुनै समय लागेन । उता टहरा भत्कियो, यता तारिमको मन । उनी डाँको छाडेर रोए । 

त्यो उनका लागि एउटा टहरा मात्रै थिएन । उनको जीवनभरको पसिना, मिहिनेत र सपना थियो । 

बस्तीमा डोजर लगाउनुपूर्व एक दिनपहिले मात्र सुकुम्वासी बस्ती खाली गर्न प्रहरीले माइकिङ गर्‍यो । सुरुमा उनलाई विश्वास लागेको थिएन । टहराको आँगनमै प्रहरीको माइकिङ आएपछि उनको होस उड्यो । एकैछिन त उनी अत्तालिए । एकैदिनमा अब बस्ती छाडेर कहाँ जाने ? त्यसैको पिरले टहरा भत्किने दिनसम्म उनलाई खाना खान पनि मन लागेन । 

२० वर्षअघि पहिलोपटक उनी थापाथली बस्तीमा पुगेका थिए । जुनबेला उनको साथमा नागरिकता मात्र थियो । बागमती किनारमा उनले सपना बुने । जिन्दगी देखे । तर, उनको सपनामाथि भर्खरै डोजर चलेको थियो । उनले गोजीबाट नागरिकता निकाले र सुम्सुमाए । ‘यो बस्तीमा आउँदा यही नागरिकता लिएर आएको थिएँ, निस्किँदा पनि साथमा यही नागरिकता रह्यो’ उनले भने, ‘हातमा नागरिकता भए पनि सरकारले नागरिक ठानेन ।’ उनले करुण स्वरमा भन्दै थिए ।

अशक्त शरीर, लत्ताकपडा ओसार्ने सक्ने अवस्थामा थिएन । त्यसैले उनी श्रीमती र आफनो नागरिकता गोजीमा राखेर घर–टहरा भत्किएर धुलाम्य भएको बस्तीबाट निस्किए । अब कहाँ जाने कुनै ठेगान छैन । ६० वर्ष पुग्नै लागेका उनको जीवन ज्यामी काम गरेरै बित्यो । उनको दाहिने खुट्टा चल्दैन । पाँच वर्षदेखि उनी बिस्तारामै थलिएका छन् । 

०००

सुकुम्वासी हुनु कसैको रहर होइन, परिस्थितिको बाध्यता हो । सहरले उनीहरूको श्रम लिन्छ । श्रम र सीप चल्छ  । तर, सहरको एउटा कुनामा दुःखजिलोसँग बाँच्ने अधिकार दिँदैन । उनीहरू सडक बनाउँछन् । ठुला–ठुला महल बनाउँछन्, तर आफ्नै लागि एउटा सुरक्षित छानो हाल्न सक्दैनन् । गाउँमा डोजर नपुगेर बाटो अलपत्र छन् । तर, सुकुम्वासी बस्तीमा दर्जनौं डोजर सहाराविहीन वर्गका घर भत्काउन परिचालन भएको दृश्यले मेरो मनमा अनेक प्रश्न उब्जाइदियो । हुन सक्छ, ती बस्ती सही ठाउँमा थिएनन् । तिनका नाममा लालपुर्जा थिएन । तर, मानिस एउटा बाध्यताले बागमतीको किनारको सानो झुपडीमा पुग्छ । उनी गैरनागरिक थिएनन् । उनीहरू यही देशका नागरिक थिए । पक्कै हो, सुकुम्वासी र अव्यवस्थित बस्ती हटाउनै पर्‍थ्यो । तर, जुन शैली अपनाइयो त्यो उल्टो छ । पहिले लगत लिने, सुकुम्वासी छुट्याउने र उनीहरूलाई पुनस्र्थापनाको ठाउँ देखाइदिने । अनि अरूलाई समय दिएर खाली गर्न आह्वान गर्नुपथ्र्यो । सामाजिक सञ्जालमा लाञ्छित गरिएजस्तो सबै हुकुमबासी होइनन् । सहरी गरिब हुन् । रोजगारी खोज्दै सहर पसेका पिँधका वर्गका नागरिक हुन् । तर, राज्यले उनीहरूमाथि जसरी शक्ति लगाएर जस्तो तुजुक देखाएको छ, त्यसले मानवीय मर्यादा भत्काइदिएको छ । त्यसमाथि सहरिया मध्यम र उच्चवर्गले गरेको खिसिट्युरी मन घोच्नेखालको देखियो । 

०००

सहरको उज्यालो झिलिमिलीभित्र पनि केही अँध्यारा कथाहरू लुकेका हुन्छन् । यी कथा हुन्– सुकुम्वासी बस्तीका । जहाँ हरेक बिहान घामसँगै आशा मात्र होइन, संघर्ष पनि उदाउँछ । सानो टिनको छानो र फाटेको भित्ताभित्र कैयौं सपना हरदिन बाँच्न खोजिरहेका हुन्छन् । तर एकदिन, त्यो शान्त बस्तीमा डोजरको आवाज गुन्जिन्छ । त्यो आवाज डोजरको मात्र हुँदैन— त्यो आवाज भत्किँदै गरेको कसैको घरको हुन्छ । चर्किंदै गरेको कसैको जिन्दगीको हुन्छ । 

उनीहरूका घरटहरा बाँस र टिनका संरचना मात्र थिएनन् । त्यो सम्झनाहरूको थुप्रो हो– जहाँ तिनका सन्तानले पहिलो पाइला चालेका थिए । दुःख र संघर्षका कथा सुनाउँदै आमाबुवा मुस्कुराइरहेका हुन्थे । तर, सरकारले चलाएको डोजरले ती केही देखेन । त्यसैले केही घन्टामै खण्डहर बनाइदियो । 

चराले समेत आफ्नो गुँड बनाउन एउटा–एउटा सिन्का बटुल्छ । पिँधको वर्ग, दीनहीन र सुकुम्वासीहरूले पनि आधा पेट खाएर, बालबच्चाको रहरलाई धरौटीमा राखेर जस्तापाता र बाँसका खाँबा जोडेका थिए । ती पलभरमै भत्काइए ।

सम्बन्धित खबर