२०८३ असोज २९ गते बिहिवार / Oct 15 , 2026 , Thursday
२०८३ असोज २९ गते बिहिवार

मोबाइल थाकेछ

Nada
डा. राजन केसी
२०८३ जेठ २ गते ०६:००
Shares
मोबाइल थाकेछ

मोबाइलका नयाँ–नयाँ भर्सन आएछ हेरिरहुँ  

ncell

आजको समयमा देशले खोजेको युवा अनुहार 

आजभोलि मधुरो देखिन्छ चित्र र आवाज 

थाकेछ मुटुमा धड्कने जोडिएको सिमकार्डको तार 

सुनिँदैन मिठो बोली समयमा पर्खेको घण्टीको आवाज ।

 

फूल खेलेको मौसम माओवादी र सरकारको

एकले अर्कालाइ सक्ने द्वन्द्वकालको समय थियो 

गरिब जनताले सरकारलाई शंका गर्थे 

सरकारले जनतालाई अपराधीको नजर थियो 

संसार डुलेका नेपालीलाई ताररहित फोनको जानकारी थियो

नेपालमा भर्खर ल्यान्डलाइन फोन वितरणमै मस्त थियो 

देश–विदेश जानेकाहरूको सरसल्लाहपछि 

शासकहरूले चलाएको सरकार विश्वस्त भयो 

ओहो ! अब नेपालमा मोबाइल चलाउने बाटो खुल्यो 

सुन्दा नै आनन्द आयो, निकाल्न सोर्सफोर्स र एक लाख जम्मा

तै पनि सोर्सफोर्स सरकारको विश्वासिलो मान्छेले मात्र ।


अग्ला डाँडामाथि रुखहरूमा चढेर टाढाटाढा जाँदा

हातमा रहेका मोटोरोला र नोकिया ठड्याई टावर खोज्दै

गर्व लाग्थ्यो गोजीबाट मोबाइल मायालुलाइ देखाउँदै 

सहर बजार जोरीपारी चिन्नेजान्नेको भकारी

धेरै आफन्त र साथीभाइको सम्पर्कको चौतारी ।

 

खोजेको रोजेको सबै बस्तु मोबाइमा आउन थाल्यो 

हेर्दाहेर्दै कहाँको मोबाइल हो तर चलाउने लत बस्न थाल्यो

धेरै खानपिन र संगत त्यागियो मोबाइल त्यगिएन

मोबाइलले मलाइ पाल्यो कि मैले मोबाइल पालेँ 

यही मोबाइल सहाराले लोकतान्त्रिक संगठन बने 

ध्वनिको तरंगले कति जनालाइ रुवायो हसायो

बिहानबिहानै जनैको जप मन्तर्न छाडियो, मर्‍यो संस्कार

मोबाइल एप्सहरू मन्तरे अनगिन्ती भर्सनहरू अँगाली

नयाँ–नयाँ मोबाइल फेरिरहियो पुरानो नम्बर फेरिएन 

यो नम्बर लिँदा जोडकातोड परेको थाहा थियो

यसैको सहाराले सुख–दुःखमा साथ दिएकाले माया थियो

कसैको फोनको घण्टी बज्दा प्रफुल्लित मन

मानिसहरूको भिडमा मोबाइलको मज्जा बेग्लै

रबाफ र स्वभाव बदलिएको भान थियो छोडेर प्रकृति ।


शंकाले निम्त्याएको द्वन्द्वका घाउ हराए मोबाइल छँदै छ

राष्ट्रियता सामूहिकता गणतन्त्रको मोबाइल आवाज बन्यो

बन्दुकले जस्तै बढिरह्यो मोबाइलमा डिजिटल भोट बैंक

सेतै कपाल फेरियो सासन फेरियो नम्बर जस्ताकोत्यस्तै

आजभोलि झर्को लाग्छ देख्दा पनि मोबाइलका म्यासेज ।


मोबाइलका नयाँ–नयाँ भर्सन आएछ हेरिरहुँ  

आजको समयमा देशले खोजेको युवा अनुहार 

आजभोलि मधुरो देखिन्छ चित्र र आवाज 

थाकेछ मुटुमा धड्कने जोडिएको सिमकार्डको तार 

सुनिँदैन मिठो बोली समयमा पर्खेको घण्टीको आवाज ।

ताजा खबर

सम्बन्धित खबर