२०८३ असोज २० गते मङ्गलवार / Oct 06 , 2026 , Tuesday
२०८३ असोज २० गते मङ्गलवार

उनी थाकेकी छैनन्, किनभने आमा हुन्

‘साथीकोमा पढ्न जान्छु भनेर घरबाट निस्केकी छोरीको लास देख्नुपर्दा आमाको मनमा के बित्यो होला ? मैले देशभरिका मान्छेलाई भनेँ । आवाज उठाएँ, तर म हारेँ । मरेर गएकी छोरीलाई न्याय दिलाउन नसकेको दुःख मलाई जिन्दगीभर रहनेछ ।’

Nada
भावना पाठक
२०८३ जेठ १ गते ११:३७
Shares
उनी थाकेकी छैनन्, किनभने आमा हुन्

‘साथीकोमा पढ्न जान्छु भनेर घरबाट निस्केकी छोरीको लास देख्नुपर्दा आमाको मनमा के बित्यो होला ? मैले देशभरिका मान्छेलाई भनेँ । आवाज उठाएँ, तर म हारेँ । मरेर गएकी छोरीलाई न्याय दिलाउन नसकेको दुःख मलाई जिन्दगीभर रहनेछ ।’

ncell

निर्मला हत्याकाण्डको विरोधमा सडकमा उत्रिने स्थानीय थाकिसके । मानव अधिकारकर्मी अरू एजेन्डातिर लागिसके । हिजो गोली थाप्न तयार न्यायप्रेमी सर्वसाधारण निरास भइसके । तर, दुर्गादेवी पन्त थाकेकी छैनन् । किनभने, उनी आमा हुन् । कलिलो मुनाजस्ती छोरी बर्बर ढंगले निमोठ्ने अपराधीलाई कानुनी कठघरामा नल्याएसम्म उनी रोकिनेवाला छैनन् ।

‘जति भोगेँ त्यसको हिसाब छैन । एक मनले आशा मरिसक्यो, न्याय पाउँछु भन्ने लाग्दैन्,’ निर्मलाकी आमा दुर्गादेवी भक्कानिदै सुनाउँछिन्, ‘फेरि अर्को मनले भन्छ–धेरैपछि न्याय पाउनेहरू पनि छन् । ईश्वर छन्, न्याय कसरी मर्ला र ?’ 

छोरीलाई न्याय दिलाउन उनले भोगेको दुःख उनैलाई मात्र थाहा छ । उनीकहाँ पुगिनन् ? कसलाई गुहारिनन् ? त्योभन्दा ठुलो पीर अपराधी अहिलेसम्म पत्ता लागेन । ‘एउटी आमाका लागि योभन्दा ठुलो दुःख के हुन सक्छ ?’ उनी प्रश्न गर्छिन् । 

यसबीचमा उनले समाजलाई पनि नजिकबाट चिन्न पाइन् । पहिले मानिसहरू उनलाई सान्त्वना दिन आउँथे । प्रहरी र प्रशासनले अपराधी खोजी गरिरहेको बताउँथे । तर अहिले सबैले बिर्सिंदै गएको उनी बताउँछिन् । 

अनुसन्धान बिग्रिएकाले घटना नराम्ररी गिजोलिएको उनलाई लागेको छ । ‘भन्दाभन्दै थाकेपछि फेरि यसो गर्देऊ, उसो गर्देऊ, मलाई न्याय देऊ भन्ने आँट नआउने रहेछ,’ उनी भन्छिन्, ‘अब प्रहरीकै आशा छ ।’ 

दुर्गादेवीले छोरीको बलात्कारपछि भएको हत्याको छानबिन गर्न थुप्रै समिति बनेको सुन्दै आएको बताइन् । तर त्यसले कति काम गर्‍यो, के काम गर्‍यो त्यो आफूलाई थाहा नभएको उनी बताउँछिन् । ‘अपराधी पत्ता लागिसक्यो, नाम सार्वजनिक गर्नमात्र बाँकी छ भनेकै वर्षौं भइसक्यो,’ उनी भन्छिन्, ‘नाम सार्वजनिक होला, न्याय मिल्ला भन्यो फेरि बीचमै कुरा बिग्रिने रहेछ । केही समयपछि अर्को छानबिन समिति बन्यो भन्ने समाचार सुनिन्छ ।’ 

एक महिनाअघि पनि अर्को नयाँ छानबिन समिति बनेको उनले सुनेकी छिन् ।  नयाँ सरकार भएकाले कडाइका साथ अनुसन्धान गरेर न्याय दिलाउँछ कि भन्ने थोरै आशा लागेको उनले बताइन् । ‘साथीकोमा पढ्न जान्छु भनेर घरबाट निस्केकी छोरीको लास देख्नुपर्दा आमाको मनमा के बित्यो होला ?’  उनी भन्छिन्, ‘त्यो दुःख त छँदै छ, त्यसरी हत्या भएको छोरीको लागि मैले देशभरिका मान्छेलाई भनेँ, आवाज उठाएँ तर पनि म हारेँ । मरेर गएकी छोरीलाई न्याय दिलाउन नसकेको दुःख मलाई जिन्दगीभर रहनेछ ।’

विपन्न वर्गकी दुर्गादेवी ठेला पसल चलाउँथिन् । छोरीको हत्यापछि उनलाई गाउँकै स्वास्थ संस्थामा काम मिलेको छ । त्यसैबाट उनले आफ्नो परिवार चलाएकी छन् । जे नहुनु भइहाल्यो, मन बुझाउनुको विकल्प नभएको उल्लेख गर्दै उनी भन्छिन्, ‘सास छउन्जेल न्याय मिल्ला भन्ने आशा गर्न छोड्दिनँ तर ढुक्क हुने ठाउँ छैन ।’

सम्बन्धित खबर