२०८३ असोज २१ गते बुधवार / Oct 07 , 2026 , Wednesday
२०८३ असोज २१ गते बुधवार

गौर आँखा अस्पताल जाने मुख्य सडक जलमग्न, बिरामी र स्थानीयलाई सास्ती

Nada
सत्येन्द्र प्रताप सिंह
२०८३ वैशाख २४ गते ११:२७
Shares
गौर आँखा अस्पताल जाने मुख्य सडक जलमग्न, बिरामी र स्थानीयलाई सास्ती

रौतहट : मधेश प्रदेशको पुरानो तथा ऐतिहासिक सहर गौरको वडा नं. ८ पुरेनवामा रहेको गौर आँखा अस्पताल जाने मुख्य बाटो बर्खा नलाग्दै जलमग्न बनेपछि स्थानीय र बिरामीहरूले चरम सास्ती भोग्नुपरेको छ ।

ncell

​ऐतिहासिक पुरेनवा दरबार र गौर आँखा अस्पताललाई जोड्ने अस्पतालको मूल ढोका अगाडिको सडकमा सामान्य वर्षा हुँदा पनि ठूलो परिमाणमा पानी जम्ने गरेको छ । सडकको उचित निकास र ढलको व्यवस्था नहुँदा आकाशे पानी सडकमै थुप्रिएर पोखरीको रूप लिने गरेको हो ।

​नेपालकै प्रतिष्ठित आँखा उपचार केन्द्रमध्येको एक गौर आँखा अस्पतालमा दैनिक सयौँको संख्यामा बिरामीहरू उपचारका लागि आउने गर्दछन् । आँखाको समस्या भएका र शल्यक्रिया गराएका वृद्धवृद्धा तथा बिरामीहरूका लागि हिलो र पानीले भरिएको यो बाटो हिँड्नु निकै कष्टकर र जोखिमपूर्ण बनेको छ ।

अस्पतालको मुख्य प्रवेशद्वारमै पानी जमेर आहाल बनेपछि एम्बुलेन्स, रिक्सा र अन्य सवारी साधनहरूलाई समेत कार्यालय र अस्पताल परिसरभित्र छिर्न निकै कठिन हुने गरेको स्थानीयहरू बताउँछन् ।

पुरेनवा दरबार जस्तो ऐतिहासिक धरोहर र संवेदनशील स्वास्थ्य संस्थालाई जोड्ने यो बाटोको यस्तो बिजोग हुनु दुखद भएको स्थानीय बासिन्दाहरूको गुनासो छ । वर्षौंदेखि यो समस्या जस्ताको तस्तै रहे पनि सम्बन्धित निकायले ध्यान नदिएको भन्दै उनीहरू आक्रोशित बनेका छन् ।

सामान्य पानी पर्दा पनि यहाँ पोखरी जम्छ । बिरामीहरू लड्ने र भिज्ने अवस्था छ, एक स्थानीयले भने सम्बन्धित निकायलाई पटक-पटक आग्रह गर्दा पनि समस्या समाधानको पहल भएको छैन ।

बाटोमा जमेको पानीले जनजीवन प्रभावित पारेपछि पुरेनवाका स्थानीयहरूले सडक मर्मत र पानी निकासको स्थायी व्यवस्था मिलाउन गौर नगरपालिका तथा जिल्ला प्रशासन लगायतका सम्बन्धित निकायहरूसँग जोडदार माग गरेका छन् ।

बर्खायाम सुरु हुनै लाग्दा अहिलेको यो अवस्थाले भविष्यमा झन् ठूलो समस्या निम्त्याउने भन्दै तत्काल नाला निर्माण र सडक स्तरोन्नति गर्न स्थानीयको दबाब छ । अस्पताल जस्तो संवेदनशील क्षेत्रमा जाने बाटोलाई उच्च प्राथमिकतामा राखेर ढल निकासको व्यवस्था गर्नुपर्ने उनीहरूको तर्क छ ।

सम्बन्धित खबर