३४ वर्ष अगाडिकै धारमा सप्तकोशी नदी फर्किएपछि उदयपुर बेलका नगरपालिकाबाट २ हजार ५ सय परिवारको उद्धार गरिदैछ । बुधबार बिहान ४ बजेदेखि सप्तकोशी नदी पुरानै धारमा फर्किएको हो । २०४५ सालको भूकम्पपछि कोशी नदीले नयाँ धार बनाएको थियो । नयाँ धार बनाएर कोशी बग्न थालेपछि त्यस क्षेत्रमा २०५२/०५२ सालतिरबाट बस्ती शुरु भएको थियो । बस्ती तीव्र गतिमा विकास हुँदा अहिले १८ हजार भन्दा बढी मानिस त्यहाँ बस्ने गरेको स्थानीय प्रशासनले जनाएको छ । कोशीले धार परिवर्तन गरेपछि विकास भएको क्षेत्र अहिले बेलका नगरपालिका वडा नम्बर १, २, ८ र ९ पर्छ । तर बुधबार बिहानबाट कोशी नदी फेरि आफ्नै धारमा फर्किएपछि उक्त बस्ती उद्धारको प्रयत्न भइरहेको छ ।
कोशी नदीले बाँध भत्काएर आफ्नै धारमा बग्न थालेपछि तटीय क्षेत्र त्रसित बनेको छ । प्रदेश–१ का मुख्यमन्त्री राजेन्द्र राईले तटीय क्षेत्रका बासिन्दा सुरक्षित स्थानमा जान आग्रह गरेका छन् भने सरकारी निकायलाई परिचालित हुन निर्देशन दिएका छन् । संघीय र स्थानीय सरकारले पनि प्रभावित क्षेत्रका नागरिकको उद्धार कार्य अगाडि बढाएका छन् । ०६५ सालमा पनि सप्तकोशी नदीको बाँध भत्किएको थियो । बाढी र कटानले सुनसरीस्थित कुसाहामा बाँध भत्किएपछि मधुवन, लौकही, पश्चिम कुसहा, हरिपुर, श्रीपुर र भारततर्फ ठूलो क्षति भएको थियो । यसको १४ वर्षपछि सप्तकोशीको बाँध भत्किएको छ । बिहानपख कोशीले बाँध तोडेर पुरानै धारमा फर्केपछि प्रभावित नागरिकको उद्धार कार्यमा जोड दिइएको छ ।
सप्तकोशी बाहेक देशका अन्य क्षेत्रमा पनि बाढी, पहिरो र डुवानको समस्या छ । लगातारको वर्षाका कारणले पहाडी क्षेत्रमा बाढी पहिरो र तराई क्षेत्रमा डुवानले क्षति पुर्याइरहेको छ । वर्षायाममा यस्ता समस्या प्राकृतिक नियमितता हो । यसपटक भने कोशी नदी पुरानै धारमा फर्किएकाले ठूलो समस्या देखिएको छ । यसले सप्तकोशीको तटीय क्षेत्रका नागरिक प्रभावित बनेको छ । यस्तो बेला सरकारले उद्धार, राहत र पुनर्स्थापनामा जोड दिन आवश्यक छ । त्यस बाहेक आमनागरिकले आफ्नो क्षेत्रबाट सक्ने सहयोग गर्न जरुरी छ । प्रकोपबाट पहिलो आफू जोगिने र अरुलाई जोगाउनेमा जोड दिनुपर्छ ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies