
रौतहट : गौर–चन्द्रपुर निर्माणाधीन ४ लेन सडकलाई विस्तार गर्दै गौर नगरपालिका–५ स्थित नेपाल रेडक्रस सोसाइटीको उत्तर क्षेत्रसम्म पुर्याउने निर्णय गरिएको छ । गौर नगरपालिकाले आह्वान गरेको सर्वदलीय तथा सर्वपक्षीय बैठकपछि उक्त सहमति जुटेको हो ।
हाल घण्टाघर चोकसम्म सीमित रहेको सडकलाई गुरुयोजना परिमार्जन गर्दै सिँचाइ कार्यालयको पूर्वी क्षेत्र हुँदै थप विस्तार गर्ने योजना बनाइएको नगरपालिकाले जनाएको छ । यससँगै गौर बजार क्षेत्रको यातायात व्यवस्थापनमा सुधार आउने, सवारी जाम घट्ने र बजारको समग्र स्वरूप व्यवस्थित हुने अपेक्षा गरिएको छ ।
नगरपालिकाका अनुसार बढ्दो सवारी चाप र भविष्यको आवश्यकतालाई मध्यनजर गर्दै सडक विस्तार गर्न लागिएको हो । ४ लेन सडकले बजार क्षेत्रलाई आधुनिक र व्यवस्थित शहरका रूपमा विकास गर्न सहयोग पुग्ने विश्वास व्यक्त गरिएको छ ।
नगरप्रमुख शम्भु साहको अध्यक्षतामा सम्पन्न बैठकमा विभिन्न राजनीतिक दल, नागरिक समाज, व्यवसायिक संगठन तथा स्थानीय सरोकारवालाहरूको सहभागिता रहेको थियो । सहभागीहरूले गौरको दीर्घकालीन विकास र व्यवस्थित शहरीकरणका लागि सडक विस्तार आवश्यक रहेकोमा जोड दिएका थिए ।
यसअघि सडक घण्टाघरसम्म मात्र सीमित रहँदा बजार भित्रको ट्राफिक समस्या समाधान नहुने गुनासो रहँदै आएको थियो । अब सडक रेडक्रस क्षेत्रसम्म विस्तार हुने भएपछि व्यापारिक गतिविधि बढ्ने र आवागमन सुरक्षित हुने अपेक्षा गरिएको छ ।
नगरपालिकाले सर्वपक्षीय सहमति भइसकेकाले आवश्यक प्राविधिक र प्रशासनिक प्रक्रिया छिट्टै अघि बढाएर सडक विस्तारको कामलाई गति दिइने जनाएको छ ।