२०८३ असोज २१ गते बुधवार / Oct 07 , 2026 , Wednesday
२०८३ असोज २१ गते बुधवार

अन्योलमा बुक फ्रि फाइडे

Nada
सपना बोहरा
२०८३ वैशाख २३ गते ०६:१५
Shares
अन्योलमा बुक फ्रि फाइडे

काठमाडौं : गत चैत महिनामा जनविकास माध्यमिक विद्यालयबाट एसइई परीक्षा दिएकी एक छात्रा ब्युटी पार्लरमा रोजगार गर्छिन् । उनले विद्यालयमा सञ्चालन भएको बुक फ्रि फ्राइडे कार्यक्रमअन्र्तगत ब्युटी पार्लरसम्बन्धी सीप सिकेकी हुन् । परीक्षाको नतिजा नआएसम्म उनले खाली समय सदुपयोग गर्दै आम्दानी पनि गरिरहेकी छिन् । 

ncell

त्यही विद्यालयमा बुक फ्रि फ्राइडे कार्यक्रमअन्र्तगत खाना पकाउने सीप सिकेका एक छात्र अहिले रेस्टुरेन्टमा कुकको काम गर्छन् । उनीहरू दुवै एसइई नतिजाको पखाइमा छन् । बुक फ्रि फ्राइडे कार्यक्रमले विद्यार्थीको क्षमता र उजागर गर्ने गरेको जनविकास माध्यमिक विद्यालयका प्रधानाध्यापक अनिलकुमार झा बताउँछन् । उनी भन्छन्, ‘विद्यालयमा नै ब्युटी पार्लर र सेफ सिकेका विद्यार्थीहरू एसइईको परीक्षा दिएर रोजगार बनेको जानकारी पाएँ, खुसी लाग्यो ।’ आफ्नो विद्यालयबाट विद्यार्थीहरूले इलेक्ट्रिसियन, प्लम्बरलगायत विभिन्न सीप सिकेका उनले बताए । 

विगतका वर्षमा काठमाडौं महानगरपालिकाको सहयोगमा विद्यालयमा सञ्चालन हुँदै आएको बुक फ्रि फ्राइडे कार्यक्रम यो शैक्षिक सत्रदेखि सञ्चालन गर्न नसकिने झा बताउँछन् । ‘हप्तामा दुई दिन बिदा छ, विद्यालयमा पाठ्यक्रम पढाएर नै सकिँदैन,’ उनले भने, ‘बुक फ्रि फाइडे कार्यक्रम आवश्यकता हो, तर समयअभावका कारण समयोजन हुने सक्दैन ।’ 

ज्ञानोदय माध्यमिक विद्यालयकी प्रधानाध्यापक विष्णु घिमिरे रिमालले आहिलेका परिस्थितिमा बुक फ्रि फाइडे कार्यक्रम सञ्चालन गर्न नसकिने बताउँछिन् । उनी भन्छिन्, ‘विद्यालय एकदमै संवेदनशील क्षेत्र हो । गर्मी, जाडो बढ्यो भने पनि विद्यालय बन्द हुन्छ, महामारी, पानी धेरै पर्‍यो वा चाडपर्व भयो भने पनि विद्यालयमा बिदा धेरै हुन्छ, त्यसैमा आइतबार पनि विद्यालय बन्द हुने भएपछि समयमै पाठयक्रम सकिँदैन ।’ बुक फ्रि फ्राइडे आफैंमा राम्रो कार्यक्रम भएको उनले बताइन् । ‘शुक्रबार विद्यार्थीहरूले अतिरिक्त क्रियाकलाप गर्दै आएका थिए, प्रभावकारी पनि भएको थियो,’ उनले भनिन्, ‘तर समायोजन गरेर लग्नसक्ने अवस्था भएन ।’ त्यसबाहेक काठमाडौं महानगरपालिकाले नै शैक्षिक क्यालेन्डरमा राख्यो भने त्यहीअनुसार सञ्चालन गर्ने उनको भनाइ छ । 

काठमाडौं महानगरपालिकाले प्रत्येक शुक्रबार सञ्चालन गर्दै आएको बुक फ्रि फाइडे कार्यक्रम यो शैक्षिक सत्रदेखि सञ्चालन गर्न नसकिने विद्यालयका प्रधानाध्यपकहरू बताउँछन् । हप्तामा दुई दिन बिदा हुने भएपछि समयमै पाठ्यक्रम नसकिने भन्दै बुक फ्रि फाइडे कार्यक्रमलाई निरन्तरता दिन नसकिने बताएका हुन् । 

