सरकारले अनेक आशंका, अन्योल र आरोप चिर्दै चुनावको घोषणा गरेको छ । बिहीबार दिउँसो बसेको मन्त्रिपरिषद् बैठकले आगामी ४ मंसिरमा संघ र प्रदेशसभाको चुनाव गर्ने निर्णय गरेको हो । बुधबार साँझ प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको सत्ता साझेदार दलका शीर्ष नेताहरुबीच जुटेको सहमति अनुसार चुनावको मिति सरकारले तोकेको हो । सरकारको निर्णयपछि मुलुक चुनावमा होमिएको छ । निर्वाचन आयोगले सरकारले गरेको निर्णय बमोजिम चुनाव गराउन तयार रहेको प्रतिक्रिया दिएको छ । प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले शुक्रबारबाटै चुनावको तयारी अगाडि बढ्ने बताए । मतदाता नामावली प्रकाशन, दल दर्ता, समानुपातिक तर्फको बन्दसूची निर्माण, चुनाव चिन्ह प्रदान, उम्मेद्वारी दर्ता, मतदान केन्द्र निर्धारण लगायत कार्यक्रम सार्वजनिक गर्ने थपलियाले बताएका छन् ।
सरकारको निर्णयपछि चुनावबारे छाएको अन्योल मात्रै हटेको छैन, सिंगो मुलुकको ध्यान त्यसतर्फ तानिएको छ । किनकि यसपटक पनि चुनावमा गठबन्धन बन्ने लगभग निश्चित छ । ०७४ को चुनावमा वाम गठबन्धन भएकाले यसपटक पनि त्यस्तै गठबन्धन लगभग निश्चित छ । अहिलेकै गठबन्धन कायम रहने सम्भावना बढी छ । त्यो भनेको नेकपा एमालेविरुद्ध बाँकी दलहरुको गठबन्धन हो । अघिल्लो चुनावमा कांग्रेसविरुद्ध गठबन्धन भएको थियो । यसपटक नयाँ समीकरण बन्ने लगभग निश्चित छ । तर राजनीतिमा असम्भव केही हुन्न । त्यो भनेको फेरि ०७४ कै गठबन्धन बन्ने सम्भावना पनि उत्तिकै छ । नेताहरुको सक्रियता त्यसतर्फ पनि चलिरहेकै छ ।
तर चुनाव हुनु आफैमा लोकतान्त्रिक प्रक्रिया हो । लोकतन्त्रमा नियमित निर्वाचन सामान्य र आधारभूत कुरा हो । तर हाम्रो विगत भने सधैं अस्थीरताबाट गुज्रिएर आएको छ । त्यसैले चुनाव भन्नसाथ अलिक बढी विशेष सम्झने गरिएको छ । यो जनादेशका रुपमा भने विशेष रुपमै लिनुपर्छ । तर मर्यादा भन्दा बाहिर जाने, खर्चिलो बनाएर चुनावप्रतिकै विश्वास कमजोर बनाउने कार्य रोकिनुपर्छ । चुनावमा मतदाताले विवेकले भन्दा पनि अनेक परिबन्धमा परेर मत दिन्छन् भन्ने बुझाइ बढ्दो छ । त्यसलाई चिरेर संसदीय अभ्यास र लोकतन्त्रमा चुनाव नियमित प्रक्रिया मात्रै भएको बुझाइ विकास गराउन जरुरी छ । अर्कातिर, चुनाव संविधान कार्यान्वयनको पनि मुख्य विषय भएको रुपमा पनि बुझ्नु र बुझाउन आवश्यक छ ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies