
रौतहट : रौतहट र सर्लाही जोड्ने समनपुरस्थित बागमती पुल आसपास क्षेत्रमा भइरहेको बालुवा–गिट्टी उत्खननका कारण पुलको संरचनामाथि जोखिम बढेको भन्दै स्थानीयवासीले चिन्ता व्यक्त गरेका छन् । स्थानीयले नदीजन्य पदार्थको अनियन्त्रित उत्खनन रोक्न तथा पुलको प्राविधिक अवस्था तत्काल परीक्षण गर्न सम्बन्धित निकायसँग माग गरेका छन् ।
स्थानीयका अनुसार पछिल्ला केही महिनायता बागमती नदीको समनपुर क्षेत्रबाट मेसिन प्रयोग गरी ठूलो परिमाणमा बालुवा र गिट्टी उत्खनन भइरहेको छ । नदीको बहाव क्षेत्र नजिकैबाट डोजर प्रयोग गरी सामग्री निकालिँदा पुलका पिल्लर तथा आधार संरचनामा असर पर्न सक्ने चिन्ता व्यक्त गरिएको छ ।
त्यससँगै पुलको क्षमताभन्दा बढी भार बोकेका टिपरहरू निरन्तर सञ्चालन हुँदा पनि पुल र सडकको अवस्था कमजोर बन्दै गएको स्थानीयको भनाइ छ । केही स्थानीयले टिपरबाट चुहिने पानी र अत्यधिक चापका कारण सडक तथा पुलको सतहमा क्षति देखिन थालेको बताएका छन् ।
उक्त उत्खनन कार्यमा राजनीतिक संरक्षण रहेको आरोपसमेत स्थानीय तहमा उठिरहेको छ । केही स्थानीयले मधेश प्रदेश सरकार तथा गढीमाई नगरपालिकाको भूमिका माथि प्रश्न उठाएका छन् । यद्यपि, यस विषयमा सम्बन्धित पक्षबाट औपचारिक प्रतिक्रिया सार्वजनिक भएको छैन ।
बढ्दो गुनासोपछि केही समयअघि रौतहटका प्रमुख जिल्ला अधिकारी दिनेश सागर भुसाल नेतृत्वको टोलीले सो क्षेत्रको अनुगमन गरेको बताइएको छ । अनुगमनका क्रममा उत्खनन र भण्डारण मापदण्डअनुसार भए–नभएको विषयमा अध्ययन गरिएको थियो । तर अनुगमन प्रतिवेदन सार्वजनिक नभएको भन्दै स्थानीयले त्यसबारे जानकारी दिन माग गरेका छन् ।
स्थानीयवासी तथा नागरिक समाजका प्रतिनिधिहरूले नदीजन्य पदार्थको अवैध उत्खननले भौतिक पूर्वाधारसँगै वातावरणीय सन्तुलनमा पनि असर पार्न सक्ने बताएका छन् । उनीहरूका अनुसार नदीको सतह गहिरिँदा भूमिगत पानीको तह घट्ने तथा वर्षायाममा कटानको जोखिम बढ्न सक्ने अवस्था रहेको छ ।
स्थानीयले तत्काल अवैध उत्खनन नियन्त्रण गर्न, पुलको प्राविधिक परीक्षण गर्न तथा मापदण्डविपरीत काम गर्ने व्यक्ति वा समूहलाई कानुनी दायरामा ल्याउन सरकारसँग माग गरेका छन् ।