
सर्लाही : सर्लाहीमा मकै खेती गर्ने किसानहरूले उत्पादनको उचित मूल्य नपाउँदा ठुलो समस्यामा परेको गुनासो गरेका छन् । खेतीपातीमा लाग्ने लागत निरन्तर बढ्दै गए पनि मकैको बजार मूल्य भने वर्षौंदेखि स्थिर रहँदा किसानहरू निराश बनेका हुन् ।
किसानहरूका अनुसार मल, बीउ, विषादी, सिंचाइ तथा मजदुरी खर्च हरेक वर्ष बढिरहेको छ । तर मकैको बिक्री मूल्य भने विगत पाँच वर्षदेखि लगभग उस्तै रहेकाले उत्पादन लागत समेत उठाउन कठिन भएको उनीहरूको भनाइ छ ।
बरहथवा–५ का किसान जगलाल महतोले सरकारले मकैको समर्थन मूल्य निर्धारण नगर्दा व्यापारीहरूले मनोमानी ढंगले खरिद गर्ने गरेको आरोप लगाए । उनका अनुसार बजार व्यापारीकै नियन्त्रणमा रहेकाले किसानहरू बाध्य भएर कम मूल्यमा मकै बेच्न विवश छन् ।
बागमती नगरपालिका–८ का किसान कृष्णदेव महतोले अहिले मकै प्रतिक्विन्टल करिब दुई हजार आठ सय रुपैयाँमा बिक्री भइरहेको बताए । “सबै वस्तुको मूल्य बढेको छ, तर मकैको मूल्य बढ्नुको सट्टा झन् घट्दो अवस्थामा छ,” उनले भने, “यस्तो अवस्था कायम रहे आगामी वर्ष मकै खेती गर्ने किसानको संख्या घट्न सक्छ ।”
सर्लाहीमा पछिल्ला वर्षहरूमा कृषि क्षेत्रमा निर्भर अधिकांश किसानले मकैलाई हिउँदे नगदे बालीका रूपमा उत्पादन गर्दै आएका छन् । विशेषगरी सिँचाइ सुविधा भएका बागमती, बरहथवा र हरिपुर नगरपालिकामा विगत दुई दशकदेखि व्यावसायिक रूपमा मकै खेती हुँदै आएको छ ।
जिल्लाका अधिकांश क्षेत्रमा विद्युत् पहुँच विस्तार भएसँगै सिँचाइ सुविधा बढेको र मकै खेतीको क्षेत्र विस्तार भइरहेको कृषि ज्ञान केन्द्र सर्लाहीले जनाएको छ । तर उत्पादनअनुसार उचित मूल्य नपाउँदा किसानहरूको आम्दानीमा प्रत्यक्ष असर परेको छ ।
किसानहरूले उत्पादन लागतका आधारमा मकैको न्यूनतम समर्थन मूल्य निर्धारण गर्न, बजार व्यवस्थापन प्रभावकारी बनाउन तथा बिचौलियाको नियन्त्रण घटाउन सरकारसँग माग गरेका छन् ।
कृषि विज्ञहरूका अनुसार किसानलाई मकै उत्पादनमा आकर्षित राख्न समयानुकूल समर्थन मूल्य, सहज बजार पहुँच र भण्डारण व्यवस्थाको आवश्यकता छ । अन्यथा आगामी वर्षहरूमा मकै उत्पादन घट्दै जाने र त्यसले खाद्य तथा पशु आहार क्षेत्रमा समेत असर पार्न सक्ने चेतावनी उनीहरूले दिएका छन् ।