२०८३ असोज २० गते मङ्गलवार / Oct 06 , 2026 , Tuesday
२०८३ असोज २० गते मङ्गलवार

निजीलाई टक्कर दिँदै सामुदायिक विद्यालय

Nada
सपना बोहरा
२०८३ वैशाख ३० गते ०६:३०
Shares
निजीलाई टक्कर दिँदै सामुदायिक विद्यालय

काठमाडौं : काठमाडौंको ज्ञानोदय माध्यमिक विद्यालयले माध्यमिक शिक्षा परीक्षा (एसइई)को नतिजामा यसवर्ष २१ जना विद्यार्थीले ४ जिपिए ल्याएका छन् । गत वर्षको एसइईमा भने ६ जनाले मात्रै ४ जिपिए ल्याएका थिए । अहिले नतिजामा उल्लेखनीय सुधार आएको प्रधानाध्यापक विष्णु घिमिरे रिमाल बताउँछिन् । यो वर्ष ४३४ जना विद्यार्थीले एसइई परीक्षा दिएका थिए ।

ncell

सोमबार सार्वजनिक नतिजाअनुसार, ज्ञानोदयका १४२ विद्यार्थीले ३.६० देखि ४ जिपिए ल्याएका छन् । १५२ जनाले ३.२० देखि ३.६० जिपिए, ७३ जना विद्यार्थीले २.८० देखि ३.२० जिपिए ल्याएका छन् । त्यस्तै, १४ विद्यार्थीको २.४० देखि २.८० जिपिए आएको छ । 

काठमाडौं महानगरपालिकाभित्रका सामुदायिक विद्यालयमध्ये चारवटाले शतप्रतिशत नतिजा ल्याएका छन् । यस वर्ष परीक्षामा सहभागी भएका ६० विद्यालयमध्ये केन्द्रीय बहिरा माध्यमिक विद्यालय, श्रम राष्ट्रिय माध्यमिक विद्यालय, बाल व्यवसायी माध्यमिक विद्यालय र बाल सेवा माध्यमिक विद्यालयले शतप्रतिशत नतिजा हासिल गरेका हुन् । 

महानगरपालिकाभित्रका सामुदायिक विद्यालयबाट तीन हजार १९८ जना विद्यार्थी ग्रेडेड भएको कामपाले जनाएको छ । यो कूल परीक्षार्थीको ७६.७५ प्रतिशत हो । 

काठमाडौंका मात्र होइन, राजधानीबाहिरका विद्यालय पनि एसइई नतिजामा अब्बल देखिएका छन् । चितवनस्थित नारायणी नमुना माध्यमिक विद्यालयले एसइईमा यस वर्ष पनि राम्रो नतिजा हासिल गरेको छ । विद्यालयबाट परीक्षा दिएका ३८० विद्यार्थीमध्ये ३७ जनाले ४ जिपिए प्राप्त गरेका छन् । विद्यालयका प्रधानाध्यापक रामशरण दुवाडीका अनुसार, अधिकांश विद्यार्थीले उत्कृष्ट नतिजा ल्याएका छन् भने एकजना विद्यार्थी मात्र ननग्रेडमा परेका छन् । ती विद्यार्थीको सामाजिक विषयमा ग्रेड नपुगेको उनी बताउँछन् । 

विद्यालयले सार्वजनिक गरेको विवरणअनुसार २१६ जना विद्यार्थीले ३.६ देखि ४ जिपिएसम्म प्राप्त गरेका छन् । त्यस्तै, १०२ जनाले ३.२ देखि ३.६ जिपिए हासिल गरेका छन् । २१ जना विद्यार्थीले २.८ देखि ३.२ जिपिए ल्याउँदा तीनजनाले २.४ देखि २.८ जिपिए प्राप्त गरेका छन् । गत वर्ष सातजना विद्यार्थीले मात्रै ४ जिपिए ल्याएकोमा यस वर्ष ३७ जनाले पूर्ण जिपिए ल्याउनु विद्यालयका लागि ठुलो उपलब्धिका रूपमा हेरिएको उनले बताए । विद्यालय प्रशासनले मिहिनेती विद्यार्थी, समर्पित शिक्षक र अभिभावकको निरन्तर सहयोगकै कारण यस्तो नतिजा सम्भव भएको उनको अनुभव छ । 

