
काठमाडौं : सवारीसाधन चलाउने क्रममा सामान्य गल्तीमा पनि ट्राफिक प्रहरीले सिधै कारबाही गर्ने गरेको भन्दै चालकहरूले गुनासो गर्ने गरेका छन् । आइतबार काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयमा ट्राफिक नियम उल्लंघनको जरिवाना बुझाउन चालकहरूको भिड लागेको थियो ।
‘सामान्य रूपमा लेन क्रस गर्दा झुक्किएको थिएँ, ट्राफिक प्रहरीले सिधै लाइसेन्स मागेर कार्यालयमा आउन भन्नुभयो,’ जरिवाना बुझाउन पुगेका मोटरसाइकल चालक पवन कार्कीले भने, ‘ट्राफिक लाइट क्रस गरेको एक सेकेन्डमै रसिद काटिहाल्नुभयो ।’
चालकहरूको भनाइमा ट्राफिक प्रहरीले सामान्य गल्तीमा सचेत गराउने वा नियम सम्झाउनेभन्दा पनि चिट काट्नमै बढी जोड दिएको छ ।
उपत्यकामा मात्रै पछिल्लो २४ घण्टामा १ हजार ८५४ चालक ट्राफिक नियम उल्लंघनमा कारबाहीमा परेका छन् । यसबाट ४ लाख ४८ हजार रुपैयाँ राजस्व संकलन भएको काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले जनाएको छ ।
कार्यालयका अनुसार मादकपदार्थ सेवन गरेका १२५, नियमविपरीत ‘राइड सेयरिङ’ गरेका १६६, ट्राफिक संकेत उल्लंघन गर्ने १७९ तथा तीव्र गतिमा सवारी चलाउने १७१ जनामाथि कारबाही गरिएको छ । त्यसैगरी लेन अनुशासन पालना नगर्ने २७, निषेधित क्षेत्रमा हर्न बजाउने १०४, सडक पेटीमा पार्किङ गर्ने ६६, एकतर्फी सडकमा सवारी चलाउने ११२ र अन्य नियम उल्लंघन गर्ने १ हजार ९०४ जनालाई कारबाही गरिएको छ ।
यो त एक दिनको कारबाही मात्र हो । पछिल्लो समय ट्राफिक प्रहरीले नियम उल्लंघनमा कडाइ गरे पनि सचेतना अभिवृद्धिमा भने अपेक्षाकृत कम ध्यान दिएको आरोप लाग्ने गरेको छ ।
ट्राफिक प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी उपरीक्षक नरेशराज सुवेदीका अनुसार चालु आर्थिक वर्षमा ३ लाख ७३ हजार ५६२ चालक कारबाहीमा परेका छन् । यसबाट २६ करोड १९ लाख रुपैयाँभन्दा बढी राजस्व संकलन भएको उनले जानकारी दिए ।
उनका अनुसार सबैभन्दा बढी कारबाही निषेधित क्षेत्रमा गाडी मोड्ने ३७ हजार ४७२, रातो बत्ती उल्लंघन गर्ने २८ हजार ३०८, लेन अनुशासन उल्लंघन गर्ने २३ हजार ९८४, तीव्र गतिमा सवारी चलाउने २३ हजार ७७२ तथा मापसे गर्ने २३ हजार ४८ जनामाथि गरिएको छ । ई–चलान प्रणालीमार्फत मात्रै ४ करोड २८ लाख रुपैयाँभन्दा बढी राजस्व संकलन भएको उनले बताए ।
जरिवाना नतिर्ने २ लाख ६१ हजार चालकको विवरण थप कारबाहीका लागि यातायात व्यवस्था विभागमा पठाइएको पनि उनले जानकारी दिए । उनका अनुसार १८ करोड रुपैयाँभन्दा बढी जरिवाना रकम अझै उठ्न बाँकी छ ।
सुवेदीका अनुसार पछिल्लो समय तोकिएकोभन्दा बढी भाडा असुल्ने प्रवृत्ति बढेपछि निगरानी तथा कारबाही तीव्र पारिएको छ । पुराना तथा प्रदूषण फैलाउने सवारीसाधनमाथि यान्त्रिक परीक्षण र प्रदूषण जाँचसमेत कडाइ गरिएको उनले बताए ।
