
रौतहट : रौतहटको उत्तरी भेगमा रहेको चन्द्रपुर नगरपालिकास्थित चाँदी नदीमा भइरहेको अव्यवस्थित र अवैध नदीजन्य पदार्थको उत्खननले स्थानीय जनजीवन कष्टकर बनेको छ । विकास निर्माणको बहानामा भइरहेको यो दोहनले एकातिर पर्यावरणीय संकट निम्त्याएको छ भने अर्कोतिर दैनिक सञ्चालन हुने सयौं ओभरलोड टिपरका कारण स्थानीयहरु टिपर आतंकबाट त्रसित बन्न पुगेका छन् ।
चन्द्रपुर नगरपालिकाले आर्थिक वर्ष २०८२/०८३ का लागि वडा नम्बर ३ र ४ अन्तर्गतको चाँदी खोलामा नदीजन्य पदार्थ उत्खननका लागि अनुमति दिएको थियो । ८ चैत २०८२ मा भएको सम्झौताअनुसार सर्लाहीको बरहथवास्थित एमआर कन्स्ट्रक्सनले १ करोड ६८ लाख ९९ हजार ६० रुपैयाँ भ्याटसहितमा ठेक्का सकार गरेको थियो । ठेक्का सम्झौता नम्बरएनसीबी–सीएम–२०८२–०८३–०३ ले तोकिएको क्षेत्रबाट ६८ हजार ९६७ घनमिटर मात्र नदीजन्य पदार्थ उत्खनन गर्न पाइने स्पष्ट व्यवस्था गरेको छ । तर जेठ मसान्तसम्मको समयसीमा बाँकी रहँदै गर्दा ठेकेदार कम्पनीले तोकिएको परिमाणभन्दा धेरै गुणा बढी उत्खनन गरिसकेको स्थानीयको आरोप छ ।
स्थानीयवासीका अनुसार वडा नम्बर ४ को टेकान क्षेत्र हुँदै दैनिक दर्जनौँ ओभरलोड टिपर तीव्र गतिमा गुड्ने गरेका छन् । यसले ग्रामीण भित्री सडकहरू जीर्ण बन्दै गएका छन् भने धुलो र पानी चुहिने समस्याले जनजीवन प्रभावित भएको छ ।
गाउँको बीचबाट दिनहुँ ओभरलोड टिपर गुडिरहेका छन् तर सम्बन्धित निकाय मुकदर्शक बनेका छन् एक स्थानीयले गुनासो गर्दै भने, सबै सेटिङमा मस्त छन् । केही जनप्रतिनिधिको नै यसमा लगानी रहेको आशंका छ त्यसैले अनुगमन गर्ने आँट कसैले गरेका छैनन् ।
नगरपालिका र डिभिजन वन कार्यालयले हालसम्म स्थलगत अनुगमन नगर्नुले पनि प्रशासनको मौनतालाई शंकाको घेरामा राखेको छ। गैडाटार जाने बाटोमा रहेको पुलको दुवैतर्फ भइरहेको तीव्र उत्खननले गर्दा उक्त पुल नै जोखिममा परेको प्राविधिकहरू बताउँछन् ।
वातावरणविद्हरूका अनुसार चाँदी खोलामा भइरहेको यो दोहनले दीर्घकालीन संकट निम्त्याउने निश्चित छ । अवैध उत्खननले नदीको प्राकृतिक बहाव बदलिने र बाढीको जोखिम बढ्ने, करोडौंको लगानीमा निर्मित टेकान बसपार्क लगायतका सार्वजनिक संरचनाहरू उच्च जोखिममा, तीव्र गतिको टिपर आतंकले दुर्घटनाको सम्भावना उच्च रहेकको छ ।
स्थानीयवासीले नगरपालिका र नियामक निकायसँग अवैध उत्खनन तत्काल रोक्न र स्थलगत अनुगमन गरी मापदण्ड पालना गराउन जोडदार माग गरेका छन् । यद्यपि व्यापक जनगुनासोका बाबजुद चन्द्रपुर नगरपालिकाले अहिलेसम्म कुनै औपचारिक प्रतिक्रिया दिएको छैन ।
यसैगरी जिल्लाका बागमती र बकैया नदीमा समेत अवैध क्रसर उद्योग र खोला माफियाको बिगबिगी जारी छ । समयमै यी गतिविधि नियन्त्रण नगरिए रौतहटको भूगोल र जनस्वास्थ्यले ठुलो मूल्य चुकाउनुपर्ने चेतावनी सरोकारवालाहरूले दिएका छन् ।