२०८३ असोज २० गते मङ्गलवार / Oct 06 , 2026 , Tuesday
२०८३ असोज २० गते मङ्गलवार

चोरीको मोटरसाइकलले पैदलयात्रीलाई दियो ठक्कर

Nada
सत्येन्द्र प्रताप सिंह
२०८३ वैशाख २७ गते २१:३९
Shares
चोरीको मोटरसाइकलले पैदलयात्रीलाई दियो ठक्कर

रौतहट : रौतहटको मौलापुरमा पैदल यात्रीलाई ठक्कर दिइ गम्भीर घाइते बनाएर फरार भएका एक युवकलाई प्रहरीले पक्राउ गरेको छ । चोरीको मोटरसाइकल लिएर भाग्ने क्रममा दुर्घटना गराएका बाराका २३ वर्षीय जावीर अंन्सारीलाई प्रहरीले तीन दिनको खोजीपश्चात नियन्त्रणमा लिएको हो । 

ncell

गत वैशाख २२ गते बिहान करिब ११ः४० बजेको समयमा रौतहटको मौलापुर नगरपालिका वडा नं. ५ स्थित आईटी चोकमा हर्नैयातर्फबाट मौलापुर आउँदै गरेको मधेश प्रदेश–०३–०२७ प ७५७५ नम्बरको मोटरसाइकलले पैदल हिँडिरहेकी स्थानीय २० वर्षीया सुनिता कुमारीलाई ठक्कर दिएको थियो । 

ठक्करबाट सुनिता कुमारी गम्भीर घाइते भएकी थिइन्। दुर्घटना लगत्तै चालक मोटरसाइकल घटनास्थलमै छाडेर फरार भएका थिए ।

जिल्ला प्रहरी कार्यालय रौतहटले दुर्घटनास्थलमा छाडिएको मोटरसाइकलका सम्बन्धमा अनुसन्धान गर्दा उक्त सवारी पर्साको वीरगंज महानगरपालिका वडा नं. १६ नगवा निवासी ३१ वर्षीय रमेश कुमार पटेलको रहेको खुलेको थियो । सवारी धनीसँग सम्पर्क गर्दा उक्त मोटरसाइकल सोही दिन बिहान ८ः०० बजे वीरगंजको नगवा चोकबाट चोरी भएको र त्यसका लागि जिल्ला प्रहरी कार्यालय पर्सा तथा प्रहरी चौकी नगवामा उजुरीसमेत दर्ता भइसकेको पाइएको थियो ।

पर्साबाट मोटरसाइकल चोरी गरेर रौतहटको बाटो हुँदै भाग्ने क्रममा अन्सारीले पैदल यात्रीलाई ठक्कर दिएको प्रहरीको निष्कर्ष छ । फरार अभियुक्तको खोजीका लागि जिल्ला प्रहरी कार्यालय रौतहटले सम्भावित नाका र बाटोहरू पहिचान गरी प्राविधिक विश्लेषण र हुलियाका आधारमा टोली परिचालन गरेको थियो । प्रहरीको निरन्तर प्रयासपछि वैशाख २५ गते रौतहटको बौधीमाई नगरपालिका वडा नं.८ स्थित बंकुल नहर चोकबाट बाराको सिम्रौनगढ नगरपालिका वडा नं. ३ बस्ने जावीर अन्सारीलाई पक्राउ गरिएको हो ।

पक्राउ परेका अन्सारीविरुद्ध सवारी अंगभंग र चोरी मुद्दामा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय रौतहटका सूचना अधिकारी एवं प्रहरी नायव उपरीक्षक बिष्णु प्रदीप बस्यालले जानकारी दिए ।

घाइते सुनिता कुमारीको उपचार भइरहेको र मोटरसाइकल चोरी तथा दुर्घटनाका विषयमा थप तथ्यहरू संकलन गर्ने काम भइरहेको प्रहरीले जनाए ।

सम्बन्धित खबर