तिलु शर्मा पौडेल/मध्यान्ह
दोहा कतार, २८ साउन । नेपाली टिकटक समाज कतारको प्रथम अधिवेशन सम्पन्न भएको छ । समाजका संयोजक श्याम पाण्डेको अध्यक्षता तथा एनआरएनए कतारका अध्यक्ष मोहमद मुक्तदा मुसलमानको प्रमुख आतिथ्यतामा सम्पन्न अधिवेशनले लक्ष्मी दर्नालको अध्यक्षतामा नयाँ कार्यसमिति निर्विरोध चयन गरेको छ ।
समितिको प्रथम उपाध्यक्षमा धर्मेन्द्र कुमार खवास, द्वित्तीय उपाध्यक्ष बद्री आलाम, महिला उपाध्यक्ष एन्जिला कार्की, महासचिव विपिन शङ्कर, सचिव दिलीप कुमार, कोषाध्यक्ष ताहिर मियाँ (रेहान), सह–कोषाध्यक्ष शौरव आचार्य चयन भएका छन् । कार्यसमितिका सदस्यहरूमा अनुजा कार्की, पारु भट्ट, रेखा मगर, निशा श्रेष्ठ, अरसल सलमान, सोम लामा, उर्मिला लामा, एमडी मजिवुल र सरिता गिरी रहेका छन् । समाजको संस्थापक संरक्षकमा राम राणपहेलि रहेका छन् । निर्वाचित कार्य समितिलाई निर्वाचन समितिका संयोजक मोहमद अजिज अलिले पद तथा गोपनीयताको शपथ ग्रहण गराएका थिए ।
नव निर्वाचित अध्यक्ष दर्नालले टिकटक समाज भनेर कतारको सामाजिक सञ्जालमा नकारात्मक टिप्पणी हुने गरेकोप्रति लक्षित गर्दै कतारमा सामाजिक कार्यसँगै सचेतनाका कार्य गरिने बताइन् । उनले नेपाली समाजको हितमा आफूसहित पुरै समाज लाग्ने बताउँदै टिकटक समाजले अवार्ड र सांस्कृतिक कार्यक्रमसमेत सम्पन्न गरी सकेको जानकारी दिँदै थप रचनात्मक कार्य गर्दै अगाडि बढ्ने प्रतिबद्धता व्यक्त गरिन् ।
कतारका सक्रिय टिकटक प्रयोगकर्ताहरूको सक्रियतामा स्थापित नेपाली टिकटक समाज कतारको अधिवेशनमा बोल्ने वक्ताहरूले टिकटकको सही ढंगबाट प्रयोग गर्न आग्रह गरेका थिए । उनीहरूले टिकटकमा फरक–फरक अडियो र भिडियो प्रयोग गरेर कानूनी समस्यामा पर्ने गरेको हुँदा समाजको हितका लागि काम गर्न आग्रह गरे । टिकटक मार्फत सकारात्मक कार्य गर्न सकिने भएकाले टिकटक समाजको सकारात्मक सोचलाई सबैले अनुसरण गर्नु पर्ने उनीहरुको धारणा थियो ।
कार्यक्रममा बोल्दै प्रमुख अतिथि मुक्तदाले टिकटकको विकृति हटाउन समाजले पहल गर्नपर्ने बताए । कतारमा बस्ने नेपालीले धेरै पैसा टिकटकमा उडाउने गरेको भन्दै मुक्तदाले टिकटकमा उपहार नमाग्न र सोही अनुरूप समाजले कार्यसम्पादन गर्न अनुरोध गरे । धर्मेन्द्र खवासको स्वागत मन्तव्य रहेको कार्यक्रममा थुप्रै कलाकारले सांगितिक प्रस्तुति दिएका थिए ।
दिपजंग शाहले सहजिकरण गरेको कार्यक्रमको समापन सभाध्यक्ष पाण्डेले गरेका थिए । अधिवेशन मार्फत थुप्रै सामाजिक व्यक्तित्वहरूलाई सम्मान गरिएको थियो । ‘समाजसेवा र सचेतानमुलक सन्देश प्रवाह गरौँ, सभ्य र समृद्ध समाजको निर्माण गरौँ’ भन्ने नाराका साथ २०२० मा समाजको स्थापना गरिएको थियो ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies