
काठमाडौं : पाँच सदस्यीय आरोहण टोलीसहित ओखलढुंगाका ५७ वर्षीय दावा शेर्पा जेठ १३ गते सगरमाथा आरोहणका लागि प्रस्थान गरेका थिए । एक अमेरिकी र एक पोलिस नागरिकसहितको टोलीमा उनलाई गाइडका रूपमा काठमाडौंस्थित हिमालयन ट्राभर्स एडभेन्चरले सगरमाथा पठाएको थियो ।
सगरमाथा आरोहणका क्रममा टोलीले जेठ १९ गते शिखरतर्फको यात्रा स्थगित गर्दै फर्कियो । अक्सिजन अभावका कारण उनीहरू फर्किनुपरेको हो । टोलीका सदस्य मारियुश च्मिएलेव्स्कीले सामाजिक सञ्जाल फेसबुकमा अक्सिजन अभावका कारण आफ्नो टोली ८ हजार ४ सय ५० मिटर उचाइबाट फर्किन बाध्य भएको बताएका थिए ।
उनले दावा शेर्पा सम्पर्कविहीन भएको उल्लेख गर्दै उनको मृत्यु भएको आशंका व्यक्त गरेका थिए । सामान्यतया सगरमाथामा हराएका व्यक्तिहरू जीवित भेटिनु दुर्लभ मानिन्छ । तर ६ दिनसम्म बेपत्ता रहेका दावा अन्ततः जीवितै फेला परे ।
हिमालयन ट्राभर्स एडभेन्चर प्रालिका अनुसार, जेठ १४ गते शिखरतर्फ अघि बढ्ने क्रममा दावा शेर्पाको अक्सिजन प्रणालीमा समस्या आएको थियो । अवस्था जटिल बन्दै गएपछि व्यक्तिगत सुरक्षालाई प्राथमिकता दिँदै उनले आरोहण स्थगित गरेर फर्किने निर्णय गरेका थिए । फर्किने क्रममा जेठ १५ गते तेस्रो शिविर (क्याम्प–३) आसपासबाट उनी सम्पर्कविहीन भएका थिए ।
यसबीच, शेर्पा अत्यन्त प्रतिकूल अवस्थामा हिउँमा संघर्ष गरिरहेका थिए । उनी बिहीबार बिहान सगरमाथा आधार शिविर (बेस क्याम्प) नजिकको क्याम्पोन पोइन्ट क्षेत्रमा हिउँमा घस्रिँदै गरेको अवस्थामा फेला परेका थिए । उक्त क्षेत्र सगरमाथाको अत्यन्त जोखिमपूर्ण भूभाग मानिन्छ । क्याम्प–३ र क्याम्प–४ भन्दा माथिको क्षेत्रलाई ‘डेथ जोन’ भनिन्छ, जहाँ अक्सिजनको अत्यधिक अभाव र कठोर मौसमका कारण केही घण्टाभन्दा बढी बाँच्नसमेत कठिन हुन्छ ।
खाना, पानी र पर्याप्त अक्सिजनबिनै चिसो हिमाली वातावरणमा ६ दिन बिताएका शेर्पाको अवस्था निकै कमजोर बनेको थियो । हिउँमा घस्रिँदै तल झर्ने क्रममा उनका पछाडिका कपडा पूर्ण रूपमा च्यातिएका थिए । शरीरका विभिन्न भागमा फ्रस्टबाइट (हिउँले खाने समस्या) देखिएको छ भने उनी निकै सुस्त गतिमा बोलिरहेका छन् ।
६ दिनसम्म कुनै खबर नआएपछि परिवार र आफन्तहरूले उनको जीवित उद्धार हुने आशा लगभग त्यागिसकेका थिए । पेसाले पर्वतीय गाइड रहेका दावा शेर्पाको यो अविश्वसनीय जीवित उद्धार अहिले पर्वतारोहण क्षेत्रमा चर्चाको विषय बनेको छ ।
नेपाल पर्यटन बोर्डका निर्देशक तथा सूचना अधिकारी हिमाल गौतमका अनुसार, बिहीबार बिहान आधार शिविरबाट करिब ४० मिनेटको दूरीमा पर्ने क्याम्पोन पोइन्टभन्दा केही तल दावा शेर्पालाई फेला पारिएको थियो । त्यहाँ फोहोर व्यवस्थापनका लागि माथि जाँदै गरेको एसपिसिसी (सगरमाथा प्रदूषण नियन्त्रण समिति)को टोलीले उनलाई हिउँमा घस्रिँदै तल आइरहेको अवस्थामा देखेको थियो ।
‘उनी हिँड्न सक्ने अवस्थामा थिएनन् । एसपिसिसीको टोलीले पालैपालो बोकेर करिब साढे दुईदेखि तीन घण्टाको प्रयासपछि गोरक्षेपसम्म ल्याएको हो,’ गौतमले बताए ।
गोरक्षेपबाट हेलिकोप्टरमार्फत उनलाई काठमाडौं ल्याई ह्याम्स अस्पतालमा भर्ना गरिएको छ । चिकित्सकहरूका अनुसार उनको अवस्था हाल स्थिर छ । यद्यपि, हात र खुट्टामा गम्भीर फ्रस्टबाइट देखिएकाले विशेष उपचार जारी छ ।
पर्यटन विभागले गर्नेछ छानबिन
सगरमाथा आरोहणका क्रममा ६ दिनसम्म सम्पर्कविहीन भएका गाइड दावा शेर्पा जीवितै फेला परेको घटनामा पर्यटन विभागले विस्तृत छानबिन गर्ने भएको छ ।
विभागले हिमालयन ट्राभर्स एडभेन्चर प्रालिका सञ्चालक दावा शेर्पा तथा आधार शिविरमा रहेका उनका छोरा आङ फुर्वा शेर्पालाई सोधपुछका लागि बोलाउने तयारी गरेको छ । उक्त आरोहण अनुमति हिमालयन ट्राभर्समार्फत ठमेलस्थित एटकेको नाममा जारी गरिएको थियो । विभागले एटकेका सञ्चालकसँग पनि घटनाबारे जानकारी लिने जनाएको छ ।
पर्यटन विभागका महानिर्देशक रामकृष्ण लामिछानेले घटनाको विस्तृत अनुसन्धान गरिने र जहाँ कमजोरी वा लापरबाही देखिन्छ, त्यहाँ कानुनअनुसार कडा कारबाही गरिने बताए ।
‘घटनाको सबै पक्षबाट अध्ययन गर्छौं । यदि कुनै कम्पनी वा सम्बन्धित पक्षको लापरबाही पुष्टि भएमा आवश्यक कारबाहीका साथै कालोसूचीमा राख्नेसम्मका कदम चालिनेछ,’ उनले भने ।