त्यस्तै, नुवाकोटको विदुरस्थित पृथ्वी माध्यमिक विद्यालयमा एसइईमा सहभागी ९२ विद्यार्थीमध्ये नौजनाले ४ जिपिए ल्याएका छन् । विद्यालयका प्रधानाध्यापक बाबुराम लामिछानेका अनुसार कुल विद्यार्थीमध्ये ४५ जनाले ३.६भन्दा माथिको जिपिए ल्याएका हुन् । त्यस्तै ३० जना ३.२ भन्दा माथि र १६ जनाले २.८ जिपिए ल्याएका छन् । यो वर्ष शैक्षिक गुणस्तरमा सुधार भएको उनी बताउँछन् । उनी भन्छन्, नियमित अतिरिक्त कक्षा, अनुशासित सिकाइ वातावरण र शिक्षक अभिभावकको समन्वयले उत्कृष्ट नतिजा आउन सफल भएको हो ।’

सामुदायिक विद्यालयहरूले एसइईको नतिजा सुधार गर्दै आएका यी केही उदाहरण हुन् । निजी विद्यालयसँगको प्रतिस्पर्धा, सरकारको प्रभावकारी कार्ययोजना, अभिभावकको चासो र शिक्षकहरूको लगावका कारण शैक्षिक गुणस्तरमा सुधार आएको शिक्षकहरूले बताएका छन् । 

ज्ञानोदय माध्यमिक विद्यालयले गुणस्तरीय शिक्षा प्रदान गर्न विद्यार्थीमैत्री, सहयोगी वातावरण निर्माणमा जोड दिँदै आएको प्रधानाध्यापक घिमिरे बताउँछिन् । उनी भन्छिन्, ‘प्रत्येक विद्यार्थीका लागि सुरक्षित र प्रोत्साहक सिकाइ वातावरण सिर्जना गर्छांै, त्यसका साथै विद्यार्थीहरूको कमजोरी पहिचान गरेर थप सिकाइको लागि प्रोत्साहन गर्छौं ।’ 

यसका साथै विद्यार्थी र अभिभावकको महत्वपूर्ण साथ रहेको उनी बताउँछिन् । ‘विद्यार्थीहरूलाई उनीहरूको अनौठो क्षमता र प्रतिभा पत्ता लगाउन मद्दत गर्छौं र तिनीहरूलाई पूर्ण क्षमतामा पुग्न मार्गदर्शन गर्छौं,’ उनले भनिन्, ‘हाम्रो समर्पित कर्मचारी समूह सिर्जनात्मकता, सहकार्य र निरन्तर सिकाइको संस्कृति विकास गर्न अथक प्रयास छ ।’

परीक्षा नियन्त्रण कार्यालयले भने शैक्षिक सुधारको मूल्यांकनका क्रममा रहेको बताएको छ । परीक्षा नियन्त्रक टुकराज अधिकारीले एक हप्ताभित्र सामुदायिक र निजी विद्यालयको शैक्षिक सुधारको बारेमा तथ्यांक प्रकाशन गरिने बताए । ‘धेरै सामुदायिक विद्यालयले राम्रो नतिजा ल्याएका छन्,’ उनले भने, ‘सामुदायिक र निजीको नतिजाको तुलनात्मक तथ्यांक भने विश्लेषण गर्न बाँकी नै छ ।’ 

पूरक परीक्षा तयारी कक्षा सञ्चालन गरिने

शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सस्मित पोखरेलले माध्यमिक शिक्षा परीक्षा (एसइई)मा ‘ननग्रेडेड’ विद्यार्थीका लागि पूरक परीक्षा तयारी कक्षा सञ्चालन गरिने बताएका छन् । प्रतिनिधिसभाको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको आजको बैठकमा मन्त्री पोखरेलले सरकारले एक महिनाभित्र परीक्षाको नतिजा सार्वजनिक गर्ने सरकारको प्रतिबद्धता कार्यान्वयन भएको उल्लेख गर्दै अब परीक्षामा असफल हुने विद्यार्थीका लागि पूरक परीक्षा तयारी कक्षा सञ्चालन गरिने प्रतिबद्धता जनाएका हुन् । सोमबार प्रकाशित नतिजाअनुसार दुई लाख ८४ हजार १६० विद्यार्थी ‘ग्रेडेड’ भई ६५ दशमलव ९८ प्रतिशत विद्यार्थी सफल भएका छन् । एक लाख ४६ हजार ५०७ विद्यार्थी ‘ननग्रेडेड’ भएका छन् । ‘ननग्रेडेड’ भएका विद्यार्थीले ग्रेडवृद्धि (मौका) परीक्षाको लाभ लिनेछन् । मन्त्री पोखरेलले देशभरका सम्पूर्ण विद्यालय भवन, खेलमैदान, शिक्षक, कर्मचारी, विद्यार्थी र अन्य संरचनाको विस्तृत अध्ययन पूरा प्राप्त हुने तथ्यका आधारमा विद्यालय तहको सम्पूर्ण पूर्वाधार पुनर्संरचना गरिने बताए ।

सम्बन्धित खबर