२०८३ असोज २९ गते बिहिवार / Oct 15 , 2026 , Thursday
२०८३ असोज २९ गते बिहिवार

संगीतमा उचाइ भर्दै राजेन्द्र

Nada
रमेश दाहाल
२०८३ जेठ २ गते ०६:०५
Shares
संगीतमा उचाइ भर्दै राजेन्द्र

राजेन्द्र बजगाईं वर्तमान नेपाली गीत–संगीतका एक प्रतिभाशाली सर्जक हुन् । बजगाईं नेपाली गीत–संगीतका सबैजसो विधामा पोख्त छन् तापनि आधुनिक र लोकगीतमा उनी झन् अब्बल देखिन्छन् । उनले एकपछि अर्को अब्बल फिल्म संगीत, राष्ट्रभावका गीत, आधुनिक गीत, लोकलयका गीत, भजनलगायत सबैजसो गीत सिर्जना गरेका छन् । आफ्नो काममा लगाव, व्यवहारमा परिपक्व र मिलनसार भएकैले बजगाईं गीत–संगीतका अग्रजदेखि अनुज पुस्तासम्म सबैका रोजाइमा पर्न सफल भएका हुन् ।

ncell

काठमाडौंमा आफ्नै स्टुडियो र संगीत सिर्जनाका लागि आवश्यक आफ्नै उपकरण अनि प्राविधिक पक्षमा समेत सिपालु बजगाईं नेपालकै व्यस्त संगीतकारमध्ये पर्दछन् । यसैले उनी स्थापित गायक–गायिका, फिल्म निर्माता, निर्देशकका साथै नवकलाकारसँग गीत–संगीतका विविध काममा व्यस्त रहन्छन् । छलफल र सहकार्यमा विश्वास गर्ने बजगाईंका सिर्जनाले यसै कारण आम–स्रोताको मन जितेको देखिन्छ । आफूभन्दा अग्रजलाई सम्मान र अनुजलाई सहयोग गर्ने राजेन्द्र सयौं स्थापित कलाकारका लागि प्रेरणाका स्रोत हुन् । उनका संगीत सिर्जनामा धेरै नयाँ गायक–गायिकाले गीत गाएर आफ्नो सांगीतिक यात्रा सुरु गरी स्थापित भएका छन् । यसैले बजगाईं धेरैका प्रेरणाका स्रोत हुन् ।

लोकगीत नेपाली गीत–संगीतको मुटु हो । लोकलयमा आधारित संगीत सिर्जना गर्ने संगीतकार त धेरै हुन्छन् तर लोक संस्कृतिको मर्मलाई बुझेर संगीत सिर्जना गर्ने संगीतकार कमै हुन्छन् । लोकगीतको मर्मलाई स्विकारेर संगीत सिर्जना गर्ने संगीतकर्मीमध्ये बजगाईं एक उत्कृष्ट सर्जक हुन् भन्ने तथ्य उनले सिर्जना गरेका सयौं धुनहरूले प्रमाणित गर्दछन् ।

वर्तमान नेपाली गीत–संगीतका ख्यातिप्राप्त संगीत सर्जकमध्ये बजगाईंको गीत–सांगीतिक चेतना उच्च रहेको पाइन्छ । त्यस्तै, आधुनिक गीत सर्जनामा पनि उनका सिर्जना नितान्त मौलिक छन् । यी दुवै विधाको अन्तर बुझेर बजगाईं संगीत सिर्जना गर्दछन् । यसैले उनका सिर्जना बौद्धिक वर्गका श्रोतादेखि सामान्य स्रोतासम्मका लागि भरपुर मनोरञ्जन दिने खालका हुन्छन् ।

