२०८३ असोज २३ गते शुक्रवार / Oct 09 , 2026 , Friday
२०८३ असोज २३ गते शुक्रवार

१४ महिनादेखि तलब नपाएपछि उदयपुर सिमेन्ट उद्योगका कर्मचारी आन्दोलित

Nada
बिन्द्र राई
२०८३ जेठ ८ गते १४:४३
Shares
१४ महिनादेखि तलब नपाएपछि उदयपुर सिमेन्ट उद्योगका कर्मचारी आन्दोलित

काठमाडौं : उदयपुर सिमेन्ट उद्योग लिमिटेडमा कार्यरत मजदुर तथा कर्मचारीहरू लामो समयदेखि तलब, सञ्चयकोष, नागरिक लगानी कोषलगायत सेवा–सुविधा नपाएको भन्दै आन्दोलनमा उत्रिएका छन् ।

ncell

त्रियुगा नगरपालिका–६ जल्जलेस्थित उद्योग परिसरको मूल गेटमा शुक्रबार पत्रकार सम्मेलन गर्दै कर्मचारी तथा मजदुरहरूले आफ्ना माग तत्काल सम्बोधन गर्न सरकार र उद्योग व्यवस्थापनसँग आग्रह गरेका हुन् ।

मजदुर संघर्ष समिति उदयपुर सिमेन्ट उद्योग लिमिटेडका संयोजक देवनारायण झाले उद्योगमा कार्यरत श्रमिकले १४ महिनादेखि तलब–ज्याला नपाएको बताए । उनका अनुसार कर्मचारीहरूको तलबबाट कट्टा गरिएको सञ्चयकोषको रकम तीन वर्ष नौ महिनादेखि सम्बन्धित निकायमा जम्मा गरिएको छैन भने नागरिक लगानी कोषतर्फ कट्टा गरिएको रकम पनि दुई वर्ष ११ महिनादेखि रोकिएको छ ।

संघर्ष समितिले सार्वजनिक गरेको विवरणअनुसार उद्योगले तीन वर्षदेखि कर्मचारीहरूको बीमा प्रिमियमसमेत बुझाएको छैन । अवकाश प्राप्त ८ जना कर्मचारी तथा मजदुरको मृत्यु भइसके पनि उनीहरूले पाउनुपर्ने सेवा–सुविधा परिवारले अझै प्राप्त गर्न नसकेको समितिको दाबी छ ।

त्यस्तै, २०७८ सालदेखि अनिवार्य अवकाशमा गएका १३९ जना कर्मचारी तथा मजदुरले हालसम्म अवकाशबापतको सुविधा नपाएको जनाइएको छ । दैनिक ज्यालादारी श्रमिक तथा सुरक्षा गार्डहरूको बाँकी पारिश्रमिकसमेत भुक्तानी नभएको संघर्ष समितिले जनाएको छ ।

कर्मचारी तथा मजदुरहरूले समस्या समाधानका लागि पटक–पटक तालुक मन्त्रालय र सम्बन्धित निकायको ध्यानाकर्षण गराए पनि कुनै ठोस पहल नभएको गुनासो गरेका छन् । सरकार र उद्योग व्यवस्थापनबाट विश्वसनीय वातावरण नबनेपछि पत्रकार सम्मेलनमार्फत आन्दोलनका कार्यक्रम सार्वजनिक गर्न बाध्य भएको संघर्ष समितिको भनाइ छ ।

आन्दोलनरत पक्षले एक वर्ष दुई महिनाको बाँकी तलब, सञ्चयकोष तथा नागरिक लगानी कोषमा कट्टा गरिएको रकम, बीमा प्रिमियम, अवकाश प्राप्त कर्मचारीहरूको सेवा–सुविधा तथा दैनिक ज्यालादारी र सुरक्षाकर्मीहरूको बाँकी पारिश्रमिक तत्काल उपलब्ध गराउन माग गरेका छन् ।

फागुन महिनादेखि बन्द रहेको उद्योगमाथि कर्मचारी तथा मजदुरलाई तिर्नुपर्ने दायित्व ठुलो मात्रामा थुप्रिएको छ । उद्योगले गत वैशाख ११ गते उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयलाई पठाएको पत्रअनुसार कुल १ अर्ब ४ करोड २४ लाख १३ हजार रुपैयाँभन्दा बढी दायित्व बाँकी रहेको उल्लेख गरिएको छ ।

उक्त विवरणअनुसार कर्मचारीहरूको बाँकी तलब मात्रै ८ करोड ८० लाख रुपैयाँभन्दा बढी रहेको छ । सञ्चयकोषतर्फ करिब ९ करोड ५१ लाख रुपैयाँ र नागरिक लगानी कोषतर्फ ३ करोड ६९ लाख रुपैयाँभन्दा बढी दाखिला गर्न बाँकी रहेको जनाइएको छ ।

यस्तै, अतिरिक्त कार्यसमयको भत्ता, बीमा रकम, बिदा मुआब्जा, सट्टा बिदा तथा महँगी भत्तासमेत उद्योगले भुक्तानी गर्न बाँकी रहेको उल्लेख छ । सुरक्षा सेवा उपलब्ध गराउँदै आएको गोरखाली योद्धा सेक्युरिटी प्रालिलाई पनि एक करोड ७१ लाख रुपैयाँभन्दा बढी भुक्तानी दिन बाँकी रहेको बताइएको छ ।

अवकाश प्राप्त कर्मचारीहरूको दायित्व मात्रै ७१ करोड ३७ लाख रुपैयाँभन्दा बढी रहेको उद्योगको विवरणमा उल्लेख गरिएको छ ।

२०४४ साल जेठ ३१ गते जापान सरकारको आर्थिक तथा प्राविधिक सहयोगमा स्थापना भएको उदयपुर सिमेन्ट उद्योगलाई एक समय एसियाकै ठुला सिमेन्ट उद्योगमध्ये एक मानिन्थ्यो । तर राजनीतिक हस्तक्षेप, अस्थिर व्यवस्थापन र चरम लापरबाहीका कारण उद्योग निरन्तर संकटमा पर्दै आएको स्थानीयको भनाइ छ ।

उद्योग सञ्चालनका लागि आवश्यक चुनढुंगा जिल्लाको उत्तरी भेग सुकौराबाट रोपवेमार्फत ढुवानी हुँदै आएको भए पनि रोपवे पटक-पटक बिग्रिने र समयमै मर्मत नहुँदा भाडाका ट्रक प्रयोग गरेर कच्चा पदार्थ ढुवानी गर्नुपर्ने अवस्था रहेको बताइएको छ ।

सम्बन्धित खबर