विगतका वर्षहरूमा सरदर २३२ दिन विद्यालयमा सञ्चालन हुने गरेको थियो । तर, यो वर्ष आइतबार पनि बिदा थप भएपछि १९० दिनदेखि दुई सय दिनसम्म कक्षा सञ्चालन हुने देखिन्छ । शिक्षा नियमावलीका अनुसार वर्षमा कम्तीमा २२० दिन विद्यालय अनिवार्य खोल्नुपर्नेछ । दुई दिन बिदाका कारण महानगरका अधिकांश विद्यालयमा बुक फ्रि फ्राइडे कार्यक्रम सञ्चालन हुन नसक्ने बताउँदै आएका छन् । 

महानगरका ८७ वटा सामुदायिक विद्यालयमा बुक फ्रि फ्राइडे लागू गरिएको छ । विद्यार्थीहरूले शुक्रबारको दिन किताबमा नियमित पढ्दै आएको कुरा निकै सरल तरिकाले प्रयोगमा ल्याउँदै आएका थिए । पूर्वमेयर बालेन शाहको चुनावी घोषणापत्रमा हप्तामा एक दिन सामुदायिक विद्यालयमा सीप, उद्यमशीलता, खेलकुद, संगीत, कला तथा नेतृत्व विकासका लागि प्रशिक्षण कार्यक्रमको व्यवस्था गरिने उल्लेख गरेका थिए । सोही घोषणाअनुरूप महानगरको सबै सामुदायिक विद्यालयमा ‘बुक फ्रि फ्राइडे’ कार्यक्रम सञ्चालन भएको थियो । अहिले उनकै नेतृत्वमा सरकार हुँदा उनले ल्याएको कार्यक्रम नै निरन्तरता हुने नहुने अन्योलमा छ । 

यता, काठमाडौं महानगरपालिकाका प्रवक्ता नवीन मानन्धरले भने बुक फ्रि फ्राइडे कार्यक्रमलाई निरन्तरता दिने बताउँछन् । उनले भने, ‘विद्यालय नै सञ्चालन भएका छैनन्, पहिला विद्यालय सञ्चालन होस् ।’ बुक फ्रि फ्राइडे निरन्तरताका लागि महानगरले योजना बनाएको उनले बताए । 

विद्यार्थीको करिअरलाई सहयोग गर्छ भने मात्रै बुक फ्रि फ्राइडेको महत्व हुने शिक्षाविद् विद्यानाथ कोइराला बताउँछन् । उनी भन्छन्, ‘शिक्षकले विद्यार्थीलाई शुक्रबार मात्र होइन, प्रत्येक दिन सिर्जनशील बनाउनुपर्छ ।’ बुक फ्रि फाइडेले विद्यार्थीको सिर्जनशीलता र भविष्यमा अर्थ राख्छ भने मात्रै महत्व हुने उनी बताउँछन् । 

स्कुल जान थाले विस्थापित ५२ बालबालिका 

काठमाडौं महानगरपालिकाको शिक्षा विभागले सुकुम्वासी परिवारका ५२ बालबालिकालाई विद्यालय पठाउने व्यवस्था गरेको छ । नदी किनारामा अव्यवस्थित बसोवास गरिरहेका घरटहरा खाली गराउने क्रममा थापाथली, गैरीगाउँ र सिनामंगलसहित विभिन्न स्थानबाट ल्याइएका ६६ परिवारका २०३ जना अहिले राधास्वामी सत्संग आश्रममा छन् ।  विभागले ती परिवारका ५२ जना बालबालिकालाई विद्यालय पठाउन सहजीकरण गरेको हो ।

तीमध्ये चारजनाले यस वर्ष एसइई दिएका छन् । उनीहरूले कम्प्युटर, सिलाइ बुनाइजस्ता सीप सिक्न चाहेमा तालिमको प्रबन्ध गर्ने योजना बनाएको महानगरले जनाएको छ । 

मंगलबार विद्यार्थी र अभिभावकसँग परामर्श गरेर विभागले उनीहरूलाई काठमाडौं महानगरपालिका वडा नं. १४मा रहेको जनविकास माध्यमिक विद्यालयमा पढाउन लागेको छ । आश्रमबाट विद्यालय नजिक रहेका कारण उक्त विद्यालयसँग सहजीकरण गरिएको छ । 

महानगरका प्रवक्ता नवीन मानन्धर भन्छन्, ‘सुकुम्वासीका पढ्ने उमेरका बालबालिकाको जिम्मा हामी लिन्छौं, उनीहरूको पढाइमा सहयोग गरिरहेका छौं र गर्छौं पनि ।’ शिक्षाको पहुँचमा पुग्न नसकेका, वा शिक्षाबाट वञ्चित भएका सुकुम्वासी बालबालिकाको गुनासो आएमा तत्काल सम्बोधन हुने उनले बताए ।

सम्बन्धित खबर