झन्डै दुई दशक लामो सांगीतिक यात्रामा बजगाईंले सयौं बहुचर्चित गीतमा संगीत सिर्जना गरेका छन् । ‘पुतली माया लाम न हो’ उनको पछिल्लो समयको सर्वाधिक रुचाइएको र व्यावसायिक सफलता हासिल गरेको संगीत सिर्जना हो । गीतकार भीष्मराज फुलाराको शब्दमा बनेको यो गीतमा उनले नेपाली आधुनिक र लोकलयको मिश्रण गरेका छन् । त्यस्तै, आठ सयभन्दा बढी गीतमा संगीत सिर्जना गरिसकेका सर्जक बजगाईंका ‘मुसुमुसु हाँसेर’, ‘ट्राफिक जाम’, ‘ओ मेरो परान’, ‘चिनी अमिलो’, ‘डल्ली’लगायत गीत चर्चित छन् । त्यस्तै, गीतकार रमेश दहालका शब्दमा रेकर्ड भएका दसैं र तिहारजस्ता सांस्कृतिक पर्वका गीत पनि चर्चित छन् ।

२०६४ सालदेखि व्यावसायिक रूपमा संगीतमा प्रवेश गरेका सकारात्मक सोचका धनी बजगाईंले विभिन्न भाषाभाषीका गीतमा आफ्नो सुमधुर संगीतले सिँगार्दै नेपाली गीत–संगीतमा योगदान दिएका छन् । बजगाईंका हरेकजसो उत्कृष्ट सिर्जनामा आफू पनि जोडिन पाएकोमा साउन्ड इन्जिनियर मनोज परियार खुसी व्यक्त गर्दछन् । उनी भन्छन्, ‘नेपाली गीत–संगीतको क्षेत्र अझ फराकिलो हुनमा राजेन्द्रजस्ता सर्जकको मिहिनेतको ठुलो अर्थ रहन्छ । राजेन्द्र आफ्नो सांगीतिक पेसाप्रति इमानदार, सहकर्मीप्रति सहयोगी र प्राविधिक ज्ञान भएको शालीन सर्जक भएकाले म उहाँसँग काम गर्न मन पराउँछु ।’

नेपाली कलाको श्रीवृद्धिमा योगदान दिएर यस क्षेत्रका हजारौं स्रष्टाको उज्ज्वल भविष्य सुनिश्चित गर्न आफ्नो विद्वताको प्रयोग गर्नु एक परिपक्व कलाकारको कर्तव्य हो । आफू संलग्न गीत–संगीत क्षेत्रको अनुभव लिएर त्यो अनुभवलाई गीत–संगीत क्षेत्रकै उन्नतिका लागि नेतृत्व लिन सक्ने क्षमताका कारण राजेन्द्रले गीत–संगीतसँग सम्बन्धित संघ–संस्थाको नेतृत्व सम्हालेका छन् । उनी राष्ट्रिय स्रष्टा तथा प्रस्तोता प्रतिष्ठान नेपालका संस्थापक अध्यक्ष हुन् । प्रतिष्ठानका रूपमा स्थापित यस संस्थाले नेपाली कलाक्षेत्रको उन्नतिका लागि काम गर्दै आएको छ । उनले संगीतकार संघको द्वितीय उपाध्यक्षको गरिमामय भूमिका पनि निभाएका छन् । यसका साथै बजगाईंले गीत–संगीतका विविध संघ–संस्थामा संलग्न रही उल्लेखनीय काम गरेका छन् ।

यस्तै, उनमा रहेको गीत–संगीत क्षेत्रको विज्ञताका कारण उनले गीत–संगीतका विभिन्न कार्यक्रममा आफ्ना विचार राख्दै आएका छन् । विभिन्न आयोजकले आयोजना गरेका सांगीतिक अवार्ड कार्यक्रममा आफूसँग सम्बन्धित विधाका लागि निर्णायकको भूमिका निभाएका छन् । यसले राजेन्द्र गीत–संगीतमा विज्ञता हासिल गरिसकेका सर्जक हुन् भन्ने प्रस्ट देखिन्छ ।
बजगाईं नेपाली गीत–संगीतका एक प्रतिभाशाली सर्जक हुन् । उनले सिर्जना गरेका गीत–संगीतले उनको उचाइ आफैं निर्धारण गरेको छ । नेपाली गीत–संगीतले भविष्यमा अझ उन्नति गर्न र कलाकारहरूको भविष्य अझ उज्यालो हुन राजेन्द्रजस्ता सर्जकले इमानदारी साथ आफ्नो कर्ममा लागि रहनुको विकल्प छैन ।

(लेखक, गीतकार तथा अनुसन्धानकर्ता हुन् ।)

ताजा खबर

सम्बन्धित खबर