२०८३ असोज २० गते मङ्गलवार / Oct 06 , 2026 , Tuesday
२०८३ असोज २० गते मङ्गलवार

२९ दिनमै एसइई नतिजा

Nada
सपना बोहरा
२०८३ वैशाख २९ गते ०६:३५
Shares
२९ दिनमै एसइई नतिजा

काठमाडौं : एसइई परीक्षाको नतिजा तीन महिनासम्म प्रतीक्षा गर्नुपर्ने वर्षौंदेखिको अवस्था यसपटक अन्त्य भएको छ । सरकारले यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसइई)को नतिजा एक महिनाभित्रै सार्वजनिक गरेर इतिहास रचेको हो । गत चैत २९ गते सकिएको परीक्षाको नतिजा एक महिनाभित्रै सार्वजनिक गर्ने सरकारले यसअघि घोषणा गरेको थियो ।

ncell

त्यहीअनुसार ठिक एक महिनाभित्र नै नतिजा प्रकाशन गरेको हो । नतिजाअनुसार ६५.९८ विद्यार्थी उत्तीर्ण भएका छन् । परीक्षा नियन्त्रण कार्यालयका अनुसार ६५.९८ उत्तीर्ण (ग्रेडेड) भएका छन् । अघिल्लो वर्षको तुलनामा उत्तीर्ण प्रतिशत बढेको छ । अघिल्लो वर्ष ६१.८१ प्रतिशत ग्रेडेड भएका थिए । यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसइई) परीक्षामा सबैभन्दा बढी जिपिए (३.६० देखि ४.००) ल्याउने विद्यार्थीको संख्या ४८ हजार ३९२ रहेको छ ।

बोर्डले सोमबार प्रकाशन गरेको नतिजाअनुसार, ४ लाख ३० हजार ६६७ विद्यार्थीमध्ये ४८ हजारभन्दा बढीले सबैभन्दा बढी जिपिए ल्याएका हुन् ।

यसवर्ष एसइई परीक्षामा ५ लाख १२ हजार ४२१ जना विद्यार्थीले फारम भरेका थिए, जसमा दुई लाख ५७ हजार ६१३ छात्रा र दुई लाख ५४ हजार ८०१ छात्र छन् । यसवर्ष एसइई परीक्षामा ५ लाख १२ हजार ४२१ जना विद्यार्थीले फारम भरेका थिए । नियमिततर्फ चार लाख ४१ हजार ५६६ जनाले र ग्रेड वृद्धितर्फ ७० हजार ८५५ जनाले परीक्षाका लागि फारम भरेका थिए । जसमा दुई लाख ५७ हजार ६१३ छात्रा, दुई लाख ५४ हजार ८०१ छात्र र अन्य सातजना परीक्षामा सहभागी भएका थिए । 

राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालयले २०८१मा भएको एसइई परीक्षा नतिजाकोे तीन महिनापछि प्रकाशन गरेको थियो । जसमा ६१.८१ प्रतिशत ग्रेडेड भएका थिए । 

त्यस्तै, नियमित परीक्षामा सहभागी भएका ४ लाख ३८ हजार ८९६ परीक्षार्थीमध्ये ३.६ देखि ४ जिपिए ४८ हजार १७७, ३.२ देखि ३.६ जिपिएसम्म ८१ हजार ३५५, २.८ देखि ३.२ जिपिएसम्म ९९ हजार १२४ जना, २.४ देखि २.८ जिपिएसम्म ४८ हजार ४७९, २ देखि २.४ सम्म ल्याउने ४ हजार १२६ जना, १.६ देखि २ जिपिएसम्म ल्याउने आठजना छन् ।

बोर्डका अनुसार १२६ जना परीक्षार्थीको परीक्षा भने रद्द भएको छ । अवर्गीकृत परीक्षार्थीको संख्या भने १ लाख ६७ हजार ५९७ रहेको छ ।

परीक्षामा नियमिततर्फ ४ लाख ३१ हजार ४६६ र ग्रेड वृद्धितर्फ ६७ हजार ७१५ गरी जम्मा ४ लाख ९९ हजार १८३ विद्यार्थी सहभागी भएका थिए ।

