२०८३ असोज २१ गते बुधवार / Oct 07 , 2026 , Wednesday
२०८३ असोज २१ गते बुधवार

​विद्यालय तहबाटै बालअन्धोपन न्यूनीकरणको प्रयास : शिक्षकहरूका लागि आँखा स्वास्थ्य सचेतना तालिम

Nada
सत्येन्द्र प्रताप सिंह
२०८३ वैशाख २३ गते २२:०१
Shares
​विद्यालय तहबाटै बालअन्धोपन न्यूनीकरणको प्रयास : शिक्षकहरूका लागि आँखा स्वास्थ्य सचेतना तालिम

रौतहट : ​सर्लाहीको बरहथवा नगरपालिकामा विद्यालय तहका बालबालिकाहरूको आँखा स्वास्थ्यलाई मध्यनजर गर्दै एक विशेष सचेतना कार्यक्रम आयोजना गरिएको छ । बरहथवा नगरपालिका वडा नं. १० सितापुरमा आयोजित उक्त तालिममा स्थानीय निजी सामुदायिक तथा मदरसा विद्यालयका गरी कुल ४१ जना शिक्षक–शिक्षिकाहरूको उत्साहजनक सहभागिता रहेको थियो ।

ncell

​नेपाल सरकार स्वास्थ्य तथा जनसंख्या मंन्त्रालयको आर्थिक सहयोगमा सञ्चालित यस कार्यक्रमको आयोजना नेपाल नेत्र ज्योति संघ अन्तर्गतको गौर आँखा अस्पतालद्वारा सञ्चालित आँखा उपचार केन्द्र बरहथवाले गरेको हो । पछिल्लो समय बालबालिकाहरूमा बढ्दै गएको मोबाइलको अत्यधिक प्रयोग र खानपानका कारण देखिने दृष्टि समस्यालाई समयमै पहिचान गर्ने उद्देश्यले यो तालिम प्रदान गरिएको आयोजकले जनाए ।

​तालिममा वरिष्ठ प्रशिक्षकहरू शिव कुमार यादव, राजीव यादव र सत्येन्द्र पाण्डेयले सहजीकरण गरेका थिए । प्रशिक्षणका क्रममा उनीहरूले आँखामा लाग्ने विभिन्न रोगहरू, अन्धोपनका कारणहरू र विशेषगरी बालअन्धोपन न्यूनीकरणका प्राविधिक तथा व्यवहारिक उपायहरूबारे विस्तृत जानकारी दिएका थिए ।

​प्रशिक्षकहरूले विद्यालयमा बालबालिकाहरूले अक्षर पढ्न गाह्रो मान्नु, आँखा मिचिरहनु वा टाउको दुख्ने गुनासो गर्नु दृष्टि दोषको लक्षण हुन सक्ने भन्दै शिक्षकहरूलाई सतर्क रहन आग्रह गरे ।

​कार्यक्रममा आँखा स्वास्थ्यलाई शिक्षासँग जोड्नुपर्ने आवश्यकता औंल्याउँदै बालबालिकालाई विद्यालय भर्ना गर्नुअघि अनिवार्य आँखा निरोगिता प्रमाणपत्र लागू गर्नुपर्ने कानुनी व्यवस्थालाई व्यवहारमा कडाइका साथ कार्यान्वयन गर्न जोड दिइएको थियो। विद्यालय तहबाटै आँखाको नियमित परीक्षण गर्ने परिपाटी बसाल्न सके भविष्यमा हुने अन्धोपनको जोखिमलाई निकै कम गर्न सकिने सहभागी शिक्षकहरूको निष्कर्ष थियो ।

​अन्धोपन तथा बालअन्धोपन न्यूनीकरण—हाम्रो कर्तव्य, हाम्रो जिम्मेवारी भन्ने मूल नाराका साथ सम्पन्न यस कार्यक्रमले समुदायस्तरमा सकारात्मक प्रभाव पार्ने विश्वास लिइएको छ। आँखा सेवामा सबै पक्षको साझेदारी अपरिहार्य रहेको र समयमै गरिएको सचेतना तथा उपचारले नै अन्धोपनबाट समाजलाई जोगाउन सकिने सन्देश प्रवाह गर्दै तालिम समापन गरिएको थियो।

​यस किसिमका कार्यक्रमले ग्रामीण भेगका बालबालिकाहरु जो उपचारको पहुँचबाट टाढा छन्, उनीहरूको दृष्टि बचाउन कोशेढुङ्गा सावित हुने अपेक्षा गरिएको छ।

सम्बन्धित खबर