
उदयपुर : उदयपुरमा मापदण्डविपरीत सञ्चालन हुँदै आएको एक प्रशोधित पिउने पानी उद्योगलाई प्रशासनले सिल गरेको छ ।
त्रियुगा नगरपालिका–३ मोतिगडा स्थित लच्कामा सञ्चालित ‘नेपाल स्प्रिङ पानी’ उद्योगलाई जिल्ला प्रशासन कार्यालय उदयपुर र खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय उदयपुरको संयुक्त अनुगमन टोलीले मंगलबार सिल गरेको हो ।
उद्योगले प्रशोधित पिउने पानी उत्पादनमा खाद्य स्वच्छता तथा गुणस्तरसम्बन्धी मापदण्ड पालना नगरेको तथा उपभोक्ताबाट पानीको गुणस्तरबारे गम्भीर गुनासो आएपछि अनुगमन गरिएको प्रशासनले जनाएको छ ।
अनुगमनका क्रममा नियोन लाइट मल्टिपर्पोज प्रालिद्वारा उत्पादन हुँदै आएको ‘नेपाल स्प्रिङ पानी’ प्रशोधित पिउने पानी उत्पादन मापदण्ड सम्बन्धी निर्देशिका–२०७४ र खाद्य स्वच्छता तथा गुणस्तर ऐन–२०८१ विपरीत सञ्चालन भइरहेको भेटिएको खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय उदयपुरका प्रमुख निराजन मगरले जानकारी दिए ।
उनका अनुसार उद्योगले आवश्यक गुणस्तर कायम नगरेको, उत्पादन प्रक्रिया मापदण्डअनुसार नभएको तथा उपभोक्ताको स्वास्थ्यमा प्रत्यक्ष असर पर्ने अवस्था देखिएकाले तत्काल उत्पादन तथा बिक्री–वितरण रोक लगाइएको हो । तोकिएको मापदण्ड पूरा नगरेसम्म उद्योग सञ्चालन गर्न नपाइने कार्यालयले जनाएको छ ।
अनुगमन टोलीका अनुसार उद्योगलाई यसअघि पनि पटक–पटक चेतावनी र जरिवाना गरिएको थियो । केही समयअघि सो उद्योगको पानीको जारमा किरा समेत भेटिएको थियो । सुधारका लागि निर्देशन दिँदै आए पनि उद्योगले मापदण्ड पालना नगरेपछि अन्ततः सिल गर्नुपरेको सहायक प्रमुख जिल्ला अधिकारी विक्रम पाण्डेयले बताए ।
जिल्ला प्रशासन कार्यालय उदयपुरले उपभोक्ताको स्वास्थ्यसँग प्रत्यक्ष सम्बन्धित खाद्य तथा पेय पदार्थ उद्योगमाथि नियमित अनुगमनलाई थप कडाइ गरिने जनाएको छ । गुणस्तरहीन तथा मापदण्डविपरीत उत्पादन गर्ने उद्योगलाई कानुनी दायरामा ल्याइने चेतावनीसमेत प्रशासनले दिएको छ ।