
रौतहट : रौतहटको गौर नगरपालिका–८ स्थित आधारभूत प्राथमिक विद्यालय पुरेनवामा विद्यालय परिसरकै दयनीय अवस्था सार्वजनिक भएपछि सरोकारवाला निकायको जिम्मेवारीमाथि गम्भीर प्रश्न उठेको छ । बालबालिकाको भविष्य निर्माण गर्ने शैक्षिक संस्थाभित्रै फोहोरको थुप्रो र मदिरा सेवनका प्रमाण भेटिनुले विद्यालयको वातावरण अस्तव्यस्त बनेको देखिएको हो ।
स्थानीयका अनुसार विद्यालयभित्र र आसपासका क्षेत्रमा मदिरा तथा बियरका खाली बोतलहरू छरिएका छन् भने शौचालय लामो समयदेखि सरसफाइ नभएकाले अत्यन्त दुर्गन्धित अवस्थामा पुगेको छ । यस्तो अवस्थाले विद्यार्थीहरूको स्वास्थ्यमा जोखिम बढाएको मात्र होइन, उनीहरूलाई खुला ठाउँमा शौच गर्न बाध्य बनाएको गुनासो पनि उठेको छ ।
यही अवस्थाप्रति असन्तुष्टि जनाउँदै स्थानीय युवाहरूले स्वतःस्फूर्त रूपमा सरसफाइ तथा सुधार अभियान सुरु गरेका छन् । राष्ट्रिय स्वतन्त्र पार्टीका वडा समिति अध्यक्ष एवं समाजसेवी विरेन्द्र साहको नेतृत्वमा सञ्चालन गरिएको उक्त अभियानमा दुई दर्जनभन्दा बढी युवा, अभिभावक तथा स्थानीय बासिन्दाको सहभागिता रहेको थियो । अभियानअन्तर्गत विद्यालय परिसर, कक्षाकोठा वरिपरि र शौचालय क्षेत्रमा थुप्रिएको फोहोर सफा गरिएको छ ।
अभियानका संयोजक विरेन्द्र साहले विद्यालय व्यवस्थापन समिति र जनप्रतिनिधिहरूको लापरवाहीका कारण शैक्षिक संस्थाको गरिमा खस्किएको आरोप लगाए । “विद्यालयभित्रै मदिराका बोतल भेटिनु अत्यन्तै लज्जास्पद विषय हो,” उनले भने, “विद्यालय वरपर खुलेआम मदिरा बिक्री भइरहँदा पनि सम्बन्धित निकाय मौन बस्नुले कानुनी व्यवस्था कमजोर भएको देखाउँछ । बालबालिकाको स्वास्थ्य र भविष्यसँग सम्झौता गर्न सकिँदैन ।”
अभियानमा सहभागी अन्य युवाहरू—मुकेश कुमार साह, राम बालिक साह, सञ्जय साह, राजा बाबु महतो, सुबोध साह र कृष्ण साह—ले पनि विद्यालयको शैक्षिक वातावरण सुधार्न तत्काल कडा कदम चाल्नुपर्ने बताएका छन् । उनीहरूले विद्यालय परिसरमा हुने अनैतिक गतिविधि रोक्न र दोषीलाई कानुनी दायरामा ल्याउन स्थानीय प्रशासनसँग माग गरेका छन् ।
स्थानीयहरूले उठाएका प्रमुख मागहरूमा विद्यालयमा नियमित सरसफाइ सुनिश्चित गर्ने, विद्यालय आसपास रहेका मदिरा पसललाई कानुनी मापदण्डभित्र ल्याउने, विद्यालय व्यवस्थापन समितिलाई थप जिम्मेवार बनाउने तथा बालबालिकाका लागि सुरक्षित र स्वच्छ शैक्षिक वातावरण निर्माण गर्ने विषय समावेश छन् ।
यस घटनापछि नगरपालिका र शिक्षा शाखाले कस्तो कदम चाल्छ भन्ने विषयमा स्थानीयको चासो बढेको छ । स्थानीय युवाहरूले समस्या समाधान नभएसम्म आफ्नो दबाबमूलक अभियान जारी राख्ने चेतावनी दिएका छन् ।