२०८३ असोज २० गते मङ्गलवार / Oct 06 , 2026 , Tuesday
२०८३ असोज २० गते मङ्गलवार

ज्याकारान्डाको सौन्दर्यमा टिकटक र रिल्स

Nada
सपना बोहरा
२०८३ वैशाख ३१ गते ०६:३०
Shares
ज्याकारान्डाको सौन्दर्यमा टिकटक र रिल्स

काठमाडौं : काठमाडौंको कमलपोखरीमा यतिबेला युवा–युवतीहरू ज्याकारान्डा फूलको आकर्षणमा रमाइरहेका देखिन्छन् । कमलपोखरी मात्र होइन उपत्यकाका विभिन्न सडककिनारा पनि अहिले ढकमक्क फुलेका ज्याकारान्डाले शोभायमान बनेका छन् । 

ncell

बैजनी रंगका यी फूलले राजधानीको सौन्दर्यमा निखार थपेको छ । फूलसँगै फोटो खिच्न, भिडियो बनाउन र सामाजिक सञ्जालका लागि सामग्री तयार गर्न आउनेहरूको भिड दिन–प्रतिदिन बढ्दो छ । 

कोटेश्वरकी समीरा ढुंगाना पनि साथीहरूसँग कमलपोखरी पुगेकी थिइन् । उनले ज्याकारान्डासँग फोटो खिच्ने इच्छा पूरा भएको बताइन् । ‘ज्याकारान्डासँग फोटो खिच्ने रहर थियो, आज पूरा भयो,’ उनले भनिन्, ‘फूलले वातावरण नै रमाइलो बनाएको छ ।’

समीरा हरेक वर्ष ज्याकारान्डा फुल्ने समयमा कमलपोखरी आउने गर्छिन् । उनका अनुसार फूल फुलेको समयमा यहाँको वातावरण झन् आकर्षक र चहलपहलयुक्त हुन्छ ।

शनिबार र आइतबार बिदाको दिन भएकाले यहाँ झन् धेरै भिड लाग्ने गरेको छ । फूललाई पृष्ठभूमिमा राखेर फोटो तथा भिडियोे खिच्न पालो नै कुर्नुपर्ने अवस्था देखिन्छ ।

अनामनगरकी सावित्रा केसीले भनिन्, ‘एउटा टिकटक बनाउन पनि झन्डै आधा घण्टा पालो कुर्नुप¥यो । सबैलाई यहाँ फोटो खिच्ने रहर रहेछ ।’ उनले त्यहाँ टिकटक भिडियोेसँगै विभिन्न फोटो खिचेर फेसबुक, टिकटक र इन्स्टाग्राममा पोस्ट गरेकी छन् ।

ज्याकारान्डाको फूल केवल मानिसलाई मात्र होइन, चराचुरुंगी, मौरी र अन्य किराहरूलाई पनि आकर्षित गरिरहेको देखिन्छ । खसेका फूलले सडकसमेत निलाम्य बनेका छन् ।

यतिबेला काठमाडौं उपत्यकाका विभिन्न सडक किनारामा ज्याकारान्डा फुलेका छन् । कमलपोखरीसँगै दरबारमार्ग, रत्नपार्क, ललितपुरको एकान्तकुना, थसिखेललगायत क्षेत्र बैजनी फूलले रंगिएका छन् । मध्य चैतदेखि वैशाखसम्म फुल्ने ज्याकारान्डाले राजधानीको सौन्दर्यमा थप रौनक भरेको छ ।

ज्याकारान्डा फुलेसँगै आसपासका चिया पसल, चटपटे, पानीपुरी तथा अन्य साना व्यवसायीको व्यापार पनि बढेको छ । फोटो खिच्न आउनेको भिडले स्थानीय व्यवसायमा समेत सकारात्मक प्रभाव परेको व्यवसायीहरू बताउँछन् ।

हरेक वर्ष वसन्त ऋतु सुरु भएसँगै काठमाडौंका सडक र तालतलैयाको वरिपरि ज्याकारान्डाले विशेष आकर्षण थप्ने गर्दछ । सडक किनारामा नीलो–बैजनी फूल फुल्दा राजधानी अझ सुन्दर र गुलजार देखिन्छ । झरेको फूल सानो चराझैं देखिने भएकाले नेवार समुदायले यसलाई ‘भँगेरी फूल’ वा ‘चखुँचा स्वाँ’ भनेर पनि चिन्ने गर्छन् ।

ज्याकारान्डाको उत्पत्ति दक्षिण अमेरिकाका बोलिभिया, ब्राजिल र अर्जेन्टिनाबाट भएको मानिन्छ । पछि यो युरोप र अफ्रिकामार्फत एसियाली मुलुकसम्म फैलिएको हो । 

अस्ट्रेलियाको भिक्टोरिया र क्विन्सल्यान्डमा पनि क्रिसमसको समयमा ज्याकारान्डा फुल्ने गर्छ । क्विन्सल्यान्ड विश्वविद्यालयको क्रिसमस गानमा ज्याकारान्डाको प्रशंसा गरिएको छ । भिक्टोरियाको रेडक्लिफ सहरको ‘ज्याकारान्डा स्ट्रिट’ पर्यटकका लागि विशेष आकर्षणको केन्द्र मानिन्छ ।

सम्बन्धित खबर