
चढ्छ नामी तगारोमा, समय बलवान् छ यो ।
यसैको चक्रभित्रै त, सारा संसार चल्दछ ।।
नेपाली साहित्यका विराट प्रतिभा राष्ट्रकवि माधवप्रसाद घिमिरेको काव्यिक चेतले सधैं समयको शक्तिलाई यसरी नै उच्च स्वीकारेको छ । वास्तवमा समय एउटा यस्तो नदी हो, जो कहिल्यै प्रत्युत्पादन हुँदैन, कहिल्यै पछाडि फर्कंदैन । यसको गति निरन्तर छ, शाश्वत छ र निर्दयी पनि छ । मानव सभ्यताको उषाकालदेखि नै एउटा अहं प्रश्नले मानिसलाई सधंैं लखेटिरहेको छ– समयअनुसार जीवन चलाउने कि जीवनअनुसार समयलाई मोड्ने ? घोत्लिएर हेर्दा, समयलाई आफ्नो मुठीमा राख्न सक्ने सामथ्र्य संसारमा कसैको पनि छैन । त्यसैले, समयको गति र मागलाई बुझेर सोहीअनुरूप आफूलाई रूपान्तरण गर्नु नै जीवनलाई सार्थक, सफल र सान्दर्भिक बनाउने एकमात्र अचुक मार्ग हो ।
समय अनुकूल चल्नु भनेको परिस्थितिको दास बन्नु होइन, बल्कि परिस्थितिलाई बुझेर आफ्नो डुंगाको पाललाई सही दिशामा मोड्नु हो । भनिन्छ नि, ‘नदीको प्रवाहसँगै पौडी खेल्न सजिलो हुन्छ, धारको विपरीत जाँदा ऊर्जा मात्र नष्ट हुन्छ ।’ इतिहास साक्षी छ, जसले समयको पदचापलाई चिन्न सकेनन्, तिनीहरू समयको पानाबाट यसरी मेटिए कि आज तिनको अस्तित्व केवल दन्त्यकथामा सीमित छ । चाहे ती विशालकाय डाइनोसर हुन् वा समयको प्रविधिसँगै आफूलाई बदल्न नसक्ने नोकियाजस्ता बहुराष्ट्रिय कम्पनीहरू– समयको मागलाई उपेक्षा गर्ने सधैं पतन नै भएको छ । त्यसैले, समयको गतिसँगै कदम मिलाउनु जीवनको बाध्यता मात्र होइन, विवेकशीलता पनि हो ।
मानिस एक सामाजिक र चेतनशील प्राणी हो । हामी रित्तो हात आउँछौं र रित्तै हात जान्छौं, तर यो दुईवटा विन्दुबीचको जुन यात्रा छ, त्यसलाई कसरी जिउने भन्ने कुरा हाम्रो चेतनामा भर पर्छ । अरूको जीवन हाम्रो लागि सबैभन्दा ठुलो पाठशाला हो । इतिहास र समाजमा घटेका घटना हेरेर सिक्नु नै बुद्धिमानी हो । ‘अर्काको आङको भैंसी देख्ने, आफ्नो आङको जुम्रा नदेख्ने’ प्रवृत्तिबाट माथि उठेर हामीले अरूका गल्ती र सफलता दुवैबाट पाठ सिक्नुपर्छ । जसले समयको कदर गरेर कठोर मिहिनेत गरे, उनीहरू आज शिखरमा छन् । जसले ‘भोलि भोलि भन्दैमा भत्किन्छ घरबार’ भनेझैं अल्छी गरेर समय खेर फाले, उनीहरू आज पश्चात्तापको भुमरीमा छन् । अरूको जीवनको भोगाइ, उनीहरूको असफलताको कारण र सफलताको सूत्रलाई नियालेर आफ्नो जीवनको मार्गचित्र कोर्नु नै समयअनुसार चल्ने पहिलो खुड्किलो हो ।
वर्तमान युग सूचना र प्रविधिको तीव्र विकासको युग हो । आजको समय हिजोको जस्तो धिमा गतिमा छैन । हिजो जुन ज्ञान र सीप २० वर्षसम्म सान्दर्भिक हुन्थ्यो, आज त्यो २ वर्षमै पुरानो भइसक्छ । यस्तो अवस्थामा ‘म पुरानै ढर्रामा चल्छु’ भनेर ढिपी कस्नु भनेको आफ्नै खुट्टामा बन्चरो हान्नुसरह हो । समय परिवर्तनशील छ, त्यसैले हाम्रो सोच, कार्यशैली र जीवनपद्धति पनि परिमार्जित हुन जरुरी छ । आजको समयले डिजिटल साक्षरता, नवीनतम सोच र निरन्तर सिकाइको माग गर्दछ । समयको यो हाँकलाई स्विकार्दै जसले आफूलाई निरन्तर ‘अपग्रेड’ वा परिष्कृत गरिरहन्छ, उसैको जीवन सुखमय र सम्मानित हुन्छ ।