ट्राफिक प्रहरीसँग विवाद गरेकै आधारमा थप जरिवाना गर्ने कानुनी व्यवस्था नभएको सुवेदीको भनाइ छ । ‘हामी जरिवानामै केन्द्रित छैनौं, हाम्रो मुख्य उद्देश्य सचेतना अभिवृद्धि गर्नु र सवारी दुर्घटना न्यूनीकरण गर्नु हो,’ उनले भने ।
उनका अनुसार ट्राफिक प्रहरीले स्वयंसेवक परिचालन, रात्रिकालीन अभियान, विद्यालय–कलेजमा कार्यक्रम तथा सडकमै चालकलाई सचेत गराउने अभियान सञ्चालन गर्दै आएको छ ।
‘सचेतनासँगै नियम उल्लंघन गर्ने चालक कानुनको दायरामा आउनुपर्छ र सुधारिनुपर्छ,’ उनले भने, ‘सवारी तथा यातायात व्यवस्था ऐन २०४९ को दफा १६४ अनुसार पहिलोपटक ५ सय, दोस्रोपटक १ हजार र तेस्रो पटक १ हजार ५ सय रुपैयाँसम्म जरिवाना गर्न सकिने व्यवस्था छ ।’
९ महिनामा दुर्घटनाबाट १७४ जनाको मृत्यु
चालु आर्थिक वर्षको पछिल्ला नौ महिनामा काठमाडौं उपत्यकामा सवारी दुर्घटनाबाट १७४ जनाको मृत्यु भएको छ । ट्राफिक प्रहरीको तथ्यांकअनुसार यस अवधिमा ४ हजार ६३१ दुर्घटना दर्ता भएका छन् । दुर्घटनामा १८६ जना गम्भीर घाइते भएका छन् भने ४ हजार ९२७ जना सामान्य घाइते भएका छन् ।
ट्राफिक प्रहरी कार्यालयका प्रमुख एसएसपी नवराज अधिकारीका अनुसार मृत्यु हुनेमध्ये ७ जना १६ वर्षभन्दा कम उमेरका थिए । १६ देखि ३५ वर्ष उमेर समूहका ८६ तथा ३६ वर्षभन्दा माथिका ८१ जनाको मृत्यु भएको तथ्यांक छ ।
यसले सडक सुरक्षा, चालक अनुशासन र ट्राफिक व्यवस्थापनलाई अझ प्रभावकारी बनाउनुपर्ने आवश्यकता औंल्याएको सम्बन्धित निकायको निष्कर्ष छ ।
पाँचपटकभन्दा बढी कारबाही परे लाइसेन्स निलम्बन
काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले एउटै कसुरमा पाँचपटकभन्दा बढी कारबाहीमा पर्ने चालकको सवारीचालक अनुमतिपत्र (लाइसेन्स) निलम्बन गर्ने तयारी गरेको छ ।
एसएसपी नवराज अधिकारीका अनुसार बारम्बार नियम उल्लंघन गर्ने चालकको लाइसेन्स निलम्बन प्रक्रिया अघि बढाइसकिएको छ । हालसम्म ३१ चालकको लाइसेन्स निलम्बनका लागि यातायात व्यवस्था विभागमा सिफारिस गरिएको छ । प्रारम्भिक चरणमा उनीहरूको लाइसेन्स ६ महिनाका लागि निलम्बन गर्न प्रस्ताव गरिएको उनले बताए ।
डिजिटल प्रविधिबाट ट्राफिक व्यवस्थापन
काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले डिजिटल प्रविधिमार्फत ट्राफिक व्यवस्थापनलाई प्रभावकारी बनाउने तयारी गरिरहेको जनाएको छ ।
कार्यालयले ‘फेसलेस ट्राफिक म्यानेजमेन्ट सिस्टम’ परीक्षणका रूपमा थापाथली क्षेत्रमा लागू गरिसकेको छ । सार्वजनिक बिदाका दिन सिसिटिभी निगरानीमार्फत नियम उल्लंघन गर्ने सवारीमाथि कारबाही भइरहेको एसएसपी अधिकारीले जानकारी दिए ।
उनका अनुसार ट्राफिक नियम उल्लंघन, मापसे, तीव्र गति तथा लेन अनुशासन उल्लंघनविरुद्ध कडा निगरानी भइरहेको छ । सार्वजनिक यातायातमा सिसिटिभी, ड्यास क्यामेरा र जिपिएस अनिवार्य गरिएको छ भने ती उपकरण नराख्ने सवारीलाई सञ्चालन अनुमति नदिने तयारी गरिएको छ ।
राइड सेयरिङ सेवामा प्रयोग हुने मोटरसाइकलमा समेत एसओएस बटन र क्यामेरा अनिवार्य बनाउने तयारी भइरहेको उनले बताए ।