२०८३ असोज २० गते मङ्गलवार / Oct 06 , 2026 , Tuesday
२०८३ असोज २० गते मङ्गलवार

ह्यान्डिल लकले मात्र सुरक्षित हुँदैनन् मोटरसाइकल

Nada
सपना बोहरा
२०८३ जेठ २१ गते ०६:३०
Shares
ह्यान्डिल लकले मात्र सुरक्षित हुँदैनन् मोटरसाइकल

काठमाडौं : सुकेधारा बस्दै आएकी निर्मला केसीले स्कुलबाट बच्चालाई लिएर घरको गेटअगाडि स्कुटी राखिन् । बच्चालाई घरभित्र पुर्‍याएर गेटमा आउँदा सात मिनेटमै स्कुटी गायव भयो । उनले यताउता खोजी गर्दा पनि स्कुटी भेटिनन् । 

ncell

‘बच्चालाई घरभित्र पुर्‍याएर मात्रै निस्किने त हो नि भनेर स्कुटी गेटमै छाडेको थिएँ, सात मिनेटमै स्कुटी हरायो,’ उनले भनिन्, ‘सिसी क्यामेरामा चेक गर्दा स्कुटी एकजना पुरुषले चलाएको देखिन्छ, मान्छे चिनिँदैन ।’ 

त्यसपछि उनले ट्राफिक प्रहरी कार्यालयमा निवेदन दिइन् । निवदेन दिएको ६ महिनामा प्रहरीले स्कुटी फेला पारेको खबर आयो । बुधबार उनले काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयमा पुगेर स्कुटर बुझिन् । उनले भनिन्, ‘स्कुटर भेटिएला भन्ने लागेको थिएन, तर प्रहरीले भेटाइदिनुभयो धेरै खुसी लाग्यो ।’

कालीमाटीका मोहन थापाको पनि घरमै पार्क गरेर राखेको मोटरसाइकल यसरी नै हराएपछि प्रहरी गुहारेका थिए । मोटरसाइकल पाएपछि उनले ‘सत्यको धन फर्किएर आउँछ’ भन्दै खुसी व्यक्त गरेका थिए । ‘मिहिनेत गरेर पैसा जोगाई–जोगाई किनेको बाइक हो,’ उनले भने, ‘हराउँदा ठुलो पीडा भएको थियो, प्रहरीले भेटाएर ल्याइदिनुभयो खुसीको सीमा छैन ।’ 

बुढानीलकण्ठका अनिल पन्थको ४० दिनअघि चोरी भएको थियो । चोरी भएको बाइक पाइएपछि उनले खुसी हुँदै लड्डु र खादा लिएर ट्राफिक प्रहरीलाई सम्मान नै गरेका थिए । ‘पार्किङमै राखेको बाइक चोरी भयो, भेटिने आशा कम नै थियो,’ उनले भने, ‘४० दिनमै बाइक भेटिएको खबरले खुसी लाग्यो । 

दुई वर्षपहिले चोरी भएको स्कुटी फेला परेको खबर काठमाडौंकी मीना रेग्मीलाई सुरुमा विश्वास नै लागेन । ट्राफिक कार्यालयबाट ‘स्कुटी भेटिएको छ, लिन आउनु’ भनेर खबर आएपछि उनी अचम्ममा परिन् । उनी पनि बुधबार चोरी भएको स्कुटर लिन कार्यालय पुगेकी थिइन् । उनले भनिन्, ‘दुई वर्षसम्म स्कुटी भेटिएला भन्ने आशा लागेको थिएन ।’ 

काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले काठमाडौं उपत्यकाका विभिन्न स्थानबाट हराएका ४० वटा दुईपांग्रे सवारीसाधन सम्बन्धित धनीलाई फिर्ता गरेको छ । ती सवारीमध्ये २५ मोटरसाइकल र १५ स्कुटर रहेका छन् ।

काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार खोजतलासका क्रममा विभिन्न मिति र स्थानमा चोरी भएका तथा हराएका सवारीसाधन नियन्त्रणमा लिएर आवश्यक प्रक्रिया पूरा गरी औपचारिक रूपमा हस्तान्तरण गरिएको हो । 

कार्यालयका सूचना अधिकारी नरेशराज सुवेदीका अनुसार, हालसम्म गत साउनयता मात्र ५०२ वटा सवारीसाधन सम्बन्धित धनीलाई फिर्ता गरिएको छ । यसै क्रममा चोरीमा संलग्न ४५ जनालाई समेत नियन्त्रणमा लिएर आवश्यक कानुनी प्रक्रिया अघि बढाइएको कार्यालयले जनाएको छ । ‘प्राप्त निवेदन तथा विभिन्न सूचनाका आधारमा खोजी अभियान सञ्चालन गरी ती सवारी फेला पारिएको हो,’ उनले भने ।

प्रहरीका अनुसार ती सवारी साधनहरू काठमाडौं उपत्यकाका सिम्ले, गुर्जुधारा, धर्मस्थली, नयाँ बसपार्क, जम्बुडाँडा, सातदोबाटो, काँडाघारी, बानेश्वर, जोरपाटी, गोकर्ण, कीर्तिपुर, सुकेधारा, चुनदेवी, नैकाप, सुन्दरीजल, बौद्ध र जयबागेश्वरीलगायत क्षेत्रबाट बरामद गरिएको हो । 

काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रमुख नवराज अधिकारीले बाइकको ह्यान्डिल लक गरेर मात्र बाइक सुरक्षित नहुने बताए । ‘मोटरसाइकल चोरी गर्नेले ह्यान्डिल लक भएर राखिएको पनि चोरी भएको छ,’ उनले भने, ‘केही सवारीमा वास्तविक नम्बर प्लेट र केहीमा नक्कली नम्बर प्लेट प्रयोग गरिएको पाइएको छ ।’ 

मोटरसाइकल चोरेर अन्यत्र जिल्ला तथा उपत्यकाबाहिर लगेर बेच्ने गरेको उनी बताउँछन् । दुईपांग्रे सवारीसाधन सुरक्षित राख्न जिपिएस जडान गर्नुपर्ने उनको सुझाव छ । उनी भन्छन्, ‘यदि जिपिएस जडान गरिएको छ भने तुरुन्त फेला पर्छ ।’ 

आफ्नो सवारी साधन सुरक्षित स्थानमा पार्किङ गरी ह्यान्डिल लक, डिस्क, लकलगायत सुरक्षा साइरन जडान गर्न, जिपिएस जडान गर्न र मानिसको आवत–जावत नहुने एकान्त स्थानमा सवारीसाधन पार्किङ नगर्न उनले अनुरोध गरेका छन् । 

ताजा खबर

सम्बन्धित खबर