विगतमा उत्तरपुस्तिका परीक्षण, अंक प्रविष्टि, प्रमाणीकरण र प्राविधिक प्रक्रियामा ढिलाइ हुँदा एसइईको नतिजा सार्वजनिक हुन झन्डै तीन महिना लाग्ने गरेको थियो । तर, यसपटक परीक्षा नियन्त्रण कार्यालयले भने परीक्षा सकिएको २९ दिनमै नतिजा सार्वजनिक गर्ने सरकारी तयारीलाई शिक्षा प्रशासनको छिटो र डिजिटल सुधारका रूपमा ल्याएको छ । एसइई परीक्षा गत चैत १९ देखि २९ गतेसम्म सञ्चालन भएको थियो र यसपटक उत्तरपुस्तिका परीक्षा केन्द्रमै परीक्षण गरिएको थियो ।

परीक्षा नियन्त्रण कार्यालयका परीक्षा नियन्त्रक टुकराज अधिकारीले उत्तरपुस्तिका परीक्षणका लागि आवश्यक जनशक्ति व्यवस्थापन, डिजिटल अंक प्रविष्टि प्रणाली र समयसीमा तोकेर गरिएको कामका कारण छाटो समयमा नतिजा सार्वजनिक गर्न सम्भव भएको बताउँछन् । 

‘सरकारले तोकेको नीति निर्देशन र समय अवधीका कारण नतिजा प्रकाशन गर्न सम्भव भएको हो,’ नियन्त्रक अधिकारीले भने, ‘परीक्षा सकिएलगत्तै बोर्डले उत्तरपुस्तिका संकलन र परीक्षणलाई प्राथमिकतामा राखेको थियो ।’

सरकारको यो तयारीले विद्यार्थी र अभिभावकमा उत्साह थपेको छ । लामो समयसम्म नतिजा नआउँदा विद्यार्थीहरू मानसिक तनावमा बस्नुपर्ने, उच्च शिक्षाको भर्ना प्रक्रिया प्रभावित हुने तथा विदेश अध्ययनको तयारीमा समेत असर पर्ने समस्या विगतदेखि दोहोरिँदै आएको थियो । यसपटक भने छिटोछिटो नतिजा प्रकाशन भएसँगै नयाँ आशा देखिएको छ । समयमै नतिजा आउनु सकारात्मक भए  पनि छिटो गर्ने दबाबमा विश्वसनीयता कमजोर हुन नहुने शिक्षाविद् बताउँछन् । 

एसएलसीको इतिहास

नेपालमा राणा शासनकै बेला विसं १९९० कात्तिक १६ गते नेपालमा एसएलसी बोर्डको स्थापना भएको थियो । स्थापना भएको पहिलो वर्षमै एसएलसी परीक्षा दिनका लागि ३४ जना विद्यार्थीले फारम भरेका थिए ।

१९९० सालको पुस अन्तिम सातादेखि सुरु भएको एसएलसी परीक्षा माघ २ गते आएको महाभूकम्पका कारण बीचैमा स्थगित भयो । र, विसं १९९१ सालको जेठ महिनामा पुनः परीक्षा सञ्चालन गरियो ।

पहिलो्पटक एसएलसी परीक्षा दिएका ३३ जनामाध्ये १६ जना मात्र उत्तीर्ण भएका थिए । जसमा १० जना द्वितीय र ६ जना तृतीय श्रेणीमा उत्तीर्ण भए । द्वितीय श्रेणीमा उत्तीर्ण भएका १० जनामध्ये भक्तपुरका पुष्पभक्त मल्लले सर्वाधिक अंक प्राप्त गरेका थिए । उनलाई नै एसएलसीमा बोर्डफर्स्ट हुने प्रथम व्यक्तिका रूपमा पनि चिनिन्छ । उनी पछि नेपालकै पहिलो कृषि इन्जिनियरसमेत बने । चन्द्रशमशेर जबरालाई एसएलसी पास गर्ने पहिलो व्यक्तिका रूपमा लिइन्छ भने वि.सं २००३ सालदेखि मात्र एसएलसीको पूरक परीक्षा दिने व्यवस्था मिलाइएको थियो ।

हरेक वर्ष एसएलसीमा सर्वोत्कृष्ट हुनेको नाम घोषणा गरिन्थ्यो, तर विभिन्न कारणले गर्दा विसं २०६२ देखि यसलाई बन्द गरियो । विसं २०७५ सालबाट एसएलसीमा ग्रेडिङ सिस्टमबाट नतिजा सार्वजनिक हुन थाल्यो र एसएलसीको नाम परिवर्तन गरेर एसइई राखियो ।

त्यस्तै, २०२६ सालमा अमरज्योति जनता हाइस्कुल गोरखाबाट बोर्डफस्र्र्ट भएका बाबुराम भट्टराई देशको प्रधानमन्त्रीसम्म बने ।

