काठमाडौं : सत्तारुढ पाँच दलीय गठबन्धन आसन्न प्रदेश र संघीय चुनावमा पनि एक भएर जाने भएका छन । सरकारले बिहीबार ४ मंसिरमा प्रदेश र प्रतिनिधि सभा निर्वाचन गर्ने मिति घोषणा गरेको थियो । भोलिपल्ट शुक्रबार नै सत्ता गठबन्धनमा रहेका दलका शीर्ष नेताहरु बसेर गठबन्धन गर्ने ओपचारिक निर्णय लिएका हुन् ।
योसँगै स्थानीय तहको चुनावमा तालमेल गरेका कांग्रेस, माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जसपा र राष्ट्रिय जनमोर्चाले आम चुनावमा पनि गठबन्धन गर्ने पक्का भएको छ । यो सँगै गठबन्धन सिट बाँडफाँडमा केन्द्रीत भएको छ । यसका लागि कार्यदल नै गठन गरेर नेताहरु अघि बढेका छन । कार्यदलका ११ जना सदस्य छन ।
कांग्रेसबाट कृष्णप्रसाद सिटौला, महामन्त्री गगनकुमार थापा र ज्ञानेन्द्रबहादुर कार्की छन् भने माओवादी केन्द्रबाट वर्षमान पुन र जर्नादन शर्मा छन् । नेकपा (एकीकृत समाजवादी)बाट उपाध्यक्ष प्रमेश हमाल र महासचिव बेदुराम भुसाल, जनता समाजवादी पार्टीबाट रामसहाय यादव, रकम चेम्जोङ र राष्ट्रिय जनमोर्चाबाट हिमलाल पुरी र आनन्द शर्मा सदस्य छन् । कार्यदललाई कुन दलले कति सिट लिने भनेर साउन अन्तिमसातासम्म सिफारिस गर्न भनिएको छ ।
प्रधानमन्त्री निवास बालुवाटारमा बसेको गठबन्धनको बैठकपछि कांग्रेस नेता ज्ञानेन्द्रबहादुर कार्कीले तालमेलको गृहकार्य सुरु भएको बताए । ‘तालमेलका निम्ति बैठकहरु बस्छ, छलफल हुन्छ । यसलाई व्यवस्थित र न्यायपूर्ण गर्ने सहमति भएको छ ।’
पाँच दल एक भएर चुनावमा जाने निर्णयमा पुगिसक्दा नेकपा एमालेको औपचारिक केही आएको छैन । बरु एमाले नेताहरु गठबन्धन विरुद्ध कसरी लड्ने भनेर रणनीति बनाउँदै छन ।
नेताहरुका अनुसार नागरिकलाई फरक फरक बिचारको तालमेल गलत हो भनेर भोट तान्ने एमालेको प्रयास हुनेछ । यही कुरा एमालेका नेता डा.भीम रावलले बताएका छन । विपरीत सिद्धान्त हुँदाहुँदै गठबन्धनका दलहरुले आगामी निर्वाचनमा तालमेल गर्नु संविधान विपरीत हुने उनको भनाइ छ ।
काठमाडौंमा आयोजित एक अन्तरक्रियामा बोल्दै नेता रावलले भने, ‘पाँचदलीय गठबन्धनका बैठकहरु हेर्दा ती राजनीतिक दलहरुले विपरीत सिद्धान्त हुँदा हुँदै पनि तालमेल गर्ने कुरा अगाडि सारेको छ । यसरी आम निर्वाचनमा विपरित सिद्धान्त भएका राजनीतिक दलहरुले तालमेल गर्ने कुरा यो नेपालको संविधानको धारा २६९ को विरुद्धमा छ ।’
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies