२०८३ असोज २० गते मङ्गलवार / Oct 06 , 2026 , Tuesday
२०८३ असोज २० गते मङ्गलवार

शिक्षक कुटपिट प्रकरण : दोषीलाई कारबाही गर्न शैक्षिक संघ-संस्थाहरूको अल्टिमेटम

आन्दोलनको चेतावनी

Nada
सत्येन्द्र प्रताप सिंह
२०८३ जेठ ३ गते १२:२३
Shares
शिक्षक कुटपिट प्रकरण : दोषीलाई कारबाही गर्न शैक्षिक संघ-संस्थाहरूको अल्टिमेटम

रौतहट : रौतहटको बौधीमाई नगरपालिकामा कार्यरत एक शिक्षकमाथि भएको कुटपिट र दुर्व्यवहारको घटनापछि जिल्लाको शैक्षिक क्षेत्रमा आक्रोश फैलिएको छ । श्री शंकर माध्यमिक विद्यालय, सरमुजवामा कार्यरत शिक्षक रामबाबु यादवमाथि भएको घटनाको विरोध गर्दै विभिन्न शिक्षक तथा पेशागत संघ–संस्थाले दोषीमाथि कडा कानुनी कारबाहीको माग गरेका छन् ।

ncell

गत वैशाख २९ गते विद्यालय परिसरमै प्राथमिक तहका शिक्षक यादवमाथि दुर्व्यवहार तथा हातपात भएको जनाइएको छ । घटनामा स्थानीय जनप्रतिनिधि र सम्बन्धित निकायका पदाधिकारी संलग्न रहेको आरोप लगाइएपछि शिक्षक समुदायले गम्भीर आपत्ति जनाएको हो ।

विभिन्न शिक्षक संगठनले संयुक्त प्रेस विज्ञप्ति जारी गर्दै घटनाको भर्त्सना गरेका छन् । विज्ञप्तिमा नेपालको संविधानले शिक्षालाई तीनै तहको साझा अधिकार क्षेत्रभित्र राखेको उल्लेख गर्दै शिक्षकको नियमन र व्यवस्थापन गर्ने जिम्मेवार पदाधिकारी नै कुटपिटमा संलग्न हुनु दुःखद र लोकतान्त्रिक मूल्य–मान्यता विपरीत भएको जनाइएको छ ।

संयुक्त विज्ञप्तिमा बौधीमाई नगरपालिकाका नगर प्रमुख प्रदीप कुमार यादव, वडा नम्बर ८ का अध्यक्ष विन्देश्वर राय यादव तथा कार्यपालिका सदस्य सुनिल जयसवालमाथि घटनामा संलग्न रहेको आरोप लगाइएको छ । उनीहरूलाई कानुनी दायरामा ल्याई कारबाही गर्न शिक्षक संगठनहरूले माग गरेका छन् ।

शिक्षक संघ–संस्थाले जिल्ला प्रशासन कार्यालय रौतहटलाई जेठ ५ गतेभित्र दोषीमाथि कारबाही प्रक्रिया अघि बढाउन आग्रह गरेका छन् । तोकिएको समयभित्र माग सम्बोधन नभए जिल्लाव्यापी आन्दोलन सुरु गर्ने चेतावनी पनि दिइएको छ ।

नेपाल शिक्षक महासंघ रौतहटको नेतृत्वमा चरणबद्ध आन्दोलनका कार्यक्रम सार्वजनिक गरिने जनाइएको छ । आन्दोलनबाट उत्पन्न हुने परिस्थितिको जिम्मेवार प्रशासन स्वयं हुने चेतावनी विज्ञप्तिमा उल्लेख गरिएको छ ।

संयुक्त विज्ञप्तिमा नेपाल शिक्षक संघ रौतहटका सचिव नागेन्द्र राय यादव, नेपाल राष्ट्रिय शिक्षक संगठन रौतहटका अध्यक्ष योगेन्द्र प्रसाद कुशवाहा, प्रगतिशील नेपाल राष्ट्रिय शिक्षक संगठनका अध्यक्ष धर्मेन्द्र प्रसाद सिंह, एकीकृत अखिल शिक्षक संगठनका अध्यक्ष बुनिलाल प्रसाद यादव तथा नेपाल शिक्षक मञ्च रौतहटका अध्यक्ष शिवशंकर झाले हस्ताक्षर गरेका छन् ।

शिक्षकमाथि सार्वजनिक पदमा रहेका व्यक्तिबाटै भएको भनिएको आक्रमणले शिक्षा क्षेत्रको सुरक्षा र कानुनी शासनप्रति प्रश्न उठाएको भन्दै नागरिक समाजले पनि घटनाप्रति चासो व्यक्त गरेको छ । अब प्रशासनले आगामी दिनमा कस्तो कदम चाल्छ भन्ने विषयलाई जिल्लाको शैक्षिक वातावरणसँग जोडेर हेरिएको छ ।

No description available.

ताजा खबर

सम्बन्धित खबर