२०८३ असोज २१ गते बुधवार / Oct 07 , 2026 , Wednesday
२०८३ असोज २१ गते बुधवार

परोहामा स्थानीय आपतकालीन कार्यसञ्चालन केन्द्र स्थापना

Nada
सत्येन्द्र प्रताप सिंह
२०८३ वैशाख १८ गते १३:०७
Shares
परोहामा स्थानीय आपतकालीन कार्यसञ्चालन केन्द्र स्थापना

रौतहट : रौतहटको परोहा नगरपालिकामा विपद् व्यवस्थापन तथा प्रतिकार्यलाई व्यवस्थित र प्रभावकारी बनाउने उद्देश्यसहित स्थानीय आपतकालीन कार्यसञ्चालन केन्द्र स्थापना गरिएको छ । नगरपालिकाको लौकाहामा आयोजित एक समारोहबीच नगर प्रमुख शेख वकिलको अध्यक्षतामा केन्द्रको औपचारिक उद्घाटन गरिएको हो ।

ncell

उद्घाटन कार्यक्रममा प्रमुख अतिथिका रूपमा जिल्ला प्रशासन कार्यालय रौतहटका प्रमुख जिल्ला अधिकारी दिनेश सागर भुसाल सहभागी थिए । कार्यक्रममा बोल्दै नगर प्रमुख वकिलले परोहा नगरपालिका बाढी, डुबान, आगलागी लगायत प्राकृतिक विपद्को उच्च जोखिममा रहेको उल्लेख गर्दै केन्द्र स्थापना विपद् न्यूनीकरणका लागि महत्वपूर्ण आधार बन्ने बताए ।

उनका अनुसार विगतमा सूचनाको अभाव र ढिलो प्रतिकार्यका कारण ठुलो क्षति व्यहोर्नु परेको थियो । अब नयाँ केन्द्रमार्फत २४सै घण्टा सेवा प्रवाह हुने र विपद्का बेला सूचना संकलन, विश्लेषण तथा उद्धार कार्यलाई छिटो र प्रभावकारी बनाइने विश्वास व्यक्त गरे ।

वकिलले जलवायु परिवर्तनका कारण पछिल्ला वर्षहरूमा मौसम अनियमित बन्दै गएको र असोजतिर एक्कासी हुने भारी वर्षाले बाढीको जोखिम बढाएको बताए । विशेषगरी लालबकैया र बागमती नदीका कारण हरेक वर्ष समस्या उत्पन्न हुने भएकाले अब केन्द्रमार्फत पूर्वतयारी सुदृढ गरिने उनले बताए ।

कार्यक्रममा प्रमुख जिल्ला अधिकारी भुसालले स्थानीय तहमा यस्ता केन्द्र स्थापना हुनु संघीयताको मर्मअनुसार सकारात्मक कदम भएको बताए । उनले जनताको जीउधनको सुरक्षा स्थानीय सरकारको प्रमुख जिम्मेवारी भएको उल्लेख गर्दै रौतहट झाझ खोला, लालबकैया र बागमती नदीका कारण उच्च डुबान जोखिममा रहेको बताए। भारततर्फ निर्माण गरिएका बाँधले समेत समस्या थप जटिल बनाएको उनको भनाइ थियो ।

No description available.

भुसालले जिल्ला प्रशासन कार्यालयबाट प्राविधिक तथा प्रशासनिक सहयोग निरन्तर रहने प्रतिबद्धता जनाए। साथै हावाहुरी, चट्याङ र आगलागीका दृष्टिले पनि जिल्ला संवेदनशील रहेको भन्दै पूर्वतयारीमा जोड दिनुपर्ने बताए ।

नगरपालिकाले केन्द्रमार्फत विपद् जोखिमसम्बन्धी सूचना समयमै प्रवाह गर्ने, सचेतनामूलक कार्यक्रम सञ्चालन गर्ने, विपद्का बेला उद्धार टोली तथा राहत सामग्री परिचालन गर्ने, तथ्यांक संकलन र विश्लेषण गरी सम्बन्धित निकायमा प्रतिवेदन पठाउने तथा वडास्तरमा युवाहरू परिचालन गरी उद्धार टोली गठन गर्ने योजना बनाएको जनाएको छ ।

कार्यक्रमको समापनमा नगर प्रमुख वकिलले केन्द्रलाई प्रविधिमैत्री बनाउँदै दक्ष जनशक्ति र आधुनिक उपकरणको व्यवस्था गरिने बताए। यसबाट परोहावासीलाई थप सुरक्षित महसुस हुने उनको विश्वास छ ।

उद्घाटन समारोहमा सशस्त्र प्रहरी बल, नेपाल प्रहरी, राष्ट्रिय अनुसन्धान विभागका प्रतिनिधि, वडाध्यक्षहरू, समाजसेवी, कर्मचारी तथा सञ्चारकर्मीहरूको उपस्थिति रहेको थियो। स्थानीयवासीले केन्द्र स्थापना रौतहटमा विपद् व्यवस्थापनको क्षेत्रमा सकारात्मक सुरुवात भएको बताएका छन् ।

सम्बन्धित खबर