
रौतहट : मधेश प्रदेशको स्वास्थ्य क्षेत्रका समस्या उजागर गर्दै आएका दुई महिला पत्रकार सम्मानित भएका छन् । रौतहटको गौरमा सोमबार आयोजित कार्यक्रममा धनुषाकी पत्रकार चाँदनी झा र बाराकी पत्रकार शारदा पोखरेल लाई ‘रामा यादव स्मृति पत्रकारिता पुरस्कार’ प्रदान गरिएको हो ।
रामा यादव स्मृति प्रतिष्ठान द्वारा आयोजित कार्यक्रममा प्रेस काउन्सिल नेपालका कार्यवाहक अध्यक्ष सुरेश यादवले दुवै पत्रकारलाई जनही २६ हजार रुपैयाँ नगदसहित प्रशंसापत्र प्रदान गरे ।
चाँदनी झाले स्वास्थ्य सेवा, सरकारी अस्पतालको अवस्था र ग्रामीण क्षेत्रमा स्वास्थ्य पहुँचका विषयमा निरन्तर रिपोर्टिङ गर्दै आएकी छन् । यस्तै, शारदा पोखरेलले स्वास्थ्य, श्रमजीवी पत्रकारको हकहित र सामाजिक न्यायका विषयमा खोजमूलक पत्रकारिता गर्दै आएको कार्यक्रममा उल्लेख गरिएको थियो ।
कार्यक्रममा बोल्दै काउन्सिलका कार्यवाहक अध्यक्ष यादवले पत्रकारिता क्षेत्रमा चुनौती बढ्दै गएको उल्लेख गर्दै महिला पत्रकारलाई थप प्रोत्साहन आवश्यक रहेको बताए ।

उनले महिला पत्रकारहरूलाई यो क्षेत्रमा टिकिरहन र अघि बढ्न प्रोत्साहन आवश्यक रहेको बताए । उनीहरूमाथि हुने कुनै पनि किसिमको भेदभाव अन्त्य गर्न समाज र राज्यका सबै पक्ष सचेत हुनुपर्ने उनले बताए ।
रामा यादव स्मृति प्रतिष्ठानकी अध्यक्ष अनु यादवको सभापतित्वमा सम्पन्न उक्त गरिमामय कार्यक्रममा विशिष्ट अतिथिका रूपमा जिल्ला समन्वय समितिका सभापति राम अयोद्धा राय यादव, रौतहटका प्रमुख जिल्ला अधिकारी दिनेश सागर भुसाल,राष्ट्रिय अनुसन्धान प्रमुख कुमार बुढाथोकी, सशस्त्र प्रहरी उपरीक्षक रामहरि अधिकारी, तथा प्रमुख सेनानी विश्वास विष्टलगायतको उपस्थिति रहेको थियो ।
कार्यक्रममा नेपाल पत्रकार महासंघ रौतहटका अध्यक्ष सञ्जय कार्कीसहित जिल्लाका झन्डै ५० जनाभन्दा बढी सञ्चारकर्मीहरूको सहभागिता थियो । सो अवसरमा प्रतिष्ठानले आगामी वर्ष २०८३ का लागि समेत पुरस्कारको कार्ययोजना सार्वजनिक गर्दै पत्रकारिताको माध्यमबाट समाज सुधारमा लाग्नेहरूलाई निरन्तर हौसला प्रदान गर्ने प्रतिबद्धता व्यक्त गरेको छ ।