प्रवेशिका परीक्षा अर्थात् एसएलसीमा पहिलोपटक २००४ सालमा महिलाको सहभागिता थियो । त्यो पनि एकैपटक चारजनाको । परीक्षार्थीहरू थिए साहना प्रधान, साधना प्रधान, अंगुरबाबा जोशी र भुवन सिंह ।

जसमध्ये साहना प्रधान कैयौंपटक देशको मन्त्री बन्न सफल भइन् । उनी नेपाल कम्युनिस्ट पार्टीका संस्थापक पुष्पलाल श्रेष्ठकी श्रीमतीसमेत हुन् । त्यस्तै, अंगुरबाबा जोशी पद्मकन्या क्याम्पसको बागडोर सम्हालेसँगै उनी नेपालको पहिलो महिला क्याम्पस प्रमुख बनिन् ।

१९९० सालको एसएललसी परीक्षामा एकजना छात्राले फारम भरेकी थिइन्, तर उनी परीक्षामा भने सहभागी भइनन् । एसएलसी सुरु भएको करिब ४९ वर्षपछि २०३९ सालमा लुना भट्ट पहिलो महिला बोर्डफर्स्ट बनेर इतिहास बनाइन् ।

नेपालमा एसएसी सुरु भएदेखि नै हरेक वर्ष बोर्डफर्स्ट हुनेको नाम सार्वजनिक गर्ने गरिएको थियो । यो व्यवस्था विसं २०६१ सालसम्म रह्यो । पुष्पभक्त मल्ल एसएलसीको पहिलो बोर्डफर्स्ट हुन् भने काभ्रे माविका समीर श्रेष्ठ अन्तिम बोर्डफर्स्ट हुन् ।

एसएलसीदेखि एसइईसम्म

२०७३ सालमा सरकारले संशोधन गर्दै १ देखि ८ सम्म आधारभूत र ९ देखि १२ सम्म विद्यालय शिक्षाका रूपमा निर्धारण गरेपछि २ वर्षदेखि एसइईका रूपमा परीक्षा लिन थालिएको हो । ८३ वर्षसम्म रहेको एसएलसीको इतिहास विसं २०७३ सालमा आएर एसइईमा रूपान्तरण गरिएको थियो । २०७३को निर्णयलाई कार्यान्वयन गर्दै नतिजालाई ग्रेडिङ प्रणालीमा रूपान्तरण गर्ने उद्देश्यका साथ विसं २०७५ सालदेखि एसइई परीक्षा प्रणाली सुरु भयो ।

८१ वर्षको एसएसलसी इतिहासमा ८५ जना बोर्डफर्स्ट भएका थिए । विसं २००७ सालको राजनीतिक परिवर्तनका कारण दुईपटक प्रवेशिका परीक्षा भयो र त्यसपटक अलगअलग रूपमा बोर्डफर्स्ट घोषणा गरिएको थियो । त्यस्तै, २०२८ देखि नेपालमा नयाँ शिक्षा लागू गरिएपछि २०३२ देखि २०३४ सम्म नयाँ र पुरानो शिक्षा प्रणालीको छुट्टाछुट्टै रूपमा प्रवेशिका परीक्षा सञ्चालन गरिएको थियो । जसअन्तर्गत २०३४को प्रवेशिका परीक्षामा चारजना विद्यार्थीलाई बोर्डफर्स्ट  घोषणा गरियो । जसमा पुरानो शिक्षा पद्धतिबाट एकजना तथा नयाँ शिक्षा पद्धतिबाट तीनजना बोर्डफर्स्ट भएका हुन् ।

सबैभन्दा धेरै बोर्डफर्स्ट जन्माउनेमा काठमाडौंको दरबार हाइस्कुल रहेको छ । यहाँबाट सत्रजना बोर्डफर्स्ट भए । त्यस्तै, सिद्धार्थ बनस्थली इन्स्टिच्युट काठमाडौंबाट नौजना, जुद्धोदय पब्लिक हाइस्कुल काठमाडौंबाट ६ जना, त्रिभुवन पब्लिक हाइस्कुल वीरगन्ज, आनन्दकुटी विद्यापीठ काठमाडौं र लेबोरेटोरी माध्यमिक विद्यालय काठमाडौंबाट पाँच–पाँचजना बोर्डफर्स्ट भएका थिए । ३४ जना परीक्षार्थीबाट सुरु भएको एसएलसीमा आज लाखौंको सहभागिता रहने गरेको छ ।

सम्बन्धित खबर