
लिस्बन : नेपाल पत्रकार महासंघकी अध्यक्ष निर्मला शर्माले मिडिया बलियो भए मात्रै लोकतन्त्र बलियो हुने बताएकी छन् । शनिबार नेपाल पत्रकार महासंघ युरोप शाखाले पोर्चुगलको राजधानी लिस्बनमा आयोजना गरेको भेटघाट तथा अन्तर्क्रिया कार्यक्रममा बोल्दै अध्यक्ष शर्माले मिडिया बलियो नभए लोकतन्त्र बलियो नहुने धारणा व्यक्त गरिन् ।
उनले राजनीतिक परिवर्तन भएर दुईतिहाइको सरकार आए पनि मिडियामाथि असहयोग भइरहेको बताइन् । सरकारी सञ्चारमाध्यमलाई मात्रै विज्ञापन दिने सरकारको निर्णयप्रति आपत्ति जनाउँदै उनले उक्त निर्णयविरुद्ध महासंघ आन्दोलनरत रहेको बताइन् ।
अन्तर्राष्ट्रिय पत्रकार महासंघ (आइएफजे) को पेरिसमा सम्पन्न विश्व सम्मेलनमा नेपाल पत्रकार महासंघले विज्ञापनसम्बन्धी विभेदकारी निर्णय तत्काल फिर्ता लिनुपर्ने प्रस्ताव पेस गरेको र उक्त प्रस्ताव सम्मेलनले संकल्पका रूपमा पारित गर्दै विज्ञापनसम्बन्धी विभेदकारी निर्णय तत्काल फिर्ता लिन आग्रह गरेको उनले बताइन् । अध्यक्ष शर्माले प्रेस पूर्ण स्वतन्त्र हुनुपर्ने बताउँदै सरकारले मिडियामाथि अंकुश लगाउन नहुने धारणा व्यक्त गरिन् ।
अध्यक्ष शर्माले कृत्रिम बुद्धिमत्ता (एआई)को प्रभावका कारण पत्रकारितामा चुनौती थपिएको उल्लेख गर्दै सामाजिक सञ्जालमार्फत ‘कन्टेन्ट’का नाममा भ्रम फैलाउने प्रवृत्तिले पत्रकारितामा असर पारेको धारणा राखिन् ।
सामाजिक सञ्जाललाई नियन्त्रण नभई नियमन गर्नुपर्ने आवश्यकता औंल्याउँदै उनले सूचना तथा समाचारको सत्यतथ्य परीक्षण गरेर मात्रै समाचार सम्प्रेषण गर्नुपर्नेमा जोड दिइन् । पत्रकार र सञ्चारमाध्यम पनि उत्तरदायी र जिम्मेवार हुनुपर्ने उनको भनाइ थियो ।
अध्यक्ष शर्माले प्रवासी नेपाली समुदायका गतिविधि, समस्यालगायत विषयमा जानकारीमूलक तथा सूचनामूलक समाचार प्रवाह गर्न र पत्रकारितामार्फत समाजमा योगदान गर्न युरोपमा क्रियाशील नेपाली पत्रकारहरूलाई आग्रह समेत गरिन् ।
कार्यक्रममा सहभागी पत्रकारहरूले युरोपमा नेपाली पत्रकारिताको अवस्था, चुनौती, अवसर तथा संस्थागत सहकार्यका विषयमा आफ्ना धारणा राखेका थिए । सहभागीहरूले प्रवासमा पत्रकारितालाई प्रभावकारी बनाउन केन्द्र र शाखाबीच समन्वय र सहकार्य आवश्यक रहेको उल्लेख गर्दै पत्रकारितालाई मर्यादित र जिम्मेवार बनाउन संस्थागत सहकार्यमा जोड दिएका थिए ।