२०८३ असोज २० गते मङ्गलवार / Oct 06 , 2026 , Tuesday
२०८३ असोज २० गते मङ्गलवार

गौरमा ट्राफिक प्रहरीको निगरानी उच्च, नियम उल्लंघन गर्ने दर्जनौं सवारी साधन कारबाहीमा

Nada
सत्येन्द्र प्रताप सिंह
२०८३ जेठ १५ गते ११:५७
Shares
गौरमा ट्राफिक प्रहरीको निगरानी उच्च, नियम उल्लंघन गर्ने दर्जनौं सवारी साधन कारबाहीमा

रौतहट : रौतहटको गौरमा ट्राफिक नियम उल्लंघन गर्ने तथा आवश्यक कागजातबिना सवारी चलाउने चालकविरुद्ध जिल्ला ट्राफिक प्रहरी कार्यालयले निगरानी कडा बनाएको छ । बढ्दो सवारी दुर्घटना र अव्यवस्थित यातायातलाई नियन्त्रण गर्ने उद्देश्यले शुक्रबार बिहानदेखि गौर क्षेत्रमा विशेष सरप्राइज चेकिङ अभियान सञ्चालन गरिएको हो ।

ncell

जिल्ला ट्राफिक प्रहरी कार्यालय गौरका प्रमुख रामबली महतोको नेतृत्वमा खटिएको टोलीले जिल्ला प्रहरी कार्यालयको मुख्य प्रवेशद्वार अगाडि सघन चेकजाँच गरेको थियो । अभियानका क्रममा भारतीय नम्बर प्लेटका सवारीसाधनले अनिवार्य भन्सार प्रक्रिया पूरा गरे–नगरेको तथा अस्थायी अनुमति पत्र बोकेको–नबोकेको विषयमा विशेष निगरानी गरिएको प्रहरीले जनाएको छ ।

त्यसैगरी नम्बर प्लेट स्पष्ट नभएका, सवारी चालक अनुमति पत्र र ब्लुबुक साथमा नराखी सवारी चलाउने चालकलाई नियन्त्रणमा लिइएको छ । मोटरसाइकलमा हेल्मेट नलगाउने तथा ट्रिपल राइडिङ गर्नेहरूमाथि समेत कारबाही गरिएको प्रहरीले जनाएको छ ।

बिहानी समयमा समेत मादक पदार्थ सेवन गरेर सवारी चलाउने चालकलाई लक्षित गर्दै ब्रेथलाइजर परीक्षण गरिएको थियो । ट्राफिक प्रमुख महतोले सडक सुरक्षाका लागि नियम पालना अनिवार्य रहेको बताउँदै लापरबाही गर्नेलाई कुनै छुट नदिइने स्पष्ट पारे ।

उनले ट्राफिक अभियानको उद्देश्य जरिवाना संकलन मात्र नभई सडक सुरक्षा कायम गर्नु र दुर्घटना न्यूनीकरण गर्नु रहेको बताए ।

यसैबीच जिल्ला ट्राफिक प्रहरी कार्यालय रौतहटका प्रमुख राजेन्द्र थापा मगरले जिल्लाभरका ट्राफिक युनिटलाई थप सतर्कता अपनाउन र चेकजाँचलाई प्रभावकारी बनाउन निर्देशन दिएका छन् । उनले कानुन उल्लंघन गर्ने जोसुकै भए पनि कारबाहीको दायरामा ल्याइने बताए ।

ट्राफिक प्रहरीको सक्रियतापछि गौर बजार क्षेत्रमा सवारी सञ्चालनमा केही अनुशासन देखिन थालेको स्थानीयले बताएका छन् । बिना अनुमति नेपाल प्रवेश गर्ने भारतीय सवारीसाधनमाथिको कडाइले राजस्व चुहावट नियन्त्रणमा समेत सहयोग पुग्ने विश्वास गरिएको छ ।

जिल्ला ट्राफिक कार्यालयले आगामी दिनमा ग्रामीण सडक क्षेत्रमा समेत निगरानी बढाउँदै यस्ता अभियानलाई निरन्तरता दिने जनाएको छ ।

ताजा खबर

सम्बन्धित खबर