
रौतहट : जिल्ला प्रशासन कार्यालय रौतहटमा पछिल्लो समय सेवाग्राहीको अत्यधिक भिड बढ्न थालेपछि प्रमुख जिल्ला अधिकारी दिनेश सागर भुसाल स्वयं नागरिकता फाँटमा खटिएका छन् । सेवा प्रवाहलाई छिटो, सहज र व्यवस्थित बनाउन उनले प्रत्यक्ष रूपमा फाँटमै पुगेर काम गरिरहेका हुन् ।
जेठ महिनाको चर्को गर्मीका बीच नागरिकता, राहदानी तथा राष्ट्रिय परिचयपत्र बनाउन आउने सेवाग्राहीको चाप बढेपछि सर्वसाधारणले लामो समय लाइनमा बस्नुपर्ने अवस्था सिर्जना भएको थियो । विशेषगरी नागरिकता फाँटमा फाइलको चाप अत्यधिक बढेपछि कर्मचारीलाई काम भ्याउन कठिन भइरहेको थियो ।
यही अवस्थालाई मध्यनजर गर्दै प्रजिअ भुसाल आफ्नो कार्यकक्षबाट निस्किएर नागरिकता फाँटमै पुगेर कागजात रुजु गर्ने, सेवाग्राहीलाई आवश्यक जानकारी दिने तथा कर्मचारीलाई छिटो सेवा प्रवाह गर्न निर्देशन दिइरहेका छन् ।
उनको सक्रियतापछि टाढाबाट आएका वृद्धवृद्धा, महिला तथा अशक्त सेवाग्राहीले राहत महसुस गरेका छन् । प्रजिअ भुसालले नागरिकलाई बिना झन्झट छिटो सेवा दिनु प्रशासनको मुख्य उद्देश्य रहेको बताएका छन् ।

“भिड बढेका बेला कर्मचारीको मात्र भर नपरी हामी आफैं पनि खटिँदा सेवाग्राहीको समय बचत हुन्छ र सकारात्मक सन्देश जान्छ,” उनले भने ।
जिल्ला प्रशासन कार्यालयमा बिहानैदेखि सेवाग्राहीको ठुलो भिड लाग्ने गरेको छ । भिड व्यवस्थापनका लागि प्रशासनले कुपन र टोकन प्रणाली लागू गरे पनि चाप उच्च हुँदा सेवा प्रवाहमा चुनौती थपिएको थियो ।
प्रमुख जिल्ला अधिकारी स्वयं फाँटमा खटिएपछि कर्मचारीमा समेत कामप्रति थप जिम्मेवारी र तत्परता देखिएको सेवाग्राहीले बताएका छन् । सेवा लिन आएका एक सेवाग्राहीले भने, “हाकिम साब आफैं फाइल हेरेपछि काम छिटो भयो, नत्र आज पनि पालो नआउला भन्ने डर थियो ।”
पछिल्लो समय जिल्ला प्रशासन कार्यालय रौतहटले सेवाग्राहीमैत्री वातावरण निर्माण, बिचौलियाको चलखेल नियन्त्रण तथा पारदर्शी सेवा प्रवाहका लागि अनुगमनसमेत कडाइ गरेको जनाएको छ ।