
रौतहट : रौतहटको देवाही गोनाही नगरपालिका–४ स्थित रामजानकी मठदेखि ईमलिया टोलसम्म निर्माणाधीन कालोपत्रे सडकमा गम्भीर अनियमितता र लापरबाही भएको भन्दै स्थानीयले विरोध गरेका छन् । न्यूनतम मापदण्ड समेत पालना नगरी हतारमा गुणस्तरहीन काम भइरहेको भन्दै स्थानीयवासी आन्दोलित भएका हुन् ।
स्थानीयका अनुसार निर्माणको जिम्मा पाएको ठेकेदार कम्पनीले प्राविधिक लागत इष्टिमेटलाई बेवास्ता गर्दै कमजोर संरचना बनाइरहेको छ । सडक डिभिजन कार्यालय चन्द्रनिगाहपुरका प्राविधिक इन्जिनियर संजय यादव र ठेकेदारबीच मिलेमतो भएको आशंका गर्दै अनुगमन फितलो बनाइएको आरोप समेत लगाइएको छ ।
सरकारी निर्माण योजनामा अनिवार्य रूपमा राख्नुपर्ने लागत, ठेक्का विवरण र समयसीमासहितको सूचना बोर्डसमेत उक्त सडक खण्डमा नराखिएको स्थानीयको गुनासो छ । यसले योजनामा अपारदर्शिता र आर्थिक अनियमितताको आशंका थप बलियो बनाएको उनीहरूको भनाइ छ।
यस विषयमा नेकपा एमाले रौतहटका उपाध्यक्ष रूपेश कुमार पटेलले गम्भीर ध्यानाकर्षण भएको जनाएका छन् । उनले राज्यकोषको दुरुपयोग गरेर जनताको विकासमा खेलबाड गर्न नदिइने भन्दै तत्काल स्थलगत अनुगमन र गुणस्तर परीक्षण गर्न माग गरेका छन् । मिलेमतो प्रमाणित भए दोषीमाथि कडा कारबाही हुनुपर्ने उनको भनाइ छ ।
यसैबीच, प्राविधिक इन्जिनियर यादवसँग सम्पर्क हुन नसकेको भए पनि सडक डिभिजन स्रोतले कमजोरी भेटिए सुधार गराइने र मापदण्डविपरीतका काम स्वीकार नगर्ने जनाएको छ ।
गुणस्तरहीन निर्माणका कारण हिउँदमा धूलो र वर्षामा हिलोको समस्या बढ्ने चिन्ता व्यक्त गर्दै स्थानीयवासी आफैं अनुगमनमा उत्रिएका छन् । मापदण्डअनुसार गुणस्तरीय काम नभएसम्म निर्माण अघि बढ्न नदिने र आवश्यक परे आन्दोलनमा जाने चेतावनी समेत दिएका छन् ।