आफ्नो जीवनलाई कसरी राम्रो बनाउने त ? यसको सिधा उत्तर छ– समय व्यवस्थापन र आत्मसमीक्षा । ‘अबेर आए, दुरुस्त आए’ भन्नु ठीकै होला, तर समय घर्किसकेपछि चेत खुल्नुको कुनै अर्थ रहँदैन । हामीले आफ्नो दैनिक जीवनमा समयको सही बाँडफाँड गर्न सिक्नुपर्छ । चौबिस घण्टाको समय सबैका लागि बराबर छ, चाहे त्यो विश्वको सबैभन्दा धनी व्यक्ति होस् या सामान्य मजदुर । फरक यति मात्र हो कि कसले कुन समयलाई कसरी उपयोग गर्यो । आफ्नो जीवनलाई सुन्दर बनाउनका लागि सर्वप्रथम भूतकालको पछुतो र भविष्यको काल्पनिक चिन्ताबाट मुक्त भई वर्तमान क्षणमा बाँच्न सिक्नुपर्छ । वर्तमान नै त्यो एक मात्र समय हो, जहाँ हामी कर्म गर्न सक्छौं र आफ्नो भाग्यको रेखा आफैं कोर्न सक्छौं ।
जीवनलाई रचनात्मक बनाउन अरूको अन्धो अनुकरणबाट बच्नुपर्छ । समयअनुसार चल्नुको अर्थ आफ्नो मौलिकता, संस्कार र नैतिकतालाई तिलाञ्जली दिनु कदापि होइन । आजको उपभोक्तावादी र आधुनिक समाजमा भ्रामक चमकधमक धेरै छ । अरूको देखासिकी गरेर आफ्नो गच्छेभन्दा बाहिर गएर जीवन चलाउन खोज्दा मानिस ऋण र मानसिक तनावको दलदलमा फस्छ । घाँटी हेरी हाड निल्नु’ भन्ने उखानलाई आत्मसात् गर्दै आफ्नो क्षमता, रुचि र सीमालाई बुझेर समयको प्रवाहसँगै अघि बढ्नु बुद्धिमानी हुन्छ । अरूको प्रगतिबाट डाह गर्ने होइन, प्रेरणा लिने हो । अरूको सफलताको कदर गर्दै आफ्नो क्षमता विकासमा केन्द्रित हुनु नै उन्नत जीवनको रहस्य हो ।
मानवीय जीवनमा आउने उतारचढाव समयकै खेल हुन् । सुख र दुःख एउटै सिक्काका दुई पाटा हुन् । समय सधैं एकनास रहँदैन, ‘रातपछि दिन आउँछ’ र ‘कालो बादलमा पनि चाँदीको घेरा हुन्छ’ भन्ने शाश्वत सत्यलाई भुल्नुहुँदैन । जब जीवनमा कठिन समय आउँछ, तब धैर्य र साहसको खाँचो पर्छ । संकटको समयमा हतोत्साही हुने र अनुकूल समयमा मात्तिने बानीले जीवनलाई असन्तुलित बनाउँछ । समय बलवान् छ, यसले राजालाई रंक र रंकलाई राजा बनाइदिन सक्छ । त्यसैले, समयको अनुकूलतामा विनम्र रहनु र प्रतिकूलतामा दृढ रहनु नै जीवन जिउने सच्चा कला हो ।
समय भनेको बगेको पानी हो, जसलाई बाँधेर राख्न सकिन्न, तर यसको उचित उपयोग गरेर तिर्खा मेट्न र ऊर्जा निकाल्न भने अवश्य सकिन्छ । समयको माग र आफ्नो आन्तरिक चेतनाबीचको सुन्दर सन्तुलन नै आदर्श जीवन हो । अरूका गल्तीहरूबाट पाठ सिक्दै, आफ्ना कमजोरीहरूलाई सुधार्दै र समयको हरेक पललाई उत्पादनमूलक र रचनात्मक कार्यमा लगाउनु नै आजको आवश्यकता हो । समयको कदर नगर्नेलाई समयले पनि कदर गर्दैन । तसर्थ, समयको वेगलाई बुझौं, यसको सम्मान गरौं र समयकै लयमा आफ्नो जीवनको सुन्दर संगीत भरौं । यसैमा हाम्रो, समाजको र सिंगो मानव जातिको कल्याण लुकेको छ ।