
रौतहट : हुलाकी राजमार्गअन्तर्गत रौतहट र सर्लाही जोड्ने बागमती नदीमाथिको पुल निर्माण १५ वर्षसम्म पनि सम्पन्न हुन नसक्दा स्थानीयवासीले सास्ती खेप्नुपरेको छ । रौतहटको दुर्गाभगवती गाउँपालिका–५ बडहर्वादेखि सर्लाही जोड्ने उक्त पुल अलपत्र परेपछि सर्वसाधारण अझै जोखिमपूर्ण तरिकाले नदी वारपार गर्न बाध्य छन् ।
पुल निर्माणमा भएको लामो ढिलासुस्तीका कारण किसान, विद्यार्थी, दैनिक ज्यालादारी मजदुर, बिरामी तथा सवारी चालकले काठको डुंगाको सहारा लिनुपरेको छ । वर्षायाम नजिकिँदै जाँदा नदीमा पानीको बहाव बढ्ने भएकाले दुर्घटनाको जोखिम थप बढेको भन्दै स्थानीयले चिन्ता व्यक्त गरेका छन् ।
वि.सं. २०६७ जेठ ३१ गते तत्कालीन प्रधानमन्त्री माधवकुमार नेपालले पुलको शिलान्यास गरेका थिए । तीन वर्षभित्र निर्माण सम्पन्न गर्ने लक्ष्यसहित ६३३ मिटर लामो पुल निर्माणको ठेक्का लुम्बिनी बिल्डर्सले ३५ करोड ८९ लाख रुपैयाँमा लिएको थियो । पछि निर्माणको काम पप्पु कन्स्ट्रक्सनमार्फत अघि बढाइएको भए पनि सम्झौता भएको डेढ दशक बित्न लाग्दा पुल अझै अधुरै रहेको छ ।

स्थानीयका अनुसार पुल नहुँदा दुई जिल्लाबीचको व्यापार, आवतजावत र सामाजिक सम्बन्ध प्रभावित बनेको छ । बिरामीलाई अस्पताल पुर्याउनसमेत कठिनाइ भइरहेको उनीहरूको गुनासो छ । वर्षौंदेखि पुलको संरचना अधुरो अवस्थामा रहँदा विकासका सरकारी प्रतिबद्धता केवल भाषणमा सीमित भएको स्थानीयको आरोप छ ।
निर्माण कम्पनीको लापरबाही, प्रभावकारी अनुगमनको अभाव र प्रशासनिक कमजोरीका कारण आयोजना सुरुदेखि नै विवादमा पर्दै आएको बताइएको छ । पुल निर्माण रोकिँदा आसपासका क्षेत्रको आर्थिक गतिविधिसमेत प्रभावित बनेको स्थानीयको भनाइ छ ।
स्थानीयवासीले पटक–पटक सम्बन्धित निकाय र जनप्रतिनिधिको ध्यानाकर्षण गराए पनि निर्माण कार्यले गति लिन सकेको छैन । हुलाकी राजमार्ग निर्देशनालय र निर्माण पक्षबीच समन्वय अभाव तथा प्राविधिक समस्या देखाउँदै काममा ढिलाइ भइरहेको भन्दै स्थानीयले तत्काल निर्माण कार्य सुचारु गरी पुल सम्पन्न गर्न सरकारसँग माग गरेका छन् ।
