२०८३ असोज २० गते मङ्गलवार / Oct 06 , 2026 , Tuesday
२०८३ असोज २० गते मङ्गलवार

गौरमा मन्दिर शिलान्यास, धार्मिक सम्पदा संरक्षणमा नगरपालिकाको अग्रसरता

Nada
सत्येन्द्र प्रताप सिंह
२०८३ जेठ ५ गते २१:३६
Shares
गौरमा मन्दिर शिलान्यास, धार्मिक सम्पदा संरक्षणमा नगरपालिकाको अग्रसरता

रौतहट : गौर नगरपालिका वडा नं. ३ स्थित विद्यापतिनगरमा धार्मिक तथा सांस्कृतिक महत्व बोकेको शनि भगवान तथा बटुक भैरव मन्दिरको निर्माण कार्य औपचारिक रूपमा सुरु भएको छ । गौर नगरपालिकाको आर्थिक सहयोगमा निर्माण हुन लागेको उक्त मन्दिरको मंगलबार एक भव्य समारोहकाबीच नगरप्रमुख शम्भु साहले विशेष धार्मिक विधिअनुसार शिलान्यास गरेका छन् ।

ncell

विद्यापति महादेव मन्दिरको प्रांगण अगाडि निर्माण हुन लागेको यस धार्मिक संरचनाले स्थानीय समुदायमा आध्यात्मिक वातावरण सुदृढ बनाउने र सांस्कृतिक संरक्षणमा टेवा पु¥याउने विश्वास लिइएको छ ।

मन्दिर निर्माणका लागि गौर नगरपालिकाले प्रारम्भिक चरणमा ८ लाख रुपैयाँ बजेट विनियोजन गरेको छ । शिलान्यास कार्यक्रमलाई सम्बोधन गर्दै नगरप्रमुख शम्भु साहले धार्मिक आस्थाको सम्मान गर्नु स्थानीय सरकारको दायित्व भएको बताए ।

उनले गौर नगरपालिकाले भौतिक पूर्वाधारसँगै सामाजिक सद्भाव र सांस्कृतिक पर्यटनलाई समेत समान प्राथमिकतामा राखेर काम गरिरहेको उल्लेख गरे ।

यस धार्मिक योजनाको निर्माण कार्य स्थानीय समाजसेवी राघवेन्द्र झाको विशेष पहल तथा प्रत्यक्ष रेखदेखमा अगाडि बढाइएको छ । स्थानीय स्तरमा धार्मिक वातावरणलाई थप मजबुत बनाउन झासहितको टोलीले लामो समयदेखि पहल गर्दै आएको थियो । मन्दिर निर्माण सुरु भएपछि विद्यापतिनगरका स्थानीयवासीहरूमा उत्साह छाएको छ ।

स्थानीय नागरिकहरूका अनुसार मन्दिर निर्माण सम्पन्न भएपछि यस क्षेत्रमा धार्मिक गतिविधि बढ्नुका साथै दैनिक पूजा–आराधाना सहज हुनेछ । केही स्थानीय बुद्धिजीवीहरूले यस स्थललाई भविष्यमा धार्मिक पर्यटनको केन्द्रका रूपमा समेत विकास गर्न सकिने सम्भावना व्यक्त गरेका छन् । युवा पुस्तालाई आफ्नो धर्म र संस्कृतिसँग जोड्न यस्ता संरचनाले सकारात्मक भूमिका खेल्ने उनीहरूको बुझाइ छ ।

वैदिक मन्त्रोच्चारणसहित सम्पन्न भएको उक्त शिलान्यास कार्यक्रममा विभिन्न राजनीतिक दलका प्रतिनिधि, स्थानीय बुद्धिजीवी, समाजसेवी, सञ्चारकर्मी तथा सर्वसाधारणको उल्लेख्य उपस्थिति रहेको थियो। सहभागीहरूले सामाजिक सद्भाव र धार्मिक एकता कायम राख्न यस्ता सामूहिक अभियान फलदायी हुने धारणा राखेका थिए ।

विद्यापतिनगर क्षेत्रमा लामो समयदेखि मन्दिरको आवश्यकता महसुस गरिएकोमा अब सो पुरा हुने भएपछि स्थानीयले नगरपालिका र सम्बन्धित पक्षलाई धन्यवाद दिएका छन् । मन्दिर निर्माण सम्पन्न भएपछि यो क्षेत्र गौर नगरपालिकाभित्रकै एक महत्त्वपूर्ण धार्मिक केन्द्रका रूपमा स्थापित हुने अपेक्षा गरिएको छ ।

सम्बन्